ओलीकाे हातमा नेतृत्व छ, फेरि एकचोटी माओवादीलाई सखाप गर्ने रणनीतिमा लागेका छन् : अध्यक्ष प्रचण्ड
वि.सं.२०७८ असोज १६ शनिवार
shares
काठमाडौं । सत्तासाझेदार नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले नेकपा एमालेसँग प्रतिवाद गरेर अघि बढ्नु पर्ने बताएका छन्।
पार्टीको सम्पर्क समन्वय विशेष प्रदेश समितिले शनिबार ललितपुरमा आयोजना गरेको प्रशिक्षण कार्यक्रममा बोल्दै उनले पार्टीका नेता, कार्यकर्तालाई एमालेसँग प्रतिवाद गरेर लाग्न निर्देशन दिएका हुन्।
अध्यक्ष दाहालले एमाले नेता, कार्यकर्तालाई जाली, फटाहाको संज्ञा दिँदै उनीहरुको प्रतिवाद नगरी आगामी निर्वाचनमा आफूहरुकाे जित सुनिश्चित नहुने समेत उनले बताए।
अवको डेढ वर्ष एमाले गणतन्त्र विरोधी, संघीयता विरोधी रहेको भन्दै जनतामा जान पनि पार्टीका नेता, कार्यकर्तालाई सचेत गराए। अध्यक्ष दाहालले आफ्ना पार्टीका लडाकु कार्यकर्तामाथि एमालेले आक्रमण गर्ने प्रयास गरिरहेको उल्लेख गर्दै त्यसो गरियो भने आफ्नो पार्टीले एमालेविरुद्ध देशभर प्रतिवाद गर्ने चेतावनी समेत दिए ।
उनले भने, ‘केपीको हातमा नेतृत्व छ र उनले फेरी एकचोटी माओवादीलाई सखाप गर्ने रणनीति लिएका छन। उनले डेढ वर्ष भित्र हामी सरकारमा जान्छौ भनेका छन । देशैभर एमालेसँग प्रतिवाद नगरी चुनाव जितिदैन । यी जाल फटाहाहरुले अहिले हामीलाई हेप्न खोजेका छन नि ।
अध्यक्ष दाहालले देशको रक्षा गर्न, संविधानको रक्षा गर्न र गणतन्त्र बचाउनका लागि पनि एमालेविरुद्ध सशक्त ढंगले अघि बढनुपर्ने तर्क समेत गरे । उनले केपी ओली एक्लै केही नभएको पनि बताए । अध्यक्ष दाहालले केपी ओलीले छलकपटको बाटो लिएपछि उनीविरुद्ध पार्टी हेर्डक्वाटरमै बमबारी गर्नु परेको दोहोर्याए । उनले कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन आफूले धेरै दुःख गरेको बताए । उनले प्रतिनिधिसभा विघटनविरुद्धको आन्दोलनमा विजयी भएसँगै आफू खुसी भएको प्रतिक्रिया समेत दिए ।
अध्यक्ष दाहालले भने, ‘आज म खुसी छु । अव म देशलाई माया गर्ने, जनतालाई माया गर्ने असल मान्छे, उत्पीडित क्षेत्र, जनतालाई माया गर्ने मान्छे । राष्ट्रको हित गर्ने सबै मान्छेहरुसँग सहकार्य भएको छ ।
अध्यक्ष दाहालले एमालेसँग पार्टी एकता गर्नु सही भएको पटक पटक दोहोर्याए । तर केपी ओलीको जालझेल सहन नसकेपछि आफूहरुले पार्टी भित्रैबाट विद्रोह गर्नु परेको उनको भनाई थियो ।
































