विश्वव्यापी बढ्दो जलवायु संकट र समाधानका उपायहरु
वि.सं.२०८१ साउन २५ शुक्रवार
shares
वर्तमान विश्वको मुख्य समस्याका रूपमा जलवायु परिवर्तन सामुन्ने आउन थालेको छ। जलवायु परिवर्तनको विषयले विश्वका सबै जीवात्मा तथा यससँग सम्बद्ध सबै आयामलाई प्रतिकूल प्रभाव पारिरहेका हुन्छन्। जलवायु परिवर्तनको कारण मानव जीवनका पर्यावरणलगायत सामाजिक, आर्थिक, शारीरिकलगायत अधिकांश क्षेत्र प्रभावित हुने अर्थमा अहिले जलवायु परिवर्तनका कारण विश्व अर्थतन्त्रमा पर्ने प्रतिकूल प्रभावका सम्बन्धमा विशेष जोड, छलफल तथा चिन्तन गरिन थालेको अवस्था छ । विश्वमा जलवायु परिवर्तन एउटा गम्भिर समस्याको रुपमा आएको छ ।जलवायु परिवर्तनमा देखिएका समस्या समाधानका लागि विभिन्न प्रयासहरु भएता पनि ति प्रयासहरु पर्याप्त छैनन । विश्वव्यापी तापक्रम वृद्धि अर्थात उष्णीकरणले जलवायुको विद्यमान ढाँचामा अस्वाभाविक परिवर्तन ल्याएको छ ।हरितगृह ग्यास वायुमण्डलको तल्लो तहमा थुप्रिँदै गएपछि तापको विकिरण जमिनबाट परावर्तन भएर वायुमण्डलसम्म पुग्न नपाउने अवस्थाले पृथ्वी तथा पृथ्वीको तल्लो वायुको तापक्रम बढ्ने क्रम जारी छ । जलवायु परिवर्तनको बिषयलाई विश्वव्यापी शासकीय प्रणालीको मान्यताबाट अघि बढाउनु पर्ने देखिन्छ ।
सामान्यतया जलवायु परिवर्तन भन्नाले प्रत्यक्ष वा अप्रत्यक्षरुपमा मानवीय क्रियाकलापसँग सम्बन्धित भइ विश्व वायुमण्डलीय संरचनामा परिवर्तन गर्न र तुलनात्मक समयावधिभित्र प्राकृतिकरुपमा परीक्षण भएको जलवायुलाई जनाउँछ। मानव जीवनमा भइ रहेका विभिन्न क्रियाकलापका कारण पृथ्वीमा हरितगृह ग्याँस उत्सर्जन बढ्न गई पृथ्वीको औषत तापक्रम वृद्धि भइ वातावरणीय अवस्थामा परिवर्तन भइरहन्छ। कुनै पनि निश्चित स्थानको लामो समयसम्मको औसत मौसमी अवस्थालाई नै जलवायु भनिन्छ । जब त्यही जलवायुको अवस्थामा दीर्घकालीन परिवर्तन आउँदछ, त्यसलाई नै जलवायु परिवर्तन भनिन्छ । यो वर्षा, तापक्रम, आद्रता, वायुको गति आदिजस्ता जलवायुजन्य उपागमहरुमा आउने दीर्घकालीन तथा प्रतिकुल अवस्थाको परिवर्तन हो । संयुक्त राष्ट्रसंघको परिभाषा अनुसार जलवायु परिवर्तन भनेको पृथ्वीको तापमान र मौसमको प्रकृतिमा आउने दीर्घकालिन फेरबदल हो ।
खनिज इन्धनको बढ्दो प्रयोग र वन विनाश जस्ता मानवजन्य क्रियाकलापमार्फत हरितगृह ग्यास उत्सर्जनका कारण विश्वको औसत तापमान बढ्दो छ ।जलवायु परिवर्तनका प्रभावहरू अत्यन्तै डरलाग्दा हुन्छन् । जलवायु परिवर्तन पृथ्वीको प्राकृतिक प्रक्रियाभित्र पर्ने गतिविधि हो। पृथ्वीमा सौर्य विकिरणमार्फत तापशक्ति प्राप्त हुन्छ र यही सौर्य विकिरणका कारण पृथ्वीको वायुमण्डलको तापक्रम सन्तुलनमा रहन्छ । पृथ्वीले सूर्यबाट जति सौर्य विकिरण प्राप्त गर्दछ त्यति नै विकिरण पुनः अन्तरीक्षमा फिर्ता पठाउँछ, जसले गर्दा पृथ्वीको वायुमण्डलको तापक्रम स्थिर रहन्छ तर कुनै कारणवश विकिरणको लेनदेनमा घटबढ हुनगई असन्तुलन हुन गएमा पृथ्वीको वायुमण्डलको तापक्रम घटबढ हुन जान्छ र जलवायुमा परिवर्तन आउँछ। बारम्बार दोहोरिहने चरम मौसमी गतिविधिहरू, बढ्दो समुद्र सतह, वर्षा हुने समय र मात्रामा फेरबदल भैरहने र ध्रध्रुवीय क्षेत्र तथा हिमाली भेगमा तीव्रगतिमा हिउँ पग्लिने अवस्था आउन सक्छन्। पछिल्लो २०० वर्षमा मिथेन, नाइट्रस अक्साइड, कार्बन डाइअक्साइजस्ता हरित गृह ग्यास र ओजन तह विनास गर्ने क्लोरोफोलोरो कार्बन जस्ता अन्य विषाक्त ग्यासको उत्सर्जन दिन प्रतिदिन वायुमण्डमा बढ्दै गइरहेको छ र परावर्तित विकिरणहरू वायुमण्डलमै रोकिनाले पृथ्वीको तापक्रम बृद्धि हुँदै छ । हरितगृह ग्यासका प्रमुख स्रोतहरूमा वनजंगलको विनाश, कोइला, खनिजजन्य इन्धनको अत्याधिक प्रयोग, औद्योगिकीकरण आदिजस्ता क्रियाकलापहरू पर्दछन्।