कारबाही पुनर्विचार गर्न क्यानसँग खेलाडीहरुकाे आग्रह
वि.सं.२०७८ पुस ३ शनिवार
shares
काठमाडौं । पूर्वकप्तान ज्ञानेन्द्र मल्लसहित चार खेलाडीले आफूहरूमाथिको कारबाही पुनर्विचार गर्न क्रिकेट एसोसिएसन अफ नेपाल (क्यान)सँग आग्रह गरेका छन् । क्यानको पछिल्लो निर्णयबाट आफूहरू दुःखी बनेको भन्दै उनीहरू चारै जनाले शुक्रबार पत्रकार सम्मेलनमार्फत निर्णय सच्याउन आग्रह गरेका हुन् ।
ज्ञानेन्द्र मल्ल, दीपेन्द्रसिंह ऐरी, सोमपाल कामी र कमलसिंह ऐरीले पत्रकार सम्मेलनमार्फत आफूहरूजस्ता क्रिकेटमा भविष्य खोजिरहेका खेलाडीले ब्याट र बल छाड्नुपर्ने अवस्था बन्नसक्ने चिन्तासमेत व्यक्त गरेका छन् । क्यानले अभिभावकीय भूमिका खेल्नुपर्ने उनीहरूको भनाइ छ ।
क्यानले राष्ट्रिय टोलीका कप्तान ज्ञानेन्द्र मल्ल र उपकप्तान दीपेन्द्रसिंह ऐरीको जिम्मेवारी खोस्दै कप्तानमा सन्दीप लामिछानेलाई नियुक्त गरेको थियो । क्यानको यो कारबाही र निर्णयको चर्काे विवाद भइरहेको छ । क्यानको बुधबार बसेको बोर्ड बैठकले राष्ट्रिय टोलीका चार खेलाडीलाई कारबाही गर्ने निर्णय गरेको थियो । क्यानका कार्यवाहक सचिव प्रशान्तविक्रम मल्ल संयोजकत्वको अनुशासन उल्लंघनसम्बन्धी गठित छानबिन समितिको सिफारिसअनुसार बैठकले सो निर्णय गरेको थियो ।
क्यान र कप्तान÷उपकप्तानसहित राष्ट्रिय क्रिकेट खेलाडीबीचको विवाद उत्कर्षमा पुगेपछि बसको क्यानको बैठकले ज्ञानेन्द्र र दीपेन्द्रको पदीय जिम्मेबारी खोस्ने र उनीहरूसहित टोलीका सिनियर सदस्य सोमपाल कामी र कमलसिंह ऐरीलाई सन् २०२२ को सुरुवाती ६ महिनाका लागि सेन्ट्रल कन्ट्र्याक्ट (केन्द्रीय अनुबन्धन)मा सहभागी नगराउने निर्णय गरेको थियो ।
क्यानको सेन्ट्रल कन्ट्र्याक्टप्रति आपत्ति जनाउँदै खेलाडीहरू सार्वजनिक रूपमा बोर्डविरुद्ध उत्रिएपछि उनीहरूमाथि कारबाहीको डन्डा चलाएको हो । यो विषयमा समितिले दुईपल्टसम्म खेलाडीसँग स्पष्टीकरण सोधेकोमा उल्टै क्यानमाथि प्रश्न उठाएर यति दिनभित्र प्रस्टीकरण चाहिने भन्दै समयसीमा तोकेको भन्दै क्यान असन्तुष्ट बनेको थियो ।
दुवैपल्ट चित्तबुझ्दो जवाफ नआएपछि कारबाही गरिएको क्यानले जनाएको छ । उनीहरूले सेन्ट्रल कन्ट्र्याक्टमा पर्याप्त खेलाडी समावेश नभएको, वर्गीकरणमा परेका खेलाडीमाथि अन्याय भएको, राष्ट्रिय टोलीका सिनियर सदस्य सोमपाल कामीलाई ‘ए’ ग्रेडमा नराखिएको, रोहित पौडेललाई ‘बी’ ग्रेडमा नराखिएको र कन्ट्र्याक्टमा २० खेलाडीको सट्टा १८ खेलाडी मात्र राखिएको भन्दै सार्वजनिक रूपमा असन्तुष्टि जनाएका थिए ।
































