नेपालमा विपद जोखिम व्यवस्थापनका वहुुआयामिक पक्षहरु

2K
shares

 

परिचय

विपद गैर प्राकृतिक र प्राकृतिक कारणहरूबाट अकस्मात देखा पर्ने विपत्तिपूर्ण अवस्था हो । विपद कुनै स्थानमा आपत्कालीन अवस्थाको सृजना भई जन र धनको क्षतिका साथै जीवनयापनका कृयाकलापहरु र वातावरणमा प्रतिकुल असर पार्ने प्रकोपजन्य अवस्थाको उपस्थिति हो । विपद एउटा वहुआयामिक अवधारणा हो । यसलाई समयमै व्यवस्थापन गर्न सकिएन भने यसबाट ठुलो धनजनको क्षती हुनसक्दछ । नेपाल प्रकोपको दृष्टिकोणले विश्वमै अति उच्च जोखिमयुक्त मुलुक हो । बर्षेनी प्रकोपबाट यहाँ ठूलो धनजनको नोक्सान हुनेगरेको अवस्था विधमान छ ।

विपद व्यवस्थापनको अवधारणा

विपद व्यवस्थापन विपद जोखिम न्युनीकरणदेखि विपद प्रतिकार्य हुँदै विपद पुनर्लाभसम्मका कृयाकलापहरुको समष्टि हो । विपदको जोखिम न्युनीकरणमा विपद सम्भाव्य क्षेत्रमा गरिने जोखिमको विश्लेषण, मूल्याङ्कन, विपद रोकथामका लागि गर्न सकिने उपायहरू र जोखिम कम गर्न गरिने कार्यहरू पर्दछन् । विपद आइपरे लगत्तै घटनास्थलमा गरिने खोज उद्धार, सुरक्षित ठाउँमा सार्ने र राहत वितरण सम्बन्धी कार्यहरू विपद प्रतिकार्य अन्तर्गत पर्दछन् भने विपदपश्चातको पुनःस्थापना र पुनःनिर्माणसम्बन्धी कार्यहरू विपद पुनर्लाभको परिभाषामा पर्दछन् । स्वभावतः विपद पुनर्लाभका कार्यहरू लामो समयावधि लिने खालका हुन्छन् ।

विपद जोखिम न्युनीकरण तथा व्यवस्थापन ऐन, २०७४ का अनुसार विपदका प्राकृतिक कारण र स्वरूपहरूमा हिमपात, असिना पानी, बाढी पहिरो, आधी हुरी, खडेरी, भूकम्प, ज्वालामुखी, शितलहर, तातो हावा, भु स्खलन आदि पर्दछन् । प्रभावित समाज वा समुदायले आफ्नै स्रोत साधन र सामाथ्र्यको प्रयोग गरी धान्न नसक्ने गरी भएको त्यस्तो व्यापक मानवीय, भौतिक, आर्थिक वा वातावरणीय क्षति एवं असरहरु जसका कारण समुदायको सामान्य जीवन पद्धति गम्भीर रुपमा अबरुद्ध हुन्छ ।

प्राकृतिक विपद् र गैरप्राकृतिक विपद गरी विपद् दुई प्रकारका हुन्छन् ् । प्राकृतिक विपद् भन्नाले विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन, २०७४ को दफा २ (झ) अनुसार हिमपात, असिना, हिमपहिरो, हिमताल विस्फोटन, अतिवृष्टि, अनावृष्टि, बाढी, पहिरो तथा भूस्खलन, डुबान, खडेरी, आँधी, हुरी बतास, शीतलहर, तातो हावाको लहर, चट्याङ्ग, भूकम्प, ज्वालामुखी बिस्फोट, डढेलो वा यस्तै अन्य प्राकृतिक विपद्बाट उत्पन्न जुनसुकै विपद् सम्झनु पर्छ । गैरप्राकृतिक विपद् भन्नाले ऐ. ऐनको दफा २ को (घ) अनुसार महामारी, अनिकाल, डढेलो, कीट वा सुक्ष्म जिवाणु आतङ्क, पशु तथा चराचुरुङ्गीमा हुने फ्लु, प्यान्डामिक फ्लु, सर्पदंश, जनावर आतंक, खानी, हवाई, सडक, जल वा औद्योगिक दुर्घटना, आगलागी, विषाक्त ग्यास, रसायन वा विकिरण चुहावट, ग्याँस विष्फोटन, विषाक्त खाद्य सेवन, वातावरणीय प्रदुषण, वन विनाश वा भौतिक संरचनाको क्षति तथा प्रकोप उद्धार कार्यमा हुने दुर्घटना वा यस्तै अन्य गैर प्राकृतिक विपद्बाट उत्पन्न विपद् सम्झनु पर्छ ।