जलवायु परिवर्तन लामो समयको जलवायु सम्बन्धि तथ्यांकको नियमिततामा देखिने स्थायी प्रकृतिको परिवर्तन हो।
विकासशील मुलुकहरुमा बसोबास गर्ने मानिसहरुले जलवायु परिवर्तनबाट सबैभन्दा धेरै क्षति बेहोर्नुपर्नेछ । किनकि उनीहरुसँग जलवायु परिवर्तनको सामना गर्नका लागि स्रोत र साधनको कमी छ । विकसित मुलुकहरुको तुलनामा हरितगृह ग्यास उत्सर्जनमा निकै कम भूमिका रहेका ती मुलुकहरुले जलवायु परिवर्तनका असरहरु भने धेरै भोग्नु परिरहेको छ ।जलवायु परिवर्तनका कारण पृथ्वीको महासागर तथा जलीय जीवन पनि खतरामा परिरहेको छ । अमेरिकाको राष्ट्रिय सामुद्रिक तथा वायुमण्डलीय विभागले सन् २०२२ को अप्रिलमा प्रकाशित गरेको एक शोध प्रतिवेदन अनुसार १० प्रतिशत देखि १५ प्रतिशत सम्म सामुद्रिक प्रजातिहरू लोप हुने खतरा छ । तीव्र रुपमा तातिरहेको पृथ्वीमा जीवहरुका लागि आवश्यक खाना तथा पानी फेला पार्न पनि मुस्किल हुनेछ ।उदाहरणका लागि तापक्रम वृद्धिका कारण ध्रुवीय हिउँ पग्लिंदा पोलार भालुको प्रजाति नै संकटमा पर्न सक्दछ । साथै एउटा हात्तीलाई दैनिक आवश्यक पर्ने डेढ सयदेखि ३ सय लिटर पानी पाउनै मुस्किल पर्न सक्दछ ।आवश्यक कदम नउठाउने हो भने यो शताब्दीको अन्त्यसम्ममा ५५० प्रजातिहरु लोप हुनसक्ने चेतावनी वैज्ञानिकहरुको छ ।
संयुक्त राष्ट्रसघको जलवायु निकाय आईपीसीसीका अनुसार यदि विश्वको तापक्रम वृद्धिलाई १.५ डिग्री सेल्सियसमा सीमित राख्न नसकिएमा बेलायत तथा युरोप अत्यधिक वर्षाका कारण भयानक बाढीको चपेटामा पर्ने ,मध्यपूर्वका देशहरुले अत्यधिक गर्मीको लहरका कारण व्यापक सुख्खा खडेरीको सामना गर्नुपर्ने, प्रशान्त क्षेत्रका टापु राष्ट्रहरु समुद्रमा डुब्न सक्ने, विभिन्न अफ्रिकी देशहरुले खडेरी तथा खाद्यान्नको अभावको सामना गर्नुपर्ने,पश्चिमी अमेरिकामा खडेरीको सम्भावना हुनुका साथै अत्य क्षेत्रमा धेरै तीव्र आँधीहरू आउने, अष्ट्रेलियामा अत्यधिक गर्मी तथा जंगलमा लाग्ने डढेलोका कारण जनधनको क्षतिको खतरा बढ्ने जस्ता असर देखिनेछन् ।
अहिले विश्वको जलवायुमा जुन तीव्र परिवर्तन देखिइरहेको छ त्यो मानिसले आफ्नो घर, कारखाना तथा परिवहनका लागि प्रयोग गरिएको पेट्रोलियम, ग्यास तथा कोइलाको उपयोगका क्रममा उत्सर्जित हरितगृह ग्यासका कारण भएको हो ।जब यी जिवाश्म इन्धनहरू दहन हुन्छन् तब त्यसबाट हरितगृह ग्यासहरु निस्किन्छन्, जसमा सबैभन्दा ठूलो हिस्सा कार्वनडाइ अक्साइडको रहेको हुन्छ । यी ग्यासहरुका कारण विश्वको तापक्रममा बढोत्तरी हुने मात्र होइन पृथ्वीको सुरक्षा कवचको रुपमा रहेको ओजोन तहमा पनि क्षति पु¥याउँदछन् ।ओजोनको पत्रमा प्वाल पर्दा सूर्यको परावैजनी किरणसहित अत्यधिक तापक्रम पृथ्वीमा आउँदछ, जसले पृथ्वीमा तापक्रम बढाउने काम गर्दछ । मानवीय गतिविधिहरुका कारण विश्वको तापमान बढिरहेको छ र जलवायु परिवर्तनले मानिसको जीवनका हरेक पहलुहरुलाई खतरातर्फ धकेलिरहेको छ ।यदि यो मुद्दालाई यत्तिकै अनियन्त्रित रुपमा छाडिदिने हो भने मानिस तथा प्रकृतिले विनाशकारी तातो वायुको लहर तथा सुख्खा र गर्मीको सामना गर्नुपर्नेछ भने समुद्रको जलस्तर बढ्नुका साथै व्यापक रुपमा जैविक विविधताको विलोपन हुनेछ।
जलवायु वैज्ञानिकहरुका अनुसार यदि विश्वलाई जलवायु परिवर्तनका सबैभन्दा खराब परिणामबाट बचाउने हो भने तापमान वृद्धिमा नियन्त्रण गर्नु आवश्यक हुन्छ ।पेरिस जलवायु सम्झौताले पनि विश्वलाई विनासबाट बँचाउनका लागि सन् २१०० सम्ममा विश्वको तापमान वृद्धि १.५ डिग्री सेल्सियसमा राख्ने लक्ष्य लिएको छ ।तर यदि उक्त लक्ष्य प्राप्तिका लागि विश्वका मुलुकहरुले प्रभावकारी कदम नचाल्ने हो भने तापक्रम वृद्धि छिटै नै २ डिग्री सेल्सियसभन्दा धेरैले बढ्ने पक्का रहेको वैज्ञानिकहरुको भनाइ छ ।स्वतन्त्र क्लाइमेट एक्सन ट्रयाकर रुपको सन् २०२१ को रिपोर्ट अनुसार यो शताब्दीको अन्त्यसम्ममा विश्वको तापक्रम २.४ डिग्री सेल्सियसले बढ्ने खतरा समेत रहेको छ ।यदि हतिरगृह ग्यासको उत्सर्जनमा कमी ल्याउनका लागि प्रभावकारी कदम नचालिएमा विश्व उष्णणीकरण ४ डिग्री सेल्सियस पनि नाघ्नसक्ने खतरा रहेको वैज्ञानिकहरु बताउँछन् । यसले भयानक गर्मीको लहर उठ्नेछ भने लाखौं मानिसहरुले समुद्रको बढ्दो जलसतहमा आफ्ना वासस्थानहरु गुमाउनेछन् । यसले जीव तथा वनस्पतीका लाखौं प्रजातिहरुलाई अपूरणीय क्षति पुग्नेछ ।
नेपालमा करिब २३२३ वटा हिमतालमध्ये धेरै जलवायु परिवर्तनको नकारात्मक प्रभावले गर्दा फुट्न सक्ने अधिकतम जोखिममा छन्। वि.सं २०६६ मा हुम्ला जिल्लाको हल्जी क्षेत्रमा ताक्सो हिमताल फुटेर आउँदा बाढीको प्रकोप भएको थियो। तापक्रम बृद्धिले खुम्बु हिमनदीमा क्रमिक विचलन देखापरेको छ। इसिमोडले गरेको अध्ययनअनुसार उक्त हिमनदीबाट प्रतिवर्ष औसत ६५ फिट खस्किदै गएको छ। हिमाली क्षेत्रमा बसोबास गर्ने जनताको जीवनस्तरमा विभिन्न समस्याहरु हुन् थालेका छन् । तराई र पहाडी जिल्लाहरुमा ठूलो मात्रामा किसानले लगाएको बालीनालीमा क्षति गरेर खाद्य सङ्गट उत्पन्न भइरहेको छ। तराईका जिल्लाहरुमा अत्यधिक मात्रामा मौसममा उथलपुथल भइदिनाले जनजीवन अस्तव्यस्त भइरहेको हामीले भोगिरहेका छौं। तीब्र गतिमा जलवायु परिवर्तन भइरहेको खण्डमा पृथ्वी जीवजन्तुको बासस्थानको लागि योग्य नहुने, प्राकृतिक प्रकोपको खतरा झन् बढ्ने । हिउँ पग्लेर हिमतालहरू फुट्न सक्ने, विभिन्न रोगको संक्रमण अझै बढ्न सक्ने, ऋतुहरूको समय हेरफेर हुनेजस्ता समस्या आउन सक्छन्। पृथ्वीका धेरै ठाउँ मरुभूमिमा परिणत हुन सक्छन्।
समुन्द्रको सतह बढ्न गइ होचा स्थानहरुमा भएका राष्ट्रहरु डुबानमा पर्न सक्ने खतरा पनि जलवायु परिवर्तनको कारणले बढेको छ। मौसममा आएको परिवर्तनले गर्दा समयमा पानी नपर्नाले उत्पादनमा कमी, विभिन्न सरुवा रोगहरुको प्रकोप बढ्न गएको छ । पृथ्वीको सौन्दर्य बिस्तारै संकटमा पर्न थालेको, जीवजन्तुका लागि योग्य वासस्थानको अभाव हुनु, औद्योगिकीकरण तथा यातायात क्षेत्रमा खनिज इन्धनको व्यापक प्रयोग एवं वन विनाशको कारण हरितगृह ग्या“सको अत्यधिक उत्सर्जनबाट जलवायु परिवर्तनमा तीब्रता आएको छ। यी असरहरु जलवायु परिवर्तनको कारणले मानवय जीवनमा देखा पर्दै गएका छन्।
