नेपाल टेलिकमका नवनियुक्त प्रबन्ध निर्देशक पौडेल नियुक्त
वि.सं.२०७८ चैत २७ आइतवार
shares
काठमाडौँ । नेपाल टेलिकमका नवनियुक्त प्रबन्ध निर्देशक सुनिल पौडेलले कम्पनीको केन्द्रीय कार्यालयमा पदभार ग्रहण गरेका छन् । बिहीबार मात्र मन्त्रिपरिषद्को बैठकबाट चार वर्षका लागि टेलिकम प्रमुखमा नियुक्त भएका पौडेलले त्यसको भोलिपल्ट नै औपचारिक रुपमा टेलिकम प्रमुखको जिम्मेवारी सम्हालेका हुन् ।
पदभार ग्रहण गर्दै नवनियुक्त प्रबन्ध निर्देशक पौडेलले व्यावसायिक कार्ययोजनाको मूल्याङ्कन गरी नेपाल टेलिकमको प्रबन्ध निर्देशकको गहन जिम्मेवारी दिएको भन्दै सञ्चार तथा सूचना प्रविधि मन्त्रालयप्रति आभार व्यक्त गरेका छन् । सो अवसरमा उनले कार्यालय प्रयोजनका सबै काम कारबाहीलाई सूचना प्रविधिसँग जोडेर स्वचालित रुपमा तत्कालै कार्यान्वयनमा लैजाने गरी संरचनामा ढालिने बताएका छन् ।
‘कम्पनीका सबै सेवाहरूलाई आम जनताको सहज र सुलभ पहुँचमा पुर्याउनका लागि हामी सबै प्रतिबद्ध हुनुपर्छ,’ उनले भनेका छन्, ‘कम्पनीको सेवा प्रवाह, गुणस्तर र राजस्व वृद्धिमा देखिएका चुनौतीलाई सामना गर्दैै अगाडि बढ्न र कम्पनीलाई अझ मुलुककै विश्वसनीय धरोहरका रुपमा स्थापित गर्न प्रयासरत रहने प्रतिबद्धता व्यक्त गर्दछु ।’
पदभार ग्रहण गर्दै उनले सूचना प्रविधिमार्फत राष्ट्रलाई समृद्ध बनाउने र मुलुकभरका आम जनतालाई अत्याधुनिक दूरसञ्चार सेवाको सहज पहुँचमा पुर्याउने नेपाल सरकारको अन्तर्निहित उद्देश्यसँगै राष्ट्र र जनताप्रतिको अहम् दायित्वबोधका साथ कम्पनीलाई ‘नम्बर वान’ संस्थाका रुपमा कायम राख्न लागि पर्ने प्रतिबद्धता पनि व्यक्त गरे ।
पदबहाली कार्यक्रममा नेपाल टेलिकमका नायब प्रबन्ध निर्देशक, निर्देशक, प्रबन्धक, अन्य वरिष्ठ अधिकृत, कम्पनीमा क्रियाशील कर्मचारी युनियनका पदाधिकारी एवम् कम्पनीका कर्मचारीहरूको उपस्थिति रहेको थियो।
प्रबन्ध निर्देशक पौडेल यसअघि राष्ट्रिय सूचना प्रविधि केन्द्रमा कार्यकारी निर्देशक पदमा कार्यरत रहेका थिए । केन्द्रमा उनले सन् २००४ देखि उनले कम्प्युटर इन्जिनियर, सहायक निर्देशक तथा उपनिर्देशकको जिम्मेवारी समेत बहन गरिसकेका छन् । पौडेलले सन् २००८ मा दक्षिण कोरियाको कोरिया एड्भान्स इन्स्टिच्युट अफ साइन्स एण्ड टेक्नोलोजी (काइस्ट) बाट सूचना प्रविधिमा स्नातकोत्तरको उपाधि हासिल गरेका थिए ।






























