सरकार ! विदेश पठाउने नाममा सर्वसाधारणलाई दुःख दिने र लुटतन्त्र मच्चाउने म्यानपावर र कन्सल्टेन्सीलाई कहिले कारबाही गर्ने ? 

Ghorahi cement

 

पछिल्लो समय नेपाल बेरोजगारप्रधान देश बन्दै गएको छ । बेरोजगारीको संख्या ह्वात्तै बढेको छ । देशमा रोजगारी नहुँदा विदेश पलायन हुनेको संख्या निरन्तर उकालो लागिरहेको छ । बेरोजगारहरु बाध्य भएर खाडी जान लागेका छन् । यहाँ काम नपाएपछि र काम भएकाले पनि तलब नपाएपछि उनीहरुले म्यानपावरको खोजी गर्न थालेका छन् ।

यता, माध्यमिक शिक्षा पूरा गरेकाहरुलाई विदेश जाने रहर लागेको छ । उनीहरु लाखौं रुपैयाँ खर्चिएर अमेरिका, अष्ट्रेलिया, युरोप, क्यानडा पुगिरहेका छन् । जापान र दक्षिण कोरिया पनि नेपालीको प्रमुख गन्तव्य बनेको छ । आर्थिक अवस्था कमजोर भएकालाई विदेश जानु रहर नभई बाध्यता हो ।

तर, म्यानपावरहरुले दुःख दिने क्रम जारी छ । राम्रो देश पठाउनका लागि खुलेका कन्सल्टेन्सीबाट पनि धेरै पीडित भएका छन् । म्यानपावर र कन्सल्टेन्सीले पैसा लिएर विदेश नपठाएको गुनासो पछिल्लो समय व्यापक सुनिन थालेको छ । पहिले नै पैसा लिने अनि चलाउने, पठाउँछु भनेर वर्षौंसम्म पनि विदेश नपठाउने ।

विदेश जानका लागि कतिपयले मँहगो व्याजमा कर्जा लिएका हुन्छन् । उनीहरुले उता व्याज तिर्नुपरेको छ, तर म्यानपावर र कन्सल्टेन्सीले विदेश पठाउँदैन् । वर्षौं निःब्याजी रुपमा पैसा चलाएपछि म्यानपावर र कन्सल्टेन्सी सञ्चालकले विदेश पठाउन सकिनँ भनेर पैसा फिर्ता दिएको उदाहरण पनि छन् ।

एउटा राम्रो देश जानका लागि आठ लाखदेखि ३० लाखसम्म खर्चिनुपर्छ । आधा पैसा सुरुमै कन्सल्टेन्सीलाई बुझाउनुपर्ने हुन्छ । सरकारले खाडी जानेलाई ‘फ्री टिकट र फ्री भिसा’ को व्यवस्था गरेको छ । तर, यो कार्यान्वयनमा आउन सकेको छैन् । खाडी जानका लागि कामदारले लाखौं रुपैयाँ खर्चिएका छन् ।

देश हेरेर तीन लाखदेखि पाँच लाख रुपैयाँसम्म लिइन्छ । पासपोर्ट लिने बेलामा चाँहि १५ दिनदेखि एक महिनाभित्र उडाउँछु भन्छन् तर वर्षदिनसम्म पनि उड्न पाइँदैन् । म्यानपावरहरुले झुल्याएर राखिदिन्छन् । विदेशिएर आफ्नो परिवार पाल्छु, केही गर्छु भन्नेहरुको सपनामा कालो बादल मडारिएको छ ।

उता व्याज तिर्दातिर्दै हत्तु भइ सकिन्छ यता विदेश जाने कहिले हो टुंगो हुँदैन् । देशमा आर्थिक मन्दी देखिएको छ । व्यापार व्यवसाय ठप्प भइसकेका छन् । निजी संघसंस्थामा काम गर्नेहरुको रोजगारी गुमेको छ । अहिले दिनहुँ झण्डै दुई हजार नेपालीले नेपाल छोडिरहेका छन् ।

यहाँ काम नपाएपछि विदेश जानैपर्ने अवस्था सिर्जना भएको छ । नेपालमै केही गर्छु भन्नेहरुले पनि विदेश जाने सुर कसेका छन् । जसको फाइदा म्यानपावर र कन्सल्टेन्सीलाई भएको छ । विदेश पठाउने नाममा दुःख दिने काम भइरहेको छ । यद्यपि, सरोकारवाला निकाय टुलुटुलु रमिता हेरेर बसेका छन् ।