विकासोन्मुख मुलुकमा जलवायु परिवर्तनको असर धेरै देखिनुको मुख्य कारण आर्थिक स्रोतको अभाव, पर्याप्त दक्ष जनशक्तिको अभाव, समयसापेक्ष जलवायु परिवर्तनबारे नीति, नियम, रणनीतिहरु नहुने यसको मुख्य समस्या हो। यहाँ प्रशस्तै मात्रामा जलवायु परिवर्तनका असरहरु हामीले भोगिरहेका छौं । हाम्रो जस्ता भौगोलिक विविधताले भरिपूर्ण देशमा हिमालै हिमालले ढाकेको छ । ती हिमालहरु पग्लने र खुम्चिने क्रम बढेको छ । हिमतालहरु विस्तारै पग्लदैछन् । वर्षा अनियमित मात्रामा भइदिनाले ठूलो मात्रामा जनधनको क्षति भइरहेका समाचार हामीले सुनिरहन्छाैं ।
जलवायु परिवर्तनको उपज बढ्दो विश्वव्यापी तापमान बढ्दो क्रममा छ। बाढीपहिरो, अनियमित वर्षा आदिका कारण सडक, पुल, सिँचाइ, आवास खानेपानीजस्ता भौतिक पूर्वाधारका संरचना निकै प्रभावित हुने देखिन्छन्। विश्व बैंकको प्रतिवेदनले पनि आगामी ५० वर्षमा तापमानमा एक दशमलव पाँच प्रतिशतले वृद्धि हुँदा पनि पाँच प्रतिशत भौतिक पूर्वाधारका संरचना नष्ट हुने जनाएको छ। यसबाट जलवायु परिवर्तनको भयावह स्वरूपको अनुमान निकै त्रासदीपूर्ण हुने देखिन्छ। अझ भौतिक पूर्वाधारका संरचनामा पर्ने प्रभाव नेपालका लागि सबैभन्दा ठूलो क्षतिका रूपमा रहने तथ्याङ्ग हाम्रा लागि निकै विषम परिस्थिति हो। जलवायु परिवर्तनका कारण विभिन्न रोगको आक्रमण, बसाइँसराइ आदिका प्रभावस्वरूप जनस्वास्थ्यमा पर्ने असरले गर्दा श्रम उत्पादकत्वका क्षेत्रमा पनि प्रतिकूल प्रभाव पर्ने आशंका विश्व बैंकको प्रतिवेदनको रहेको छ। यसले गर्दा पारिवारिक आय एवं समग्रमा अर्थतन्त्र प्रभावित हुने अवस्था देखिन्छ।
कुनै पनि अर्थतन्त्रका प्रमुख क्षेत्र हुन कृषि, पूर्वाधार संरचना र श्रम उत्पादकत्व अर्थतन्त्रका मूलभूत विषय हुन्। यी महत्वपूर्ण क्षेत्र प्रभावित हुनेको अर्थ मुलुकको अर्थतन्त्र नराम्ररी प्रभावित हुने दिशातिर अग्रसर छ। जलवायु परिवर्तनका कारण मौसममा आएको परिवर्तनस्वरूप बढ्दो तापमान, अनावृष्टि, अतिवृष्टि, बाढी पहिरो, नदी कटान, कृषि बालीको भौतिक क्षति आदिका कारण कृषि उत्पादनका क्षेत्रमा निकै नकारात्मक प्रभाव परिरहेको छ । यो अवस्था हामीले विगत केही वर्ष यतादेखि निरन्तर जसो भोग्दै आइरहेका हौँ। बालीनाली तयार भएर उठाउने बेलामा बाढी र डुबानले तहसनहस पारेको छ। कहिलेकाँहीमध्ये वर्षात् याममा खडेरी परेको भोगिएको छ। जलवायु परिवर्तनका कारण कृषि क्षेत्रमा पर्ने प्रभावका फलस्वरूप सन् २०३० अर्थात् एक दशकभन्दा कमको अवधिमा कुल आर्थिक वृद्धिदर शून्य दशमलव सातदेखि शून्य दशमलव आठ प्रतिशतले सङ्कुचन आउने विषय स्वाभाविक रूपमा चिन्ताको विषय हो।
हिन्दूकुश क्षेत्र अफगानिस्तानदेखि पाकिस्तान, भारत, चीन, भुटान र वर्मासम्म फैलिएको छ। यस क्षेत्रमा पर्ने अफगानिस्तानको करिव पुरै क्षेत्र र पाकिस्तान र भारतको केही क्षेत्र जलवायु परिवर्तनका कारण ज्यादै सुख्खा र पथ्थरमात्र भएको उजाड क्षेत्र भइसकेको छ र यहाँ पानीको ज्यादै नै अभाव हुन थालेको छ।हिमाली क्षेत्रमा पनि सामान्य भन्दा बढी र अहिलेसम्म कै अधिक तापमान यो वर्ष रेकर्ड गरिएको छ। फलस्वरुप हिमनदी पग्लेर तालहरू बन्न शुरु भएको छ। हिमालको हिउँ पग्लेर बन्दै गएका तालहरू फुटेर तल्लो भेगमा अप्रत्याशित बाढी र पहिरो जान सक्छ भने त्यस्ता तालमा हिमालबाट हिउँका ठूला ठूला पहिरो खसेर पानी छछल्किन गई बाढी र पहिरो जाने सम्भावना पनि उत्तिकै हुने गर्दछ।हाल क्षणिक रूपमा मनोरम ताल बन्न गएको भएता पनि पछि यस्ता तालहरू सुक्दै जान्छन्। यो नै मरुभूमिकरणको पहिलो चरण हो। यो क्रम रहिरहेमा वा बढ्दै गएमा केही दशक भित्र हिमालको हिउँ झनै पग्लेर ताल बनेका यस्ता क्षेत्रको पानी सुक्दै जाने र पथ्थरै पथ्थरको मरुभूमि बन्ने क्रममा हिमालय पुग्न सक्दछ। यो एक अति विकराल स्थिति हो।
