स्थानीयको सहभागिता विना विकास निर्माण असम्भव – अर्थमन्त्री शर्मा

Ghorahi cement

रुकुम, ११ मंसिर

अर्थमन्त्री जनार्दन शर्माले आयोजनास्थलका जनताको सहयोग र सहभागिता विना विकास निर्माण हुन नसक्ने बताउनुभएको छ ।

शनिवार रुकुम पश्चिमको चौरजहारी, सानीभेरी, बाँफिकोट र आठविसकोटमा आयोजित विभिन्न कार्यक्रमहरुलाई सम्बोधन गर्दै उहाँले विकास आयोजनास्थलका स्थानीय जनताको सहयोगको आवश्यकता औंल्याउनुभएको हो । ‘आयोजनास्थलका जनताको सहयोग, सहभागिता र योगदान विना सरकारले मात्र विकास गर्न सक्दैन ।’ मन्त्री शर्माले भन्नुभयो ‘विकासको लागि स्थानीयहरु सक्रिय हुनुपर्छ । सरकारले त्यसमा सहयोग गर्ने मात्र हो ।’

कुनै पनि विकास आयोजनाका लागि सरकारले जग्गा अधिग्रहण गर्न लाग्दा स्थानीयले अचाक्ली भाउ बढाउने गरेको प्रति असन्तुष्टि प्रकट गर्दै मन्त्री शर्माले उद्योग बाणिज्य संघ चौरजहारीका प्रतिनिधिहरुसँग भन्नुभयो ‘कुनै आयोजना निर्माण गर्न थाल्यो कि जग्गाको भाउ चर्काइन्छ, सरकारले किन्न नसक्ने गरी मूल्य तोकिन्छ । अनि कसरी गर्ने विकास ?’ चौरजहारीमा विमानस्थलको स्तरोन्ती र भेरी नदीमा जलविद्युत बनाउने योजना सुनाउनुहुँदै उहाँले जग्गाको भाउ नमिलाएसम्म ती काम गर्न संभव नहुने बताउनुभयो ।

मन्त्री शर्माले शनिवार उहाँकै पहलमा चौरजहारी अस्पतालमा स्थापना भएको अक्सिजन प्लान्टको उद्घाटन गर्नुभयो भने सानीभेरी गाँउपालिकामा सुविधा सम्पन्न अस्पताल भवनको शिलान्यास गर्नुभयो । यस्तै शनिवा नै उहाँले आठविसकोटमा स्थापना गरिएको १४ शैयाको नगर अस्पताल भवन उद्घाटन गर्नुभयो ।

नेकपा माओवादी केन्द्रको बाँफिकोट र आठविसकोट दोस्रो नगर सम्मेलनको अवसरमा आयोजित जनसभाहरुलाई सम्बोधन गर्दै पार्टीका स्थायी समिति सदस्य एवं संगठन विभाग प्रमुख समेत रहनुभएका मन्त्री शर्माले रुकुम जिल्लालाई समाजवादको आधार बनाउने प्रतिवद्धता दोहोर्‍याउनुभयो ।

अबको पाँचदेखि सात वर्षभिक्र रुकुमलाई गरिबीमुत्त जिल्लाको रुपमा विकास गरेर समाजवादको आधार तयार पार्ने योजना रहेको उहाँले जानकारी दिनुभयो । ‘अबको पाँच–सात वर्षभित्र रुकुममा कोही पनि गरिब र बेरोजगार भेटिने छैन । यसबाट जिल्लामा समाजवादको आधार तयार हुनेछ ।’ उहाँले भन्नुभयो ‘विकास निर्माणको काम पनि अब गुणस्तरीय विकासको अवधारणामा अघि बढाइनेछ ।’

शिक्षामा प्रतिष्पर्धी र स्वरोजगार जनशक्तिको उत्पादन, स्वास्थ्यमा उपचारको लागि सकेसम्म जिल्ला बाहिर जानु नपर्ने अवस्थाको सृजना, सबै नागरिकलाई रोजगारयुक्त बनाउने, आर्थिक उत्पादनमा आत्मनिर्भरता लगायतका कार्यहरु गुणस्तरीय विकासका सूचक भएको मन्त्री शर्माले उल्लेख गर्नुभयो ।

गुणस्तरीय शिक्षाको लागि सरकारले हरेक विद्यालयहरुलाई उद्यमशील बनाउने नीतिस्वरुप पढ्दै कमाउदै कार्यक्रम ल्याएको बताउनुभयो । ‘विद्यालयहरुले विद्यार्थीहरुलाई किताव घोकाउने मात्र होइन, पढेको कुरा व्यवहारमा लागू गर्ने खालको जनशक्ति उत्पादन गर्नुपर्छ । कम्तिमा १२ कक्षा उत्तीर्ण विद्यार्थीले स्वरोजगार हुने सिप सिकेर निस्केको हुनुपर्छ ।’

पढ्दै कमाउदै कार्यक्रम चालु शैक्षिक सत्रबाटै लागू हुने उहाँले जानकारी दिनुभयो । यस्तै आगामी शैशिक सत्रदेखि देशका विभिन्न स्थानमा डिजिटल लर्निङ्ग सेन्टरहरु स्थापना गरी आधुनिक प्रविधिको माध्यमबाट अडियो भिडियोसहित अध्ययन अध्यापन गराउने तयारी रहेको जानकारी दिनुभयो ।

सरकारले पहिलो पटक गरिब र विपन्नलाई सम्झेर देशका पाँच लाख परिवारलाई १० हजारका दरले आर्थिक राहत वितरण गर्न लागेको, दीर्घ रोगीहरुलाई मासिक पाँच हजारका दरले उपचार खर्च दिने निर्णय भएको, घाइते अपाङ्गता भएकाहरुलाई उपचार खर्च दिन लागिएको, शहीद परिवारहरुलाई मासिक तीन हजारका दरले जिवनवृत्ति प्रदान गर्ने निर्णय भएको, दलित आवास, महिला पहिला जस्ता जनपक्षीय कार्यक्रमहरु ल्याएकोले त्यसबाट लाभ लिन उहाँले लक्षित समुदायलाई आग्रह गर्नुभयो ।

Nepali patro