शक्तिकेन्द्रको दबाबमा ८५ सहसचिवको सरुवा
वि.सं.२०७८ भदौ ३० बुधवार
shares
काठमाडौं । सरकारले एकैपटक ८५ जना सहसचिवको सरुवा गरेको छ । विभिन्न शक्तिकेन्द्रको दबाबमा सरकारले एकैपटक ठूलो संख्यामा सहसचिव सरुवा गरेपछि स्थायी सरकारका रूपमा रहेको प्रशासनमा हलचल पैदा भएको छ ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय स्रोतका अनुसार सहसचिवको सरुवा सूची कैयौंपटक संशोधन भई मंगलबार मात्रै अन्तिम रूप दिइएको थियो । सामान्यले झन्डै डेढ साताअघि मात्रै सहसचिव सरुवाको सूची प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा पठाएको थियो । तर, सो सूचीमा व्यापक संशोधन भएको जनाइएको छ ।
स्रोतका अनुसार यसपटकको सरुवामा सहसचिवहरू आफंै विभिन्न शक्तिकेन्द्रमा दौडिएर आकर्षक स्थानमा जान सफल भएका छन् । सरकारले विभिन्न निकायबाट गृह मन्त्रालयमा १४ जना सहसचिव पठाएको छ भने गृहबाट आधा दर्जन सहसचिवलाई अन्यत्र सरुवा गरिएको छ ।
यसैगरी, भौतिक मन्त्रालयअन्तर्गत केही सहसचिवलाई सरुवा गरिएको छ । सम्पति शुद्धीकरण अनुसन्धान विभागका महानिर्देशकलाई पनि हटाइएको छ ।
सामान्यतया सहसचिवको सरुवाको प्रस्ताव मुख्य सचिवको समन्वयमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सरकारसमक्ष गर्नुपर्ने कानुनी प्रावधान छ । तर, सत्तारूढ दलनिकटका विभिन्न राजनीतिक दल सम्बद्ध शक्तिकेन्द्रले नै सहसचिव सरुवाको सूची बनाएर अन्तिम रूप दिन थालेपछि प्रशासनमा विकृति बढ्ने चिन्ता प्रशासकले गरेका छन् ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका एक अधिकारीका अनुसार प्रशासनमा हुने यस किसिमको राजनीतिक हस्तक्षेपले सेवा प्रवाहमा गम्भीर असर पर्न सक्छ । ‘भनसुनको आधारमा सहसचिवलगायतका कर्मचारीको सरुवा गर्दा सिस्टम डिफन्ट हुन सक्छ यसले प्रशासनमा गम्भीर विकृति निम्तन सक्छ । ‘प्रधानमन्त्री कार्यालयका ती अधिकारीले राजधानीसँग भने ।
सरकारले यस अघि ठूलो संख्यामा सचिवको सरुवा गरिसकेको छ । सरकार परिवर्तनसँगै कुनै मापदण्डबिना नै ठूलो संख्यामा सचिव सहसचिवको सरुवा गर्ने परम्परा रहँदै आएको छ । यस्तो परम्पराले प्रशासन क्षेत्रमा राजनीतिक हस्तक्षेप बढ्दै जाने र त्यसले प्रशासन क्षेत्र थप कमजोर हुँदै गइरहेको विश्लेषण पूर्व प्रशासकहरूको छ । राजधानी दैनिकमा समाचार छ।
