अर्को तर्फ चुरे पर्वत श्रृखलामा पनि प्राकृतिक श्रोतको चरम दोहन हुन थालेपछि त्यहाँको वातावरणमा व्यापक फेरबदल हुन शुरु भएको छ। जमिन मुनीको पानी समेत सुक्नुका साथै वन–जंगल मासिने र ढुंगा, बालुवा, गिट्टीको अनधिकृत ओसार पसार तथा योजना विनाका बाटा खन्ने कामले गर्दा चुरे क्षेत्र जर्जर हुँदै गएको छ। तर चुरेभाँवरको दोहनमा कुनै कमी आएको छैन।हिमाल र पहाड मात्र नभई तराईमासमेत कृषियोग्य जमीनको प्लटिङ र घर तथा शहरको निर्माण, बढ्दो जनसङ्ख्या र यातायातको साधनको बढ्दो चापले गर्दा पानीको हाहाकार, बढी उष्ण वायुका साथै खाद्यान्नको अभाव हुन थालेको छ।यस्तो अवस्थामा बढ्दो तापमानसँगै पानीको अभाव र उष्णताले गर्दा माटोको उर्वरा शक्ति घट्ने हुँदा कृषियोग्य जमीनको उत्पादकत्वमा ह्रास आउन थाल्छ भने मानवजाती र पशुपंक्षीको जीवनचक्रमा नै नकारात्मक प्रभाव पार्न थाल्दछ।
विश्वव्यापीरूपमा बढेको यस समस्याका लागि विश्वका औद्योगिक तथा धनी राष्ट्र जिम्मेवार रहेको यथार्थ विभिन्न अध्ययन प्रतिवेदनले सार्वजनिक गरिसकेका छन्। हरितगृह ग्यासको प्रमुख कारकको रूपमा देखिएको कार्बन डाइअक्साइडको उत्सर्जन नै विश्वव्यापी उष्णीकरण र जलवायु परिवर्तनको कारक मानिएको छ । धनी र औद्योगिक मुलुकले कार्बन डाइअक्साइड अत्यधिक उत्सर्जन गरे पनि नेपाल जस्ता विकासोन्मुख तथा अति कम विकसित मुलुकहरूले यसलाई खप्नसक्ने हैसियत प्राप्त गर्न अझै बढी कठिनाइ भोग्नु परिरहेको ।
गर्मी छलेर ठण्डा क्षेत्रमा बसोवास गर्ने आकांक्षा मानवजातिमा मात्र हुँदैन। उदाहरणको निम्ति केही वर्षदेखि नेपालमा नै लामखुट्टेदेखि लिएर कैयन् प्रजातिका चराचुरुङ्की र जङ्कली जनावर जस्तै चितुवा, बाघ र सर्प, विच्छी समेत अग्लो भूमि खोज्दै पहाड र हिमाल पुग्न थालिसकेका छन्।मलेरिया र डेङ्कु अब तराईको मात्र समस्या नभई नेपालका सबै क्षेत्रमा पैmलँदै गएका छन्। त्यस्तै तापमान वृद्धि कै कारण हिजो आज उच्च पहाडी इलाकामा पनि आँप र लिच्ची फल्न थालेका छन्। वर्षेनी टाढा टाढाबाट नेपालमा आएर केही समय बस्ने आप्रवासी चराहरूको संख्या बिस्तारै घट्न थालेको छ। तापमान र जनसंख्यामा वृद्धि तथा खेतीयोग्य जमीन र सिमसार क्षेत्रहरू घट्दै जानाले पनि त्यस्ता चराहरूले खानपान, बसोवास र बचेरा हुर्काउने जस्ता कुरामा यो क्षेत्र असुरक्षित भएको महसुस गरेर अन्यत्र जान थालेका छन्।जलवायु परिवर्तन कै कारण कैयन् जीव–जन्तु तथा माछा र किटाणुहरूको साथै धेरै थरी वनस्पति समेत लोप हुने क्रम बढ्दो छ । आकाशे पानीमा निर्भर हुनु पर्ने कृषिमा ह्रास आएपछि पशुपंक्षीको अवैध शिकारमा पनि वृद्धि हुने गर्दछ र फलस्वरूप प्राकृतिक इकोसिस्टममा नै खलल पर्न थाल्दछ। अहिले दशैँ र गर्मी तिहारका साथै माघे झरी माघमा नपर्ने, माघीमा जाडो नहुने, चैते हुरी चैतमा नआउने तथा मनसुनको शुरुवातमा पनि ढिलाई हुँदै जाने क्रम जलवायु परिवर्तनसँगै जोडिएको छ। केही दशक अघिसम्म पहाडी इलाकामा भदौतिर देखि ठण्डी मौषम शुरु हुने गरेकोमा हिजो आज कार्तिक महिनासम्म पनि गर्मी हुने र लामखुट्टे र साङला जस्ता जीवहरू देखा परिरहने हुन थालेको छ।