राजधानीमा झन्डै एक लाख घरेलु उद्योग

काठमाडौं । मुलुकको अर्थतन्त्रको मेरुदण्ड मानिएको लघु, घरेलु तथा साना उद्योगमध्ये ठूलो संख्यामा राजधानी काठमाडौंमै सञ्चालन भइरहेको पाइएको छ । मुलुकभर दर्ता तथा सञ्चालनमा रहेका लघु, घरेलु तथा साना उद्योगमध्ये करिब २० प्रतिशत राजधानीका तीन जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरमा रहेको तथ्यांकले देखाएको छ । उद्योग विभागले सार्वजनिक गरेको ‘लघु, घरेलु तथा साना उद्योग तथ्यांक’ अनुसार साना उद्योग सहरी क्षेत्र केन्द्रित भएका हुन् ।

 

विभागका अनुसार हालसम्म दर्ता भई नवीकरणसमेत भइरहेका ४ लाख ७८ हजार १ सय ८७ लघु, घरेलु तथा साना उद्योगमध्ये काठमाडौं जिल्लामा मात्र ६० हजार ५ सयको संख्यामा रहेका छन् । यस्तै ललितपुरमा १७ हजार ६ सय ५२ र भक्तपुरमा ८ हजार ३ सय ४० को संख्यामा लघु, घरेलु तथा साना उद्योग सञ्चालनमा रहेका छन् । यी तीन जिल्लामा रहेको उद्योगको संख्या कुल उद्योगमध्ये १८.०८ प्रतिशत हो । काठमाडौं जिल्लामा मुलुककै सबैभन्दा बढी लघु, घरेलु तथा साना उद्योग सञ्चालनमा रहेका छन् । कुल उद्योगमा काठमाडौंको हिस्सा १२।६५ प्रतिशत रहेको छ ।

 

बजारको सहज पहुँच तथा जनशक्ति व्यवस्थापनमा सहजताका कारण सहरी क्षेत्रमा घरेलु उद्योगको आकर्षण बढिरहेको नेपाल घरेलु तथा साना उद्योग महासंघका उपाध्यक्ष मोहन कटुवालको भनाइ छ । उनका अनुसार बैंक तथा वित्तीय संस्थाको लगानी जुटाउन पनि सहरी क्षेत्रमै सहज भएकाले उपत्यकाका तीन जिल्लामा घरेलु उद्योगको दर्ता बढी भएको हो । यद्यपि, ग्रामीण क्षेत्रमा रहेका लघु, घरेलु तथा साना उद्योगमध्ये ठूलो संख्यामा अझै पनि दर्ता प्रक्रियामा आइनसकेका कारण ती क्षेत्रका उद्योगको संख्या कमी देखिएको विभागका अधिकारीहरु बताउँछन् । कारोबार दैनिक

Shangri-la Development Bank Ltd.
Nepali patro