पाहुना आएका युवककाे हत्या
वि.सं.२०८१ असार ६ बिहीवार
shares
विराटनगर । विराटनगरमा सुनसरीको दुहवी नगरपालिका–१२ का २३ वर्षीय अक्लेशकुमार यादवको हत्या आराेपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । बुधबार अक्लेशलाई चक्कु प्रहार गरी फरार भएका विराटनगर–४ का २४ वर्षीय गणेश यादवलाई पक्राउ गरेकाे हो ।मोरङ प्रहरी प्रमुख एसपी नवराज कार्कीका अनुसार सुनसरीको दुहवी नगरपालिका–१२ का २३ वर्षीय यादव हत्या आराेपीकाे छिमेकमा पाहुना आएका थिए । बेलुका खानपिनका क्रममा विवाद भएपछि गणेशले चक्कु प्रहार गरेका थिए ।
सामान्य विवाद र भनाभनको विषयलाई लिएर गणेशले बुधबार राति १० बजेतिर अक्लेशमाथि चक्कु प्रहार गरेकाे उनले बताए । दुई जनाबीच विवाद भएपछि मोटरसाइकल चढेर आफ्नो घरतर्फ जान खोज्दै गर्दा अक्लेशमाथि चक्कु प्रहार भएको थियो ।चक्कु प्रहारबाट बायाँ कोखामा गहिरो चोट लागेर अवस्था गम्भीर बनेका उनलाई उपचारका लागि नोबेल शिक्षण अस्पताल लगिएको थियो । उपचारकै क्रममा बिहीबार मृत्यु भएको थियाे ।घटनापछि फरार भएका गणेशलाई भारततिर भाग्न खोज्दै गर्दा प्रहरीले लौकहीबाट बिहीबार दिउँसो पक्राउ गरेकाे एसपी कार्कीले बताए ।
