एकातिर हामी जलविद्युतको ठूलो सम्भावना भएको राष्ट्रको रूपमा चिनिन्छौँ भने अर्को तर्फ जलवायु परिवर्तन कै कारण हाम्रो जलविद्युत उत्पादन क्षमतामा ठूलो ह्रास आउन थालिसकेको छ भने हालैका बाढी पहिरोका कारण पनि कैयन् चालु तथा निर्माणाधीन जलविद्युत केन्द्र तथा प्रसारण लाइनहरू नराम्ररी क्षतिग्रस्त भएका छन्। जलवायु परिवर्तन कै कारण भूमिगत जल भण्डार पनि सुक्दै गएको छ।
जलवायु परिवर्तनको मूलकारक नेपाल जस्ता विकासोन्मुख मुलुक होइनन् तर हालका दिनमा विश्व जलवायु परिवर्तनले हिमालय लगायत मानव जीवन, सामाजिक–आर्थिक विकास, जैविक विविधता, पर्यटकीय विकास आदि क्षेत्रमा नकारात्मक असर पु¥याउन थालेको छ । फलस्वरूप अतिवृष्टि, अनावृष्टि, बाढी, पहिरो, हिमपहिरो, सुख्खाजस्ता प्राकृतिक विपद्को जोखिम समेत बढिरहेको छ। हिमालय क्षेत्र नजीकका भू–भागमा मात्र होइन, यसको नकरात्मक प्रभाव दक्षिण एसिया र सम्पूर्ण विश्वको वातावरणीय सन्तुलनमा समेत पर्न गएको अवस्था विधमान छ ।
खडेरी, बेमौसममा भारी वर्षा, हिउँ पर्ने क्रममा कमी, तापक्रममा वृद्धि, तातो दिन र तातो रातहरूको वृद्धि, शीतलहरका दिन र समयमा वृद्धिका कारण जमिनको उत्पादकत्वमा गिरावट आएको छ ।मानवीय स्वास्थ्यमा जलवायु परिवर्तनको प्रत्यक्ष र अप्रत्यक्ष प्रभाव परिरहेको छ । रोगको प्रकृतिमा पनि परिवर्तन आएको छ । जैविक किटाणुमा पनि औषधि पचाउन सक्ने क्षमता बढेको छ । वृद्धि भएको तापक्रमको कारण मुटु श्वास प्रश्वासजन्य रोग र त्यसका कारण हुने मृत्युदरमा वृद्धि भएको छ । पानीजन्य, कीटजन्य सरुवा तथा चोटपटक, मानसिक, पत्थरी, अन्धोपन र कुपोषणजस्ता नसर्ने रोगहरूको १० देखि १५ गुणासम्म तीव्र वृद्धि भएको पाइन्छ । नेपालमा पनि सन् १९९८ देखि २००८ को तुलना गर्दा १० गुणासम्म किटाणुजन्य रोगमा वृद्धि भएको पाइन्छ । नेपालमा बिरामी हुनेमा ५१ प्रतिशत कारण सरुवा रोग नै पर्छ, जुन जलवायु परिवर्तनसँगै दिन प्रतिदिन बढ्दो छ । नसर्ने रोग मानसिक रोग, चोटपटक, मुटुरोग, क्यान्सर, मिर्गौलाको पत्थरी, अन्धोपना, कुपोषण र त्यसबाट उत्पन्न जटिलताहरू पनि लगातार बढिरहेका छन् ।
वातावरण संवेदन मानिएका टाइफाइड, रातो आँउ, हैजा १०आंै गुणाले बढेका छन् । सर्पको टोकाइ पनि ५ गुणाले बढेको छ । विषालु सर्प नपाइने ठाउँमा विषालु तथा पहाडमा पनि तराईमा मात्र पाइने गोमन सर्प पाउन थालिएको छ । कालाजार नेपालको दक्षिण क्षेत्रबाट अहिले उत्तरतिर विस्तार छ । उन्मुलनको अवस्थामा रहेको औलो तराई क्षेत्रबाट पहाडतिर उक्लेको छ । हात्तीपाइले रोग ६० बढी जिल्लामा फैलिएको छ । तराईमा मात्र देखिने क्युलेक्स जातको लामखुट्टेबाट सर्ने जापानिज इन्सेफलाइटिस काठमाडौंमा छ । एडिस एजिप्टी लामखुट्टेबाट सर्ने खतरनाक रोग डेंगु अहिले आएर काठमाडौंकै बासिन्दामा पनि देखिइसकेको छ । घरपालुवा तथा जगंली जनावरको पिसाबबाट मानिसको नांगो खुट्टा हुँदै सर्ने लेप्टोइस्पाइरोसिस पनि नेपालमा देखापरिसकेको छ । तराई र नदी किनारमा बसोबास गर्ने मानिसमा छालासम्बन्धी समस्या बढेको छ । जीउ चिलाउने, घाउ हुने, खटिरा आउने, तातो