घरजग्गा कारोबारमा व्यापक मन्दी: बैंकहरु धमाधम लिलामीको सुचना निकाल्दै, अब के होला
वि.सं.२०७९ फागुन ८ सोमवार
shares
काठमाडौं।घरजग्गा लिलामीका सूचना दैनिक बढिरहँदा किन्ने ग्राहक भेटिएका छैनन् भने घरजग्गा कारोबारमा असाधारण मन्दी आएको छ।
हरेक दिन दैनिक पत्रपत्रिकामा ब्यांक तथा वित्तीय संस्थाको घरजग्गा लिलामीको सूचना बढिरहेका छन्। घरजग्गा धितोमा राखेर ऋण लगेका ग्राहक नियमित साँवा ब्याजको किस्ता तिर्न नआएपछि ब्यांकहरूले लिलामीको सूचना निकालिरहेका हुन्। यद्यपि, सूचना निकालिएका घरजग्गाको लिलामी सकार्ने ग्राहक पनि भेटिएका छैनन्। कतिपय ब्यांकले एकै घरजग्गाको लिलामीका लागि पटकपटक सूचना प्रकाशन गरेका छन्।
अहिले घरजग्गाको कारोबारमा देशैभरि असाधारण मन्दी आएको छ। शहरी क्षेत्रमा आवश्यकताबाहेक व्यापारिक दृष्टिले घरजग्गाको किनबेच असाध्यै सुस्त छ। घरजग्गा बिक्रीको सूचना दिने अनलाइनमा बिक्रीका लागि राखिएका घरजग्गाको संख्या बढिरहेको छ। तर, किन्ने ग्राहक छैनन्। माग नहुँदा स्वाभाविक रुपमा बिक्रेतालाई मूल्य घटाएर घरजग्गा बिक्री गर्नुपर्ने दबाव बढेको छ।
खासगरी, ऋण लिएर घरजग्गा कारोबारमा संलग्नहरू बढी दबावमा परेका छन्। एकातिर, ब्यांकले थप ऋण दिने सम्भावना छैन भने अर्कातिर ब्याज चर्को छ। यसले घरजग्गा व्यवसायलाई गहिरो धक्का लागेको छ।
एक वर्षअघिसँग तुलना गरेर हेर्दा देशैभरि घरजग्गाको किनबेच शिथिल भएको भूमि व्यवस्थापन तथा अभिलेख विभागको तथ्यांकले देखाएको छ। गत मंसीरमा देशभरि २९ हजार १८४ वटा मात्रै घरजग्गाको किनबेच भयो। यो गत वर्षको यही अवधिका तुलनामा आधाभन्दा पनि कम हो। गत वर्षको मंसीरमा देशभरि ६९ हजार ४१२ वटा घरजग्गा किनबेच भएका थिए।
हरेक महीना ७० हजार हाराहारीमा घरजग्गा किनबेच हुने गरेकामा यो वर्षका पछिल्ला महीनाहरूमा आधा पनि कारोबार भएको छैन। कात्तिकमा घरजग्गाको किनबेच (लिखत पारित) २७ हजार ९३९ वटामा सीमित भएको थियो। यो संख्या असोजमा ३३ हजार ४३८ र भदौमा ३४ हजार ७२० वटा थियो।
चालू आर्थिक वर्षको पाँच महीना (साउन-मंसीर) मा देशभरमा एक लाख ५१ हजार ६६ वटा घरजग्गा किनबेचका लिखत पास भएका छन्। गत वर्षको यही अवधिमा देशभर तीन लाख २४ हजार १३९ वटा घरजग्गाका लिखत पास भएका थिए। यसले गत वर्षको तुलनामा यो वर्ष घरजग्गाको किनबेच ५३ प्रतिशत घटेको देखाउँछ।
नेपाल राष्ट्र ब्यांकले घरजग्गामा लगानी गर्न ब्यांक तथा वित्तीय संस्थालाई निरुत्साहनको नीति अघि सार्दा यो क्षेत्र मन्दीमा गएको हो। केन्द्रीय ब्यांकले चालू पूँजी कर्जाको मार्गदर्शन जारी गर्दै कर्जा दुरुपयोग रोक्न ब्यांक तथा वित्तीय संस्थालाई बाध्य पारेको थियो। यसले गर्दा व्यावसायिक प्रयोजन देखाएर ऋण लिने र घरजग्गा किनबेच गर्ने विगतको धन्दामा रोक लागेको थियो। यसले गर्दा घरजग्गा किनबेच गर्ने नयाँ पूँजी बजारमा आउन पाएको छैन।
