एमाले विधान महाधिवेशन : थरीथरीका सुझाव
वि.सं.२०७८ असोज १७ आइतवार
shares
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले)को विधान महाधिवेशनमा नेताहरूले पार्टीलाई लेबी नतिर्ने तथा आर्थिक दायित्व बाँकी बक्यौता राखेका नेतालाई जनप्रतिनिधि, राजकीय जिम्मेवारी र पार्टीका विभिन्न जिम्मेवारीका अवसरबाट वञ्चित गर्नुपर्ने सुझाव दिएका छन् ।
ललितपुरको गोदावरीमा शनिबार दोस्रो दिन जारी विधान महाधिवेशनमा सहभागी प्रतिनिधिहरूले यस्तो सुझाव दिएका हुन् । विभिन्न दस्ताबेजमाथि छलफल गर्न १० वटा समूह गठन गरी समूहगत छलफल भएको छ ।
एमाले अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन, महासचिव ईश्वर पोखरेलको सांगठनिक प्रतिवेदन र उपमहासचिव विष्णु पौडेलको विधान संशोधन प्रस्तावमा समूहगत छलफल गर्दै नेताहरूले यस्तो सुझाव दिएका छन् ।
केन्द्रीय निकाय तथा विभागका तर्फबाट सुझाव राख्दै पोलिटब्युरो सदस्य भानुभक्त ढकालले भने, ‘पार्टीमा लेबी नतिर्ने तथा आर्थिक दायित्व बाँकी बक्यौता रहेका व्यक्तिहरूलाई जनप्रतिनिधि, राजकीय जिम्मेवारी र पार्टीका विभिन्न जिम्मेवारीका अवसरबाट वञ्चित गर्नुपर्छ ।’
–यस्ता छन् सुझाव
-लेबी नतिर्ने र आर्थिक दायित्व बाँकी बक्यौता राख्नेलाई अवसरबाट वञ्चित गर्नुपर्ने
-वरिष्ठ उपाध्यक्ष, उपाध्यक्षसहितको पदाधिकारी संख्या बढाउनुपर्ने
पदाधिकारी समावेशी चरित्रको बनाउनुपर्ने
-हरेक कमिटीमा ३३ प्रतिशतभन्दा बढी महिलालाई सहभागी गराउनुपर्ने
-पार्टीमा व्यक्ति होइन, पार्टी र नीति स्थापित गर्नुपर्ने
-७० वर्ष उमेर हद कार्यान्वयन गर्नुपर्ने
-पोलिटब्युरो कमिटी राख्नुपर्ने
-जनसंख्याको आधारमा पार्टीका सबै तहका कमिटीहरूमा दलितको प्रतिनिधित्व हुनुपर्ने
-सरकार र पार्टीको सम्बन्ध प्रस्ट पार्नुपर्ने
यस्तै, नीति र विधि छान्ने छुट्टै अधिवेशन गरेर नेपालको राजनीतिमा पार्टीले नौलो अभ्यास गरेको उनले बताए । विधानमा वरिष्ठ उपाध्यक्ष, एक उपमहासचिव र सात सचिवसहितको पदाधिकारी राखिनुपर्ने सुझाव दिँदै उनले आफ्नो समूहमा ७० वर्ष उमेर हद कार्यान्वयन गर्नुपर्ने तर यसलाई केही प्रतिनिधिबाट खारेजी पनि गर्न सकिने सुझाव आएको बताए । याे समाचार राजधानी दैनिकमा छ।
