सरकार रोजगारी पनि दिन नसक्ने अनि विदेश जानेलाई सहजीकरण पनि गर्न नसक्ने । म्यानपावर र कन्सल्टेन्सीमा व्यापक बेतिथि देखिएको छ, श्रममन्त्री शरतसिंह भण्डारी र सचिव केशव भण्डारी के हेरेर बसेका छन् ? वैदेशिक रोजगार विभागका महानिर्देशक डण्डुराज घिमिरे किन म्यानपावर र कन्सल्टेन्सीको अनुगमन गर्दैनन् ?

विदेश पठाउने दलालहरुको केही समययता समाजमा बिगबिगी छ । तर, सरकार के हेरेर बसेको छ ? कम नपाएर तनावमा परेकाहरुलाई थप पीडित बनाइँदै छ । यसले सरोकारवाला निकायका पदाधिकारीहरुको म्यानपावर र कन्सल्टेन्सीहरुसँग आर्थिक हिमचिम रहेको संकेत गरेको छ ।

देशमा सरकारले रोजगारीको व्यवस्था गर्न सकेको भए, आम सर्वसाधारण किन विदेश जान्थें ? सरकारले रोजगारी दिन नसकेपछि विदेश जानेको लहर लागेको हो । विदेश जानका लागि अधिकांंशले ऋण लिएका छन् । तर, श्रममन्त्री भण्डारी यो देख्दैनन् । उनीहरु सहज वातावरण सिर्जना गर्नुको साटो म्यानपावर र कन्सल्टेन्सीको पक्षमा निर्णय गर्छन् ।

मन्त्री भण्डारीले विदेश जानेले तिर्नुपर्ने शुल्कहरु दोब्बर बनाउने प्रस्ताव अघि सारेका छन् जुन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले रोकेर राखेका छन् । श्रमिकलाई मर्का पार्न र दुःख दिन मन्त्री नै लागेका छन् । म्यानपावरको पक्षमा निर्णय गर्नुपछाडि उनको पनि स्वार्थ जोडिएको होला ।

म्यानपावरहरु यतिसम्म ‘फटाहा’ भए कि बयान गरिसाध्य छैन् । एउटा काम भनेर यहाँबाट पठाउने तर उता अर्कै काम लगाउने । तलब पनि यति भनेर तोकेर पठाएको हुन्छ तर निकै न्यून तलब पाउँछन् । धेरै नेपालीको विदेशमा बिल्लीबाठ भएको छ । एउटै कोठामा थुनेर राखिएको छ ।

खान पाएका छैनन् । नेपाल फर्काइदिन उनीहरुले हारगुहार गरिरहेका छन् । म्यानपावरहरु पैसा कमाउनतर्फ मात्र लाग्दा नेपालीहरु विदेशमा ‘मर्नु न बाँच्नु’ को अवस्थामा पुगेका छन् । विदेश पठाउनुअगाडि म्यानपावरहरुले त्यहाँको भाषा, काम, कानुनबारे कामदारलाई अभिमुखीकरण गराउनुपर्छ ।

यद्यपि, म्यानपावरहरुले यत्तिकै पठाइदिन्छन् । त्यहाँको भाषा नबुझ्दा नेपालीहरु फसेको धेरै घटना छ । बिना गल्ती नेपाली जेलजीवन काट्न बाध्य छन् । यता, तिनको परिवारको बिजोग हुन्छ । १८ वर्ष कटेपछि विदेश जान पाइन्छ । पुरुष मात्रै होइन्, विदेश जाने महिलाको संख्या पनि ह्वात्तै बढेको छ ।

विदेश गएका अधिकांश महिला यौन शोषणमा परिरहेका छन् । यहाँबाट कम्पनीको काम भनेर पठाइएका उनीहरु घरेलु कामदारका रुपमा काम गर्न बाध्य हुन्छन् । त्यही घरको साहुले उनीहरुलाई यौन शोषण गर्छन् । पछिल्लो समय गर्भ बोकेर आउने महिलाको संख्या बढेको छ ।

विदेश महिलाको लागि असुरक्षित बन्दै गएको छ । म्यानपावरहरुको कारण नेपाली दिदीबहिनी त्यस्तो दलदलमा फसेका छन् । महिलाको जिन्दगी तहसनहस बनेको छ । नेपाल सरकारले आमाको नामबाट पनि नागरिकता बनाउन मिल्ने व्यवस्था गरेको छ । बाबु नभएपनि आमाले आफ्नो सन्तानलाई नागरिकता दिलाउन सक्छन् ।

तर, समाजले त्यस्ता आमालाई स्वीकार्दैनन् । बुढापाकाले भन्छन्,‘बलेको आगो सबैले ताप्छन्, निभेको कसले ताप्छ ?’ विदेश गएर कमाएर ल्यायो भने परिवारले माया गर्छन् । अघि र पछि लाग्छन् । कुनै महिलाले गर्भ बोकेर आयो भने परिवारले पनि हेर्दैन्, समाजले पनि बाँच्न दिँदैन् ।

जोकोही पनि परिवारको सहमतिमा विदेश गएको हुन्छ । परिवारले कमाएर ल्याउँछ भनेर त विदेश पठाएको हो । सरकारले पनि विदेश जान श्रमस्वीकृति दिएको हो । उसले कमाउन सकेन्, गर्भ बोकेर आयो भनेर अपहेलना गर्न मिल्दैन् । त्यसको जिम्मा त राज्यले पनि लिनुपर्यो ।

केही महिनाअघिको घटना हो, विदेशबाट आएकी एउटा युवतीले विमानमै बच्चा जन्माएर ‘कमोड’ मा फ्याकिदिइन् । बच्चाको ज्यान गयो । तर, त्यो बच्चाको त कुनै दोष थिएन् । नेपाली भएर म्यानपावर ‘दलाल’ हरुले नेपालीकै बिचल्ली बनाइरहेका छन् । पैसा कमाउनका लागि मान्छे यतिसम्म गिर्नु हुँदैन् ।

विदेश पठाउने नाममा खुलेआम ठगीधन्दा भइरहेको तर सरकारले देख्दैन् । पढे–नपढेका सबैले ‘नेपालमा केही छैन्, यहाँ बसेर केही हुँदैन्’ भन्न थालेका छन् । म्यानपावर र कन्सल्टेन्सीले गाउँदेखि शहरसम्म यो छाप छोडेको छ । पहिलेपहिले यसरी विदेश जाने चलन थिएन् ।

तैपनि चलिरहेको थियो । तर, अहिले त जोकोही विदेश जाने । नेपालमा पढेर के गर्ने ? यहाँ लगानीको वातावरण छैन् भन्दै भ्रम फैलाइयो । अहिले हरेक घरका सदस्य विदेश पुगेका छन् । नागरिकता बनाउनेबित्तिकै राहदानी बनाउने अनि म्यानपावर र कन्सल्टेन्सी दौडिने । देशमै केही गर्नुपर्छ भन्ने सोच कसैमा पनि छैन् ।

पढ्न जाने नाममा नेपाली विद्यार्थीहरुले अर्बौं रुपैयाँ विदेश लगेका छन् । तर, देशले उनीहरुबाट केही पाएको छैन्, उल्टै गुमाएको छ । राम्रो देश पुगेकाहरु फर्किएर आउँदैनन् । यहाँ भएको सम्पत्ति पनि बेचेर लैजान्छन् । देशलाई आवश्यक पर्ने युवा जनशक्ति सबै विदेशमा अनि देश कसरी बन्छ ?

नेपालमै कुनै व्यवसाय गर्छु भन्यो भने वित्तिय संस्थाले ऋण दिँदैन् । विदेश जान्छु भन्नेबित्तिकै व्यक्तिले पनि ऋण दिन्छ, वित्तिय संस्थाले पनि । यसले त गलत छाप परेको छ । अबको केही वर्षमै नेपाल खाली हुन्छ । गाउँ रित्तिसकेको छ अब शहरको पालो । राज्यले नेपालीलाई नेपालमै रोक्ने नीति ल्याउनुपर्यो । राज्य रेमिट्यान्सको लोभमा फसेको छ म्यानपावर र कन्सल्टेन्सीलाई पैसा कमाउनुपरेको छ ।

 

Shangri-la Development Bank Ltd.
Nepali patro