पेस्तोलसहित एक जना पक्राउ
वि.सं.२०८१ असार १२ बुधवार
shares
पेस्तोलसहित एक भारतीय पक्राउ
रौतहट — नेपाल-भारत सीमा क्षेत्रमा सशस्त्र प्रहरी सीमा सुरक्षा गण रौतहटबाट खटिएको टोलीले आइतबार राति एकथान नलकटुवा पेस्तोलसहित भारतीय नागरिकलाई पक्राउ गरेको छ ।पक्राउ परेकालाई सोमबार सार्वजनिक गरेको छ । उनको पृष्ठभूमिबारे प्रहरीले अनुसन्धान थालेको छ ।भारत बिहार सीतामढी जिल्ला बैरगनिया–३ असोगीका २१ वर्षीय राहुल रामलाई एकथान घरेलु नलकटुवा पेस्तोलसहित पक्राउ गरिएको सशस्त्र प्रहरी रौतहटका प्रमुख एसपी विक्रम हुमागाईंले बताए । एसपी हुमागाईंका अनुसार गौर नगरपालिका-२ महादेवपट्टि छेउस्थित नेपाल-भारत सीमा स्तम्भ नजिक सशस्त्र प्रहरीको छड्के चेक प्वाइन्ट हुँदै आइतबार मध्यरातमा भारतबाट नेपाल आउँदै गरेको अवस्थामा रामलाई हतियारसहित पक्राउ गरेको हो ।छड्के टोलीले रामले चलाएको मोटरसाइकल जाँच गर्दा टुलबक्स भित्र लुकाई राखेको हतियार बरामद गरेको एसपी हुमागाईंले जानकारी दिए । रामसँगै मोटरसाईकलमा सवार अर्का एक भारतीय भने भारत तिरै भागेका थिए ।
सशस्त्र प्रहरीले बरामद पेस्तोल, एकथान मोबाइल र मोटरसाइकलसहित आवश्यक कारबाहीको लागि जिल्ला प्रहरी कार्यालय गौरमा बुझाइएको एसपी हुमागाईंले बताए । ‘हामीले सीमा क्षेत्रमा निगरानी र जाँच अभियान तीव्र बनाएका छौं,’ एसपी हुमागाईंले भने,‘सीमा क्षेत्रबाट हुने जुनसुकै अपराधका घटना रोक्न हरसम्भव प्रयास गरिरहेका छौं।’





























