नवजीवन सहकारी, धनगढी साझा सेवा सहकारी पुरस्कारबाट सम्मानित
वि.सं.२०७९ पुस २४ आइतवार
shares
काठमाडौं।२०७९ सालको कमलमणि स्मृति साझा सेवा सहकारी पुरस्कार धनगढी स्थित नवजीवन सहकारी संस्था लि. लाई प्रदान गरिएको छ । नवजीवन सहकारी संस्थाले सहकारीको माध्यमबाट राष्ट्रिय अर्थतन्त्रमा योगदान पुर्याएकोले उक्त संस्थालाई साझा साझा सेवा पुरस्कार प्रदान गरिएको हो । उक्त पुरस्कारको राशी ५० हजार रुपैयाँ र सम्मानपत्र रहेको छ ।
साझा सेवा सहकारीको ३८ औं साधारण सभाको अवसरमा उक्त पुरस्कार भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयका सचिव डा. दामोदर रेग्मीबाट नवजीवन सहकारीका अध्यक्ष देब बहादुर बमलाई नगदसहित सम्मानपत्रबाट सम्मानित गरिएको थियो । सचिव डा. दामोदर रेग्मीले देशको विकासमा सहकारी संस्थाहरुको भूमिका महत्वपूर्ण रहने हुदा सवै सहकारी संस्थाहरु सहकारिताको मूल्य मान्यता प्रति प्रतिबध्द रहनु पर्ने बताए । उनले साझा सेवाले पुरस्कारको माध्यमबाट सहकारीको प्रवद्र्धनको कार्य गरेकोमा धन्यवाद दिएका थिए । पुरस्कारले सहकारीहरुको उत्थान र विकासमा थप सहयोग तथा टेवा पुग्ने समेत बताए ।
कार्यक्रममा सहकारी विभागका रजिष्ट्रार रुद्रप्रसाद पण्डितले पुरस्कारका लागि उत्कृष्ट संस्था छनोट गरेको बताए । पुरस्कृत संस्था नवजीवनका अध्यक्ष देबबहादुर बमले यस पुरस्कारबाट सहकारी प्रतिको कर्तव्य र दायित्वलाई अघि बढाउन अझ बढी प्रेरणा प्राप्त भएको बताए । पुरस्कारले थप दायित्व समेत बढेको बताए । त्यसैगरी साहित्यकार तथा समाजसेवी यादव खरेलले कमलमणि दीक्षितले देशलाई पुरयाएको योगदान बारे चर्चा गरेका थिए ।
अध्यक्ष शंकर पाण्डेले साझा सेवाले आफ्नो ब्यवसायिक सेवा सर्वसाधारणमा पुर्याउँदैं सहकारीको माध्यमबाट बिशिष्ट सेवा पुर्याउने सुदूरपश्चिमको सहकारी संस्थालाई नगद पुरस्कार सहित सम्मान गर्न पाएकोमा खुशी ब्यक्त गरेका थिए ।वि.सं.२०२६ सालदेखि संस्थाका संस्थापक सञ्चालक तथा अध्यक्ष रही संस्थाको नेतृत्वदायी भूमिका, दिगो विकास र स्थायित्व प्रदान गर्न स्व. कमलमणि दीक्षितको अथक योगदान स्वरुप उक्त पुरस्कारको स्थापना गरिएको हो ।
