ऋण लिएर घरजग्गा किन्नेको क्रय क्षमतासमेत खस्किएपछि घरजग्गाको माग घटेको छ। घरजग्गामा लगानी गरेका कयौं सहकारी संस्था धराशयी बनिरहेका छन्।
अर्कातिर, बितेका महीनामा ब्यांक तथा वित्तीय संस्था आफैं लगानीयोग्य रकमको अभावको चापमा परे। यसले गर्दा ब्यांकसँग ऋण लिएर घरजग्गामा लगानी गर्नेहरूले पर्याप्त ऋण पाएनन्। ब्यांक तथा वित्तीय संस्थाको बढ्दो ब्याजदरले पनि घरजग्गाका लगानीकर्ता निरुत्साहित भए। अहिले अधिकांश ब्यांक तथा वित्तीय संस्थाको ऋणको ब्याजदर १३-१४ प्रतिशत हाराहारी छ।
यो वर्षको मौद्रिक नीतिले घरजग्गा धितो राखी प्रयोजन नखुलेको ऋण लिँदा पाउने कर्जाको रकम घटाउने गरी नीति अघि सारेको थियो। काठमाडौं उपत्यकामा एक करोड पर्ने घरजग्गा धितोमा राखेर ३० लाख रुपैयाँ मात्रै ऋण पाइन्छ। त्यसैगरी, सरकारले बजेटमार्फत घरजग्गाको किनबेचमा लाग्दै आएको पुँजीगत लाभकरलाई पनि बढाइदिएको थियो। घरजग्गालाई अनुत्पादक क्षेत्र मानेर सरकारले पछिल्लो समयमा यो क्षेत्रमा जाने लगानी निरुत्साहित गरिरहेको छ।
त्यसैगरी, भूउपयोग नियमावली अनुसार जग्गाको कित्ताकाँट नभएका कारण जग्गाको किनबेच रोकिएको छ। सरकारले देशभरिको जग्गा खण्डीकरण रोक्न भूउपयोग नियमावली जारी गरे पनि उक्त नियमावलीको प्रावधानअनुसार जग्गाको वर्गीकरण हुन सकेको छैन। कृषियोग्य, आवास लगायतका क्षेत्रमा छुट्याएर जग्गाको वर्गीकरण स्थानीय तहले गर्नुपर्ने भए पनि अधिकांश स्थानीय तहले वर्गीकरण गरेका छैनन्।
वर्गीकरण नभएको जग्गा किनबेच हुँदैन। जसले गर्दा सिंगो जग्गा किनबेचको चक्र प्रभावित भएको छ। काठमाडौंमा चन्द्रागिरी नगरपालिकाले मात्रै जग्गा कित्ताकाँट टुंग्याएको छ।
विगत वर्षमा घरजग्गाको मूल्य अत्यधिक बढेका कारण यो क्षेत्र जोखिमयुक्त बन्दै गएको थियो। घरजग्गाको कारोबारमा उच्च गिरावट र मागमा कमीसँगै यसको मूल्य समेत घट्न शुरू गरिसकेको छ। घरजग्गाको कारोबारमा आउने मन्दी र मूल्यको गिरावटले ब्यांक तथा वित्तीय संस्थालाई समेत धराशयी बनाउने जोखिम हुन्छ।
ब्यांक तथा वित्तीय संस्थाको कूल ऋणको दुई तिहाई घरजग्गा धितोमा छ। यो क्षेत्रमा लगानी खन्याएका सहकारी समेत समस्यामा पर्न शुरू गरिसक्नुले त्यसको संकेत गरेको छ। कयौं सहकारीले आफ्ना सदस्यको निक्षेप फिर्ता गर्न सकेका छैनन्।
ऋण काढेर घरजग्गामा लगानी गरेका व्यवसायीहरू घरजग्गा बिक्री नभएपछि यसबाट बाहिर निस्कन पाइरहेका छैनन्। केन्द्रीय ब्यांकको कडाईपछि ब्यांकबाट थप ऋण नपाइने गरेकाले साँवाको किस्ता र ब्याज तिर्न समेत सकिराखेका छैनन्। ब्यांकरहरू समेत खराब कर्जा बढ्ने जोखिमले गर्दा आत्तिएका छन्। यसले गर्दा चालू पूँजी कर्जाको मार्गदर्शन स्थगित गर्न व्यवसायीले राजनीतिक नेतृत्वसमक्ष ‘लबिइङ गर्दै आएका छन्।
– समाचार श्रोत: हिमाल खबर





























