ढाकाटोपी पारखीको चहलपहल बढ्यो

Ghorahi cement

नेपालीहरूको दोस्रो ठूलो चाड तिहार नजिकिँदा ढाकाटोपी किन्नेको चहलपहल बढ्दै गएको छ । तिहारमा ढाकाटोपी लगाइदिँदा माइतीको मानप्रतिष्ठा बढ्छ भन्ने मान्यताले हरेक चेलीले आफ्ना दाजुभाइलाई उपहारका रूपमा स्नेहपूर्वक ढाकाटोपी दिने प्रचलन छ । यसले गर्दा ढाकाटोपी खरिद गर्नेहरू बढेको व्यापारीहरू बताउँछन्।

विगत २५ वर्षदेखि ढाकाटोपीको व्यापार गर्दै आएका लक्ष्मी श्रेष्ठले तिहारमा दाजुभाइको शिरमा ढाकाटोपी आवश्यक पर्ने भएकाले सबैको रोजाइमा परेको जानकारी दिए। गलामा सयपत्री र मखमलीको माला, निधारमा सप्तरङ्गी टीका र शिरमा ढाकाटोपीले हरेक दाजुभाइ भाइटीकाका दिन सजिने गर्छन् । तिहारमा ढाका टोपी लगाउँदा माइतीको मानप्रतिष्ठा बढ्छ भन्ने विश्वासले हरेक चेलीले आफ्ना दाजुभाइलाई ढाकाटोपी उपहार दिने प्रचलन छ ।

उनका अनुसार भाइटीकाका दिन माइतीको टाउको खाली राख्नु हुँदैन भन्ने मान्यता छ । ढाकाटोपी नेपाली समाजको पहिचान हो । यसलाई हाम्रो आस्थाको प्रतीकसमेत मानिन्छ ।

अर्का व्यापारी सुरेश नगरकोटीले तिहारलाई लक्षित गरेर ढाकाटोपी बिक्री गरिरहेका छन् । तिहारमा धेरै माग हुने भएकाले यस पर्वलाई लक्षित गरेर उनी सामान मगाउँछन् । नगरकोटीले ढाकाटोपी १५० देखि पाँच हजार रुपियाँसम्मको रहेको जानकारी दिँदै पाँच सयदेखि दुई हजार रुपियाँका टोपी बढी बिक्री हुने बताउनुभयो । विवाहका लागि अर्डरबमोजिम बनाइने टोपीको मूल्य धेरै हुने उनले बताए ।

भाषाविद् गणेशराम लाछीले भने, “ढाकाटोपी नेपालीको आफ्नै चिनारी र गौरव हो । ढाकाटोपी केवल शिर ढाक्ने वस्त्रका रूपमा मात्र नभएर नेपालीको पहिचान हो । आस्थाको प्रतीक पनि हो ।” उनका अनुसार भाइटीकामा दिदीबहिनीले दाजुभाइको शिरमा ढाकाटोपी लगाइदिने चलन अझै विद्यमान छ । यसको खास अर्थ छ । टोपीजस्तै दाजुभाइको शिर उच्च रहोस् भन्ने प्रतीकात्मक सन्देशसहित ढाकाटोपी उपहार दिइन्छ ।

यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।

Nepali patro