च्याम्पियन्स लिग : युनाइटेड, चेल्सी , बार्सिलोना र बार्यन म्युनिख विजयी
वि.सं.२०७८ कात्तिक ४ बिहीवार
shares
लन्डन । स्टार स्ट्राइकर क्रिस्टियानो रोनाल्डोको गोलमा म्यानचेस्टर युनाइटेडले यूईएफए च्याम्पियन्स लिग फुटबलमा पुनरामगन जित निकालेको छ। ओल्ड ट्राफोर्डमा बुधबार राति भएको खेलमा म्यानचेस्टर युनाइटेडले समूह ‘एफ’को खेलमा पहिलो हाफमा २–० ले पछि परेको अवस्थालाई उल्ट्याउँदै इटालियन क्लब एटलान्टालाई ३–२ गोलले पराजित गरेको हो।
यस समूहमा म्यानचेस्टर युनाइटेड शीर्ष स्थानमा उक्लिएको छ। म्यानचेस्टर युनाइटेडले तीन खेलमा ६ अंक जोडेको छ। एटलान्टा चार अंकसहित दोस्रो स्थानमा छ। चार अंक नै जोडेको भिल्लारियल तेस्रो र तीन अंक जोडेको योङ ब्वाइज पुछारमा छ।
च्याम्पियन्स लिग फुटबलअन्तर्गत नै समूह ‘एच’को खेलमा अर्को इङ्लिस क्लब चेल्सीले सानदार जित निकाल्यो। चेल्सीले स्विडिस क्लब माल्मोलाई ४–० गोलले पराजित गर्यो।
यही समूहको अर्को खेलमा युभेन्ट्सले रसियन क्लब सेन्ट पिटर्सवर्गलाई १–० गोलले पराजित गर्दै शीर्ष स्थान कब्जा गर्न सफल भयो। चेल्सी तीन खेलबाट ६ अंक जोड्दै दोस्रो स्थानमा उक्लिएको छ। तीन अंक जोडेको सेन्ट पिटर्सवर्ग तेस्रो र अंक बिहीन माल्मो तालिकाको पुछारमा छ।
बायर्न म्युनिखको सानदार जित
च्याम्पियन्स लिग फुटबलअन्तर्गत नै बुधबार राति बायर्न म्युनिखले बेन्फिाकामाथि सानदार जित निकालेको छ। समूह ‘ई’को खेलमा जर्मन क्लब बायर्न म्युनिखले पोर्चुगिज क्लब बेन्फिकालाई ४–० गोलले पराजित गरेको हो।
बायर्नले समूहमा दोस्रो स्थानको बेन्फिकासँग पाँच अंकको अग्रता लिएको छ। बायर्नको नौ अंक छ भने दोस्रो स्थानको बेन्फिाकाको चार अंक छ।
बार्सिलोनाको पहिलो जित
यही समूहको अर्को खेलमा स्पेनिस महारथि बार्सिलोनाले पनि पहिलो जित निकालेको छ। बुधबार राति भएको खेलमा युक्रेनी क्लब डायनामो किभलाई १–० गोलले पराजित गर्दै बार्सिलोनाले पहिलो जित निकालेको हो।
घरेलु मैदानमा बार्सिलोनालाई जित दिलाउन जेरार्ड पिकले निर्णायक गोल गरेका थिए। बार्सिलोनाले यस अघिका दुवै खेलमा पराजय बेहोरेको थियो। बार्सिलोना समूहको तेस्रो स्थानमा छ। डाइनामो किभले तीन खेलमा एक अंक जोडेको छ। किभ समूहको पुछारमा छ।
































