बर्दिधारीहरुको बबालमा पिल्सिए सिपाही बिचरा

प्रहरीका हाकिमहरुबीच तालमेल नमिल्दा तल्लो दर्जाका कर्मचारी नराम्ररी पिल्सिए

प्रहरीका हाकिमहरुबीच तालमेल नमिल्दा तल्लो दर्जाका कर्मचारी नराम्ररी पिल्सिएका छन् । स्वयम्भूस्थित सशस्त्र प्रहरी बलको प्रधान कार्यालयभन्दा ठ्याक्कै पछाडि रहेको बंगलामुखी विशेष कार्यदलका एसपी हर्कराज पन्तको निर्देशन डिएसपी दर्शन गिरीले सुनेको नसुनेझैंं गर्छन् । दुवै हाकिम कर्णालीकै भएपनि एकअर्कालाई फुटेको आँखाले हेर्न रुचाउँदैनन् ।

दुईबीचको दुश्मनीका कारण अन्यले पाउनुसम्म दुःख पाएका छन् । दरबन्दी कम भएपनि काज र तालिमसमेत गरी झण्डै ११ सय जना भेला हुने गण पूरै समस्याले घेरिएको छ । त्यहाँ गुणस्तरहीन खाना दिने गरिएको स्रोत बताउँछ । तालिममा पनि मर्नेगरी खटाइन्छ । ‘उहाँहरुको मनमुटाव सकिएला भन्दा झनै बढ्दै गएको छ । खाना र खाजासमेत बेलामा खान पाइँदैन । बिहानैदेखि तालिममा खटाइएको हुन्छ’, स्रोतले भन्यो, ‘एसपीले भनेको डिएसपीले नटेर्ने अनि हामीले मर्नुपर्ने । अब त समस्या समाधान होला भनेर अपेक्षा ग¥यो, झनै बढ्ने । हामी त वाक्क भइसक्यौं ।’

पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाका प्रिय पात्र गृहमन्त्री बालकृष्ण खाँणलाई भनेर यसअघि काठमाडौंका सिडियो गोविन्द रिजालमार्फत् गणमा आएका दैलेखी एसपी पन्तको दबदबा पनि कम्ताको छैन । उता माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रधानमन्त्री बनेपछि उनको अंगरक्षक बसिसकेका गिरी झन् उग्र भएको सिपाहीहरुको ठम्याइ छ ।

एक र दुई नम्बरमा रहेका पन्त र गिरी दुवै आपराधिक गतिविधिमा मुछिएका पात्र हुन् । निर्वाचन आयोग, बहादुर भवनस्थित बाघभैरव गुल्मबाट बढुवा हुनासाथ कार्यदलको बोस बनेका पन्त यसअघि मोबाइल तस्करी काण्डमा मुछिएका थिए ।

सिन्धुपाल्चोकको तातोपानी भन्सार कार्यालय सुरक्षार्थ खटिएका तत्कालीन इञ्चार्ज पन्त तस्करीका सामानसहित अरनिको राजमार्गबाट पक्राउ परेका थिए । काज फिर्ता भएर चितवन जाने क्रममा भन्सार नतिरेको ७६१ थान मोबाइल काठमाडौं ल्याउँदै गर्दा हरिहरभवन, पुल्चोकबाट खटिएको राजश्वको विशेष टोलीले उनलाई पक्राउ गरेको थियो ।

कैद सजायँसमेत काटिसकेका उनीवारे सर्वोच्च अदालतको आदेशमासमेत भनिएको छ, ‘आफ्नो पदाधिकार रहेको सशस्त्र प्रहरी बल, गढीमाई गण, भण्डारा चितवन फिर्ता जाने क्रममा तातोपानीबाट काठमाडौं आउँदा ना.२.च.२६६० नम्बरको गाडी भाडामा लिई आएको र साथमा निजले ७६१ थान मोबाइल फोन सेट एवम् चार्जरसमेत ल्याएको अवस्थामा राजश्व अनुसन्धान विभागबाट बरामद भई निजउपर अनुसन्धान भएको तथ्यमा कुनै विवाद छैन ।’

त्यस्तै, सिङ्गो व्यारेक रंगरोगन गर्न भनी आएको बजेट पनि उनले झ्वाम्म पारिदिएका छन् । पाँच लाख ८५ हजार रुपैयाँ आएकोमा पन्तले मुख्य भवनको बाहिर मात्र दलदाल पारेर बाँकी रकम कुम्ल्याएको सिपाहीहरुले बताए ।

वार्षिक ३० दिन घर बिदा र १२ दिन क्याजुअल (क्याबि) बिदामा पाइने राशन भत्ता पनि नदिएको आरोप उनीमाथि लागेको छ । ४२ दिन बिदा पाउने प्रावधान रहेपनि पन्तले सुविधा नदिएर प्रधान कार्यालयको परिपत्रको समेत बर्खिलाप गरेको स्रोतको भनाइ छ ।

उनले नियमानुसारको सुविधा नदिँदा कर्मचारीहरु मारमा परेका छन् । यता, डिएसपी गिरीमाथि भने द्वन्द्वकालमा मान्छे बेपत्ता पारेको आरोप लागेको थियो । रिजर्भ गण, आइजी निवास शरद भवन, भिआईपीहरु, पूर्व राजा ज्ञानेन्द्र शाहको निर्मल निवास, कीर्तिपुर स्कूललाई सुरक्षा दिने प्रहरीहरुलाई यहीँबाट खटाउने गरिएको छ ।

एसपी पन्तले तालिमे कर्मचारी र स्टाफलाई शुक्रवार र विदाको अघिल्लो दिन राशन बचाउन सकेसम्म छिटो विदा छाड्ने र साँझ ढिलो आउन लगाउने तर गिरीले भने ढिलो विदा छोडिदिने र फर्कंदा बिहानै हाजिर हुन निर्देशन दिने गर्दा दुई–दुई छाक नास्ता र खानाको पैसा जोगिएन भन्ने गुनासो रहने गरेको अवस्था छ । उता टाढा घर भएका कर्मचारीहरु विदामा जान ईच्छुक नदेखिँदा राशन वचत नहुने अर्को पीर छ । जनआस्था

Shangri-la Development Bank Ltd.
Nepali patro