विपद्ले विनाश गर्छ, विनाशले जीवनचक्र आतङ्कित बनाउँछ, आतङ्कले जनधनको क्षति र तनाव बढाउँछ। मानव संकटले जीवन सञ्चालनमा अवरोध गर्ने हुँदा विपद् जोखिममा हासियारी अपनाउनुपर्छ। यस्तो संकट आकस्मिक र अप्रत्याशित रूपमा आउने हुँदा विपद्विरुद्ध सधैँ होसियारीसहित शासकीय तयारी हुनुपर्छ। विपत्ति प्राकृतिक र मानवीय कारणबाट हुने गर्दछ।नेपालमा हावा हुरी, चट्याङ, बाढी पहिरो, भूकम्प, आगलागी, दुर्घटना र स्वास्थ्यको प्रकोपको जोखिम रहेको छ।

विपद् जोखिम न्यूनीकरण र व्यवस्थापन गर्न गरिएका प्रयासहरु

नेपालले विपद् जोखिम न्यूनीकरण र व्यवस्थापन गर्न नीति तर्जुमा गरी लागु गरेको छ। विपद् व्यवस्थापन गर्ने संयन्त्र विपद जोखिम न्युनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषदको स्थापना गरी विपद् जोखिम न्यूनीकरण र व्यवस्थापन गर्ने कार्य जिम्मेवारी तोकिएको छ। जोखिम न्यूनीकरण र व्यवस्थापन गर्न प्रधानमन्त्रीको अध्यक्षतामा राष्ट्रिय परिषद्को व्यवस्था रहेको र परिषद्ले विपद् जोखिम न्यूनीकरण र व्यवस्थापन गर्न नीतिगत निर्णय गर्ने, समन्वय गर्ने, निर्देशन दिने काम गर्दछ।

विपद जोखिम न्युनीकरण तथा व्यवस्थापन ऐन, २०७४ अनुसार केन्द्रमा प्रधानमन्त्रीको अध्यक्षतामा विपद जोखिम न्युनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद् रहने व्यवस्था छ । यसले विपद व्यवस्थापन सम्बन्धी राष्ट्रिय नीति तथा योजनाहरू तर्जुमा गर्ने कार्य गर्दछ । परिषद् मातहतमा रहने गरी गृहमन्त्रीको अध्यक्षतामा कार्यकारी समिति रहने र उक्त समिति अन्र्तगत रहने गरी राष्ट्रिय विपद जोखिम न्युनीकरण तथा व्यवस्थापन प्राधिकरणको व्यवस्था गरिएको छ ।

गृहमन्त्रीको अध्यक्षतामा राष्ट्रिय कार्यकारी समिति रहेको र समितिले विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनको केन्द्रीय निकायको काम गर्दछ। प्रदेश विपद् व्यवस्थापन कार्यकारी समिति, जिल्ला विपद् व्यवस्थापन समिति र स्थानीय विपद् व्यवस्थापन समितिको व्यवस्था गरी प्रदेश, जिल्ला र स्थानीय स्तरसम्म विपद् व्यवस्थापन गर्न आआफ्ना काम, कर्तव्य र अधिकार तोकिएको छ। विपद् व्यवस्थापनका लागि राष्ट्रिय कोषको व्यवस्था गरी दाताहरूले उक्त कोषमा रकम सहयोग गर्न सक्ने व्यवस्था छ।

प्रदेश स्तरमा मुख्यमन्त्रीको अध्यक्षतामा प्रदेश विपद व्यवस्थापन समिति रहने जसले परिषदबाट स्वीकृत राष्ट्रिय नीति तथा योजनाको अधीनमा रही प्रदेशमा विपद व्यवस्थापन सम्बन्धी नीति तथा योजना तर्जुमा गर्ने गर्दछ । हरेक जिल्लामा प्रमुख जिल्ला अधिकारी संयोजक रहने गरी जिल्ला विपद व्यवस्थापन समिति रहन्छ भने गाउ÷नगर कार्यपालिकाका अध्यक्ष÷प्रमुखको अध्यक्षतामा स्थानीय विपद व्यवस्थापन समितिको गठन हुने व्यवस्था छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट स्थानीय तहहरूलाई जारी भएको नमुना कानुन बमोजिम धेरैजसो स्थानीय तहहरूमा विपद जोखिम न्युनीकरण तथा व्यवस्थापन ऐन समेत लागु भइसकेको अवस्था छ । यसका अलावा स्थानीय विपद कोष सञ्चालन कार्यविधि, गाउपालिका÷नगरपालिका आपतकालिन कार्यसंचालन विधि जस्ता कानुन पनि पारित हुने क्रममा रहेका छन् ।

त्यसैगरी प्रदेश र स्थानीय तहमा समेत कोषको व्यवस्था गर्न सकिने व्यवस्था गरिएको छ। तहगत सरकारले समेत विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन गर्न नीतिनियमहरू तर्जुमा गरी लागु गरेको अवस्था विधमान छ । विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन गर्न नागरिक समाज, गैरसरकारी संस्था तथा सामाजिक अभियन्ता र स्वयंसेवकको व्यवस्थासहित विपद्विरुद्धका प्रतिकार्यमा ठुलो सहयोग गरेको अवस्था विधमान छ ।

विपद् जोखिम न्यूनीकरणका क्षेत्रमा पर्याप्त कानुनी प्रावधानहरूको व्यवस्था गरिएको छ । वर्तमान नेपालको संविधानको अनुसूची ९ र ८ मा तीनै तहका सरकारको साझा र स्थानीय तहको एकल अधिकारको रूपमा विपद् व्यवस्थापनलाई राखिएको छ । विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन, २०७४ र नियमावली २०७६ जारी भई विपद् व्यवस्थापनलाई प्रभावकारी बनाउन राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण, परिषद् तथा कार्यकारी समिति, स्थानीय तह सम्म विपद् व्यवस्थापन समिति जस्ता महत्त्वपूर्ण कानुनी प्रावधानहरू व्यवस्था गरिएको छ ।

सेन्डाई कार्याढाँचा

विपद् जोखिम न्यूनीकरण सम्बन्धी तेस्रो यु. एन. सम्मेलनले विपद् व्यवस्थापन सम्बन्धी ७ विश्वव्यापी लक्ष्य रहेको सेन्डाई कार्याढाँचा(सन् २०१५–२०३०) निर्धारण गरेको छ । यी लक्ष्यहरूमा विपद्बाट मृत्यु हुने मानिसको सङ्ख्या, प्रभावित हुने सङ्ख्या, आर्थिक क्षति र भौतिक संरचनाहरूको क्षति गरी चार वटा घटाउने र राष्ट्रिय तथा स्थानीय सरकारले विपद् जोखिम न्यूनीकरण रणनीति, अन्तर्राष्ट्रिय समन्वय र बहुप्रकोपजन्य पूर्वचेतावनी प्रणालीमा जनताको पहुँच गरी तीन वटा घटाउने रहेका छन् । विपद् बुझाइ, विपद् व्यवस्थापन योग्य सरकार, विपद् जोखिम न्यूनीकरणमा लगानी र बिल्ड ब्याक बेटर गरी चार लक्ष्यहरू राखिएका छन् । विपद् सम्बन्धी बुझाइलाई पहिलो प्राथमिकतामा राखिएको छ । नेपालले पनि यसलाई अपनाई सकेको अवस्था छ ।

विपद व्यवस्थापनको अवस्था

नेपालमा हावा हुरी, चट्याङ, बाढी पहिरो, भूकम्प, आगलागी, दुर्घटना र स्वास्थ्यको प्रकोपको जोखिम रहेको छ। दुर्घटना र भूकम्पको प्रकोप जतिबेला पनि हुन सक्ने तर वर्षा सुरु हुनुअघि हावा हुरी, आगलागी र चट्याङ र स्वास्थ्यको प्रकोप जोखिम हुने गर्दछ। वर्षाको समय प्रायः असारदेखि भदौसम्म विपद जोखिम हुने समयका रूपमा लिइन्छ। हाम्रो भूबनोट र प्राकृतिक कारण हावा हुरी, आगलागी, चट्याङ, स्वास्थ्यको प्रकोप र वर्षा हाम्रा लागि निकै चुनौती र कष्टकर हुन्छ। प्राकृतिक विपद्बाट वार्षिक औसत पाँच सय जना र मानव सिर्जित विपद्बाट दुई हजार मानिसको मृत्यु हुने तथा ८ अर्व बराबरको आर्थिक क्षति हुने गरेको अध्ययनहरुले देखाउँछ । यसबाट विपद् जोखिम न्यूनीकरणका क्षेत्रमा भएका हाम्रा प्रयासहरू पर्याप्त छैनन् भन्ने सहज अनुमान गर्न सकिन्छ ।

विपद्का तीनै चरणहरू विपद् पूर्वतयारी, प्रतिकार्य तथा पुनर्स्थापनामा चाहिने जति सावधानी अपनाउन सकेका छैनौँ । भएका क्रियाकलापहरू पूर्वतयारीमा भन्दा प्रतिकार्यमा बढी केन्द्रित हने गरेको देखिन्छ । विश्वको तीन चौथाई जनसङ्ख्याले अनपेक्षित प्राकृतिक विपद्हरू व्यहोर्दै आएका छन् । मानिसहरू बसोबास गर्ने पृथ्वीको एक चौथाई जमिन विभित्र विपद्हरूको जोखिममा छ । गरिब देश र विपत्र समुदायहरू नै प्रकोपबाट सबैभन्दा बढी प्रभावित हुन्छन् ।

युएनडिपीकाअनुसार, विश्वका अति गरिब ४९ देशहरू मध्ये २४ देशहरूले उच्चस्तरका प्रकोप जोखिमहरूको सामना गर्नु परिरहेको छ । नेपाल विश्वका अति प्रकोप जोखिम देशहरू मध्ये एक हो । गरिब देशका विपत्र समुदायहरू विपद्बाट केवल प्रभावित मात्र भएका छैनन् कि तिनीहरूसँग विपत्तिपूर्ण घटनाहरू र तिनको परिणतिको सामना गर्ने क्षमता पनि कम छ । प्रकोपको विध्वंस सम्हाल्न नसक्नाले विकासोन्मुख देशहरू बाहिरी सहयोगको अनुकम्पामा निर्भर रहनु परेको अवस्था छ ।

नेपालमा बर्सेनि प्राकृतिक विपदबाट धेरैले अकालमा ज्यान गुमाउनुको साथै ठूलो धनजनको क्षति हुनेगरेको छ। महत्वपूर्ण भौतिक संरचना र पूर्वाधार भत्किन्छन् र देशले ठूलो नोक्सानी बेहोर्नुपर्छ। बाँच्नका लागि संघर्ष गरिरहेका लाखौं गरिब परिवारको बिचल्ली भइरहेको छ ।

जलवायुमा देखिएको परिवर्तन, जनसंख्या वृद्धि, प्राकृतिक स्रोतको अत्यधिक दोहन आदिका कारण पनि यो समस्या बढेको छ।सुरक्षित संरचना निर्माण र बसोबासमा ध्यान नदिने हाम्रो हेलचेक्य्राइले प्रत्येक वर्ष हामी वर्षातका बेला बाढी पहिरो, हिउँदमा शीतलहर र गर्मीमा ’लु’ बाट हामी ठुलो संकटमा परेका छौ ।अझैपनि सम्बन्धित सरकारी निकायहरुको जोड विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन भन्दा प्रतिकार्य र पूनप्राप्ती कार्यहरुमा नै बढी केन्द्रित देखिन्छ ।विपद् जोखिम न्यूनीकरण र व्यवस्थापनमा क्षेत्रीय सहयोग, समन्वय र सिकाई अति आवश्यक मानिन्छ । दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठन (सार्क) अन्तर्गतको विपद् व्यवस्थापन ईकाइ हाल त्यति प्रभावकारी देखिदैन ।

