खै कहिले सम्म हो, बन्दी जीवनको यात्रा
वि.सं.२०८० असोज १७ बुधवार
shares
“हामी एक किसिमको बन्दी नै हाैँ । घरबाट विद्यालय र विद्यालयबाट घर । निरन्तर काम, अन्त कहि जान पाईदैन”। विद्यालयबाट समयमा नै घर पुग्नुपर्छ । घरबाट बाहिर निस्कनै पाईदैन । रमाईलो मनोरञ्जन गर्ने त धेरै परको कुरा हो हाम्रो लागि” भन्छन् घरेलु श्रमिक बालबालिका । काठमाण्डौको अधिकांश घरमा काम गर्नका लागि घरेलु बालश्रमिकहरु राखेका छन् । कतिपय बालबालिकालाई घरको काममा लगाउने र पढाउने पनि गरेका छन् भने कतिपयले पढ्ने अवसर पाएका छैनन् । कानुन कार्यान्वयन गर्ने ओहदामा रहेका व्यक्तिहरुकै घरमा छन् बालश्रमिक ।
अध्ययन भन्दा कामलाई पहिलो प्राथमिकता दिनुपर्छ भन्छन् घरमालिक । कामको चाप धेरै हुने भएकोले अध्ययनको लागि समय छुट्याउन निकै गाह्रो हुन्छ । बिहान चाडै उठेर घरको सबै काम सकेर हतार हतारमा विद्यालय आउनु पर्ने हुन्छ । विद्यालयबाट फर्किए पश्चात राती अबेर सम्म काम गर्नुपर्ने हुन्छ । थकान धेरै हुने भएकोले पढाईतिर ध्यान दिन धेरै गाह्रो हुन्छ । मानसिक तनाब त्यतिकै हुन्छ , पढाईलाई निरन्तरता दिन निकै गाह्रो हुने बताउछन् बालबालिका ।
छलफलका क्रममा भेटिएका बालश्रमिक भन्छन् “आफ्नो आमाबुबालाई जसरी आफ्नो कुराहरु भन्न सकिदैन, कति कुराहरु मनमा दबाएर राख्नुपर्ने हुन्छ । पढाईमा भन्दा काम धेरै गर्नुपर्ने, मन दुख्ने बचनहरु सहनुपर्ने, सन्चो नहुदा पनी काम गर्नुपर्ने, शरीरले आराम नपाउने, नसक्ने कामहरु पनी गर्नुपर्ने,रमाईलो समय जिवनमा कहिल्यै नआउने, जसले गर्दा अत्यन्तै पिडा हुने बताउछन” चिरिएका हत्केला र पैताला संगै विछिप्त मन लिएर अरुको घरमा बन्दी झै भएर काम गर्न बाध्य छन् बालबालिका ।

वर्षौ घर जान पाईदैन, चाडपर्वमा झन असाध्यै मन कुडिने बताउछन । आमाबुबा संगै बस्न मन लाग्छ तर त्यो दिन कहिले आउला मन साह्रै आतिने बताउछन बालबालिका ।
आर्थिक अवस्था कमजोर, ऋणको भारले गर्दा धेरै सन्तानलाई हुर्काउन, बढाउन सकस भएको कारण अभिभावकले अरुको घरमा काम गर्नका लागि गाउँबाट शहरमा पठाएको उनीहरु बताउछन् । कतिपय अभिभावकविहिन बालबालिकाहरु आफन्तको आश्रयमा बसिरहेको र उनीहरुले नै अरुको घरमा काम गर्न पठाउने गरेको बताउछन् । कतिपय अभिभावकले सन्तानको भविष्य राम्रो हुदै भन्दै अरुको घरमा काम गर्न शहर पठाएका छन् । तर त्यहा कति यातना सहेर काम गर्नु परेको छ भन्ने कुरा गाउँमा भएका बाबुआमालाई थाहा हुुदैन ।
उक्त घरेलु श्रमको बन्धनबाट बाहिर निस्किएका बालबालिका साथिसंगतिको कारण कुलतमा फसेका छन् । सडक बालबालिकाको रुपमा देखिएका छन् । अपराधिक क्रियाकलापमा समेत संलग्न भएका छन् । उचित संरक्षण,संस्कार र पारिवारीक मायाको अभावको कारण कतिपय बालबालिकाहरुको जिवन कलिलै उमेरमा उजाड भएको छ ।
सन् २००८ को श्रमशक्ति सर्वेक्षणमा १६ लाख बालश्रमिकहरू थिए । करिब ६ लाख बालश्रमिकहरू जोखिमपूर्ण श्रममा रहेको अवस्था थियो भने नेपाल बालश्रम प्रतिवेदन २०२१ अनुसार नेपालमा करिब ११ लाख बालबालिका विभिन्न किसिमको श्रममा संलग्न छन् । यसमध्ये पनि करिब २ लाख बालबालिका जोखिमपूर्ण बालश्रममा संलग्न रहेका छन् । नेपाल सरकारले सन् २०२५ भित्र नेपालबाट बालश्रम उन्मुलन गर्ने लक्ष्य लिएको छ । तर आकडा हेदा नेपालले तोकिएको लक्ष्य भेटाउन निकै मेहनत गर्नुपर्ने अवस्था विद्यमान रहेको छ । पहिलाको तुलनामा बालश्रम न्युनीकरण भएको छ यसलाई सकारात्मक रुपमा लिनुपर्छ तर निवारणको लागि अझ धेरै काम गर्न बाकी छ ।
अभिभावकको काखपोल्टामा बसेर आफ्नो चौतर्फी विकासको लागि जिवनको आधार तय गर्ने उमेरमा मानसिक रुपमा विछिप्त हुदै मानविय उचाई आर्जन गर्ने सुअवसर नै पाउदैनन् । अन्ततः श्रमिक बालबालिकाले गरिबीको दुश्चक्रसहितको जीवन बिताउन बाध्य हुन्छन् । यसबाट उनीहरूको समृद्धि र दिगो सुख प्राप्ति कहिलै हुन सक्दैन ।
नेपालको संविधान २०७२ को धारा ३९ मा बालबालिकाको हकलाई मौलिक हकको रुपमा सुनिश्चित गरिएको छ । बालबालिका सम्वन्धि ऐन २०७५, बालश्रम निषेध र नियमन गर्ने ऐन २०५६, बालबालिका सम्वन्धि नियमावली २०७८, बालश्रम अन्त्यका लागि दोस्रो राष्ट्रिय गुरुयोजना (२०७५ देखि २०८५) लगायत विभिन्न ऐन,नियमावली कार्यान्वयनमा ल्याईएको छ । तर बालश्रम निवारणका लागि आवश्यकता अनुसार काम हुन सकिरहेको छैन । अत्यन्त राम्रो कानुन निर्माण गरिन्छ तर कार्यान्वयन फितलो भएकै कारण नेपालमा विद्यमान समस्याहरुको समाधान सदियौ सम्म हुन सक्दैन ।
बालबालिका राष्ट्रिय गौरव हुन । भोलीका देश निर्माता हुन । देशको अमुल्य सम्पति हुन । त्यसैले जो कोहीले कानुन विपरित १८ वर्षभन्दा मुनिका बालबालिकालाई श्रममा लगाउन आजै बाट बन्द गरौ । ति कलिला मुनाहरुलाई सुसज्जित तरिकाले फक्राउनका लागि सबैले योगदान गराँै । बालश्रम निवारणका लागि आफैबाट आजैबाट कार्य थालनी गरौँ । जय बालबालिका ।
गंगा सुवेदी बालबालिकाको क्षेत्रमा कार्यरत हुनुहुन्छ ।



