हावाका कारण बेहोस हुने र मर्ने बढ्दै छन् । हिमालवासीका अनुहारका छाला डढ्ने, आँखामा असर परेर मोतियाबिन्दु र मोतियाबिन्दु भई अन्धोपन हुने सम्भावना रहने भएकाले भविष्यमा नेपालमा अन्धोपनको संख्या र समस्या धेरै बढ्ने संकेत छ । पहाडी र हिमाली बासिन्दाले पानी कम पिउँछन् तर जलवायु परिवर्तनको कारण पानीको स्रोतहरू कम हुँदै छन् । पानी कम खाने तथा उपलब्धता पनि कम हुने भएपछि पानी अझै कम खाने तर गर्मी बढी हुने, पसिना बढी बग्ने हुँदा शरीरमा पानी कम भई मिर्गौलाको पत्थरी हुने सम्भावना बढ्छ ।सबै राष्ट्रले समयमै सचेतना नअपनाए महाप्रलय आई करोडौं मानिसको मृत्यु र खर्बौं डलरको क्षति हुने निश्चित छ ।शीतलहरको बेला उत्पन्न हुने निमोनिया, डायरिया, श्वासप्रश्वासको समस्या, दिमागको नसा फुटी पक्षघात, उच्च रक्तचाप बढ्ने र भएकोमा झनै बढ्ने र मृत्यु हुनेको संख्या बढ्दै छ ।
हिमनदी विश्व तापमान बृद्धिका कारण प्रभावित हुने सबैभन्दा बढी संवेदनशील मापक हुन्। तिनीहरूको आकार हिमपात र त्यसको पग्लिने क्रमको अनुपातमा निर्भर गर्दछ । साविकको समय भन्दा पहिले विरुवामा फूल लाग्ने र चराले चाँडै अण्डा पार्ने गरेको पाइएको छ । यसले गर्दा पक्षी तथा अन्य जनावरको खाद्य चक्रमा असन्तुलन हुनगई सिङ्को पारिस्थितिक प्रणालीमा नै खलल हुने सम्भावना बढेको छ । उच्च तथा चिसो स्थानको तापक्रम बढ्नाले झिँगा र लामखुट्टेजस्ता रोगबाहक कीरा ती भागमा पुग्ने र रोग तथा महामारी फैलिने चुनौती बढ्दै गएको अवस्था विधमान छ । तराईमा अत्यधिक गर्मी बढ्ने र हिमाली क्षेत्रमा समेत तापक्रम बढेर हिउँ पग्लने क्रममा विस्तार हुँदै तिव्रता उन्मुख छ । यसबाट प्रकोपजन्य जोखिम उत्पन्न त भएको छ नै नागरिक सुरक्षा र संरक्षणका थप समस्या जस्तै नयाँ र असाध्य रोगको फैलावट, कृषिजन्य उत्पादन चक्रमा परिवर्तन र उत्पादनमा ह्रास आदिका कारण भोकमरी हुनगई व्यापक वसाई सराई देखापर्ने निश्चित छ र यसको सुरुआत भइसकेको अवस्था विधमान छ ।
वर्षाको प्रकार र तापक्रममा आएको परिवर्तनले देशका विभिन्न क्षेत्रमा बाढी, पहिरो, भू–क्षय र खडेरीजस्ता प्रकोपका घटना बढ्दै गएका छन्। पहाडी भागमा व्यापक बाढीपहिरो जानका साथै स–साना खोल्सा, मूलकुवा आदि पानीका स्रोत सुक्दै जान थालेका छन् भने तराई भागमा भूमिगत पानीको सतह घट्न गएको छ। यसैगरी तापक्रमको वृद्धिसँगै झिंगा तथा लामखुट्टेको पनि बृद्धि भई मलेरिया, पहेँलो ज्वरो, डेङ्कु इन्सेफलाईटिसजस्ता सरुवा रोगको प्रकोप बढ्नाका साथै कृषि तथा पशुपालन क्षेत्रमा पनि नयाँ–नयाँ झार तथा रोगकीराको आगमनले नकारात्मक असर पारेको छ। तापक्रमका साथै वर्षातको समय, मात्रा र अवधिमा आएको परिवर्तनका कारणले कृषि उत्पादन र खाद्य सुरक्षामा थप नकरात्मक प्रभाव देखिन थालेको छ भने जलवायुको परिवर्तित अबस्था अनुसार खेतीपातीमा सुधार गर्ने सीप र दक्षताको अभावका कारण कृषक थप मारमा परेका छन्।
जलवायु परिवर्तनका नकारात्मक असर देखिइसकेको र भविष्यमा पनि देखिने पक्कापक्की भएको अवस्थामा त्यस्ता असरबाट बाँच्ने तथा मानवीय र वातावरणीय क्षति कम गर्ने तर्फ पूर्वतयारी तथा क्षमता विकास गर्नु पर्नेछ, जसलाई अनुकूलन भनिन्छ । यसले जलवायु परिवर्तनले सिर्जना गर्ने कतिपय सकारात्मक असर (जस्तै, कतिपय क्षेत्रमा बालीनालीको उब्जनी बढ्ने, चिसो ठाउँमा समेत वर्षमा धेरै महिनासम्म बाली उब्जाउन सकिने) बाट फाइदा उठाउने कुरालाई पनि बुझाउँछ । जलवायु परिवर्तन अनुकूलनको विषय सामूहिक दायित्वको विषय हो र यसले समग्र पक्ष तथा तहमा क्रियान्वयनको आवश्यकता पर्छ ।
हरितगृह ग्यास उत्सर्जन र जलवायु परिवर्तनको निदानका लागि राज्यस्तरमा नै पेट्रोलियम पदार्थको खपतमा कमी ल्याउँदै नवीकरणीय उर्जा जस्तै जलविद्युत, सौर्य तथा वायु र वायो उर्जाको विकास तथा उपयोग गर्ने, वातावरणमैत्री आर्थिक विकास र निर्माणमा विशेष ध्यान दिने तथा आवश्यकता अनुसार मात्र सवारी साधनको उपलब्धतामा विशेष पहल गर्ने कार्यको आजै थालनी गर्नु पर्दछ।वन–जंगल फडानी र यसको अप्राकृतिक दोहनमा नियन्त्रण गर्नुका साथै सक्दो वृक्षरोपण तथा सिमसार क्षेत्रको संरक्षण र मानव निर्मित ताल तथा पोखरीहरूको व्यापक निर्माण र वर्षे पानी जम्मा गर्ने जस्ता पुरातन प्रणालीलाई पुनर्जागृत गर्नु पर्दछ । कृषि, औद्योगिक र शहरी क्षेत्रहरू छुट्टाएर बढी भन्दा बढी हरित र जल क्षेत्रको विकास गर्नु उचित हुन्छ। आम जनतामा वातावरणको महत्व झल्काउन व्यापक रूपमा वा अर्को शव्दमा प्रदेश र स्थानीय स्तरमा समेत सचेतना कार्यक्रमहरू सञ्चालन गरिनु पर्दछ भने सार्क सदस्य राष्ट्रहरूले एकापसमा समन्वय गरेर यी सब कार्यक्रम सबै सदस्य राष्ट्रमा सञ्चालन गर्नु आवश्यक छ ।
नेपाली अर्थतन्त्रमा जलवायु परिवर्तनजन्य असर कम गर्न सकिने तर्फ पनि सम्बन्धित क्षेत्रको ध्यानाकर्षण हुनु जरुरी छ। जलवायु परिवर्तन रोक्नका लागि ठूलो भूमिका सरकार तथा उद्योग व्यवसायको रहेको छ । तर वैज्ञानिकहरुका अनुसार हरेक मानिसको जीवनमा केही स साना परिवर्तन गर्नेहो भने पनि यसले जलवायु परिवर्तनलाई कम गर्न मद्दत गर्दछ । यस्ता प्रयासहरुमा ःहवाई जहाजको यात्रा कम गर्ने,जिवाश्म इन्धनबाट चल्ने गाडीको प्रयोग नगरी विद्युतीय गाडीको प्रयोग गर्ने,मासु तथा दुग्धजन्य पदार्थको उपयोग कम गर्ने,ऊर्जा खपत घटाउने, किफायती बनाउने, आफ्नो घरको उर्जाको चुहावट घटाउने,ग्रार्हस्थ्य प्रयोगमा आउने ग्याँसलाई बिजुलीले विस्थापित गर्ने आदि उपायहरु अवलम्वन गर्न सकिन्छ ।
विश्व बैंैकको प्रतिवेदनले औँल्याएको महत्वपूर्ण विषय नेपालको जलविद्युत्को सम्भावना हो। यो अति महत्वपूर्ण छ। बैङ्गले जलविद्युत् उत्पादनलाई बढावा दिएर त्यसको खपत सकेसम्म स्वदेशमै गरेर नेपाली अर्थतन्त्रलाई बहुआयामिक सुुधार गर्न सहायकसिद्ध हुने तथ्य औँल्याएको छ । स्वदेशभित्रै विद्युतीय ऊर्जाको प्रयोगले लगानी, उत्पादन, आय र रोजगारीमा सकारात्मक प्रभाव पर्नेछ। नेपाली अर्थतन्त्रलाई बढी भएको जलविद्युत्लाई छिमेकी राष्ट्र भारत, बंगलादेश, भुटान, नेपाल ( बीबीआईएन ) सञ्जालको व्यापार मेरुदण्डका रूपमा औँल्याउनु पनि हाम्रा लागि सुखद विषय हो। यो विषयलाई कार्यान्वयन गर्नेतर्फ सरकारी निकायले उपयुक्त रणनीति तथा गृहकार्य सुरु गरिहाल्नु मुलुकको अर्थतन्त्रका लागि लाभदायक हुनसक्छ । जलवायु परिवर्तनको विषयलाई आर्थिकलगायत मानव जीवनका सबै पक्षसँग लेखाजोखा गरिँदा जलवायु परिवर्तनका कारक विषयहरूको नियन्त्रणमा नै ध्यान दिनु श्रेयष्कर हुन्छ। यसबाट समस्त विश्व तथा मानव सभ्यतामा नै सकारात्मक प्रभाव पर्नेछ।
(उप्रेती नेपाल सरकारका उपसचिव हुन्ं)


























