शोभाको भित्री वस्त्रसमेत चोरी,हालिन् प्रहरीमा उजुरी
वि.सं.२०८१ जेठ १९ शनिवार
shares
काठमाडौं नेकपा एमालेका नेता तथा पूर्वमन्त्री महेश बस्नेतसँग नाम जोडिएकी शोभा पाठकले आफ्नो अपार्टमेण्टमा चोरी भएको जनाउँदै प्रहरी गुहारेकी छिन् । निर्भयबाबु प्रसाईं, किरण लामिछानेलगायतले आफ्नो अपार्टमेण्टमा घुसेर चोरी गरेको भन्दै उनले प्रहरी वृत्त, नयाँ बानेश्वरमा जाहेरी दिएकी हुन् ।
उनले आज ‘चोरीडकैती’ को जाहेरी दिएको वृत्तका एक प्रहरी अधिकृतले बताए । ‘यो घटना डेढ महिना अगाडिको रहेछ । उहाँ त्यहाँ बस्दै आउनुभएको भएपनि एग्रिमेण्टचाँहि अर्को व्यक्तिले गर्नुभएको रहेछ । ती व्यक्तिले उहाँको सामान निकालेर अर्कोलाई भाडामा दिइसकेको पाइयो । उहाँले आफ्नो अपार्टमेण्टमा चोरी भएको भन्दै हिजो हामीलाई जानकारी गराउनुभयो । आज निवेदन लिएर आउनुभएको छ’, उनले भने ।
यता, पाठकले सामाजिक सञ्जालमार्फत् चोरहरुले आफ्नो ‘ब्रा पेन्टी’ समेत नछाडेको बताएकी छन् । फेसबुकमा उनले लेखेकी छन्, ‘मेरो मोबाइल, डकुमेण्ट त चोरे चोरे केही छ भनेर चोरेका होलान् तर आज अपार्टमेण्टको ढोकै फोरेर ब्रा पेन्टी धरी नराखी चोरेको कसलाई दिन होला । अब ज्यानै खान्छन् मेरो । अनि नेपाल सरकार यस्तालाई नपक्रिने कति निरीह सरकार छ । गुण्डागर्दी कहिलेसम्म ।’
आज जाहेरी दर्ता गर्न जाँदा प्रहरी कार्यालयमै आफूमाथि आक्रमण गर्न खोजिएको पाठकले बताएकी छन् । ‘म त्यो अपार्टमेण्टमा नगएको धेरै भइसक्यो । हिजो पो मेरो सबै सामान चोरी भएको थाहा भयो । यतिसम्म कि ब्रा पेन्टी र चप्पल पनि छैन । म जाहेरी दिन आज प्रहरी कार्यालय आएकी छु । केही व्यक्तिहरु आएर यहिँ ममाथि आक्रमण गर्न खोज्नुभएको हो । अहिले मलाई एउटा छुट्टै कोठामा राखिएको छ । यहाँ अलिक तनावपूर्ण अवस्था छ’, उनले भनिन् ।
बिजुलीबजारस्थित सनसाइन् अपार्टमेण्टमा बस्दै आएकी पाठकमाथि यसअघि पनि आक्रमणको प्रयास भएको थियो । लामो समय ‘लिभिङ टुगेदर’ मा रहेका भनिएका बस्नेत र पाठकबीच पछिल्लो समय सम्बन्ध बिग्रिएको छ । बस्नेतले ‘गुण्डा’ लगाएर आफूमाथि आक्रमण गराएको आरोप लगाएकी पाठकले उनीविरुद्ध यसअघि ‘भ्रुण हत्या, बलात्कार र डाँका चोरी’ प्रकरणमा प्रहरीमा जाहेरी दिएकी थिइन् । जनआस्था
