चुनौतीहरू

विपद व्यवस्थापनको सन्दर्भमा प्रमुख चुनौतीको रूपमा बजेट व्यवस्थापन नै हो ।सरकारले विपद व्यवस्थापनको क्षेत्रमा आवश्यक बजेट व्यवस्था गर्न नसकेको देखिन्छ । त्यसै गरी विपदको समयमा आश्यक पर्ने तालिमप्राप्त दक्ष जनशक्ति र उपकरणहरूको अभाव रहेको छ । आवश्यक परेको समयमा एम्बुलेन्स, वारुणयन्त्र जस्ता साधनहरू उपलब्ध हुन सक्दैनन् र सबै स्थानीय तहसँग त्यो क्षमता पनि छैन । अर्कातर्फ नेपालको भौगोलिक जटिलता पनि विपद व्यवस्थापनको लागि अभिशाप बनेको अवस्था विधमान छ ।विपदको सही व्यवस्थापनको लागि आवश्यक पर्ने प्रविधिको विकास जस्तै पूर्व चेतावनी प्रणाली विकास गरी लागु गर्ने कार्य चुनौतीपूर्ण नै छ । स्थानीय तहहरूमा घट्न सक्ने प्राकृतिक विपदहरुबाट क्षति कम गर्न हाजार्ड म्यापिङ गर्ने कार्य एकदमै प्राविधिक पक्ष हो भने आवश्यक श्रोत साधन र जनशक्तिको अभावमा विपदपश्चातको उद्धार, राहत तथा पुनस्थार्पना जस्ता कार्य पनि चुनौतीपूर्ण छन् ।

विपद व्यवस्थापनका सन्दर्भमा केन्द्र सरकार, प्रदेश सरकार, सरोकारवाला मन्त्रालय, विभाग र अन्य सरकारी निकायहरूका साथै सार्वजनिक संस्थान र व्यावसायिक प्रतिष्ठानसँगको समन्वय र सहकार्य त्यति सहज होला जस्तो देखिँदैन । विपदमा परी हराएका नष्ट भएका कागजातहरूको तथ्याङ्क सङ्कलन गरी अद्यावधिक गर्ने कार्य, विपद प्रभावितहरूको लगत र परिचयपत्र वितरण गर्ने कार्य पनि सहज छैन । विपदपश्चात प्रभावित क्षेत्रमा विपत् प्रभावितहरूको आर्थिक, सामाजिक स्तर उन्नति गर्न रोजगारी सृजना र आयआर्जनका कार्यक्रमहरू सञ्चालन गर्न स्थानीय तहहरूले आवश्यक गृहकार्य गर्न आवश्यक भइसकेको छ ।

स्थानीय स्तरमा विपद व्यवस्थापनको क्षेत्रमा कार्य गर्न विपद व्यवस्थापन कोष रहने कानुनी व्यवस्था छ । दिनप्रतिदिन बढ्दै गरेको आर्थिक अनिमितता र भ्रष्टाचारजन्य कार्यहरूको प्रवृत्ति हेर्दा आगामी दिनहरूमा विपद व्यवस्थापन कोषको रकम सही रूपमा सदुपयोग हुन सक्छ भनी आश्वस्त हुन सक्ने अवस्था समेत देखिँदैन ।

विपद् व्यवस्थापनमा आगामी कार्यदिशा

नेपालमा विपद् अध्ययन, अनुसन्धान सरकारी प्राथमिकतामा परेको छैन । विपद् जोखिम, न्यूनीकरण तथा व्यवस्थापनको क्षेत्रमा नेपालका आफ्नै मौलिक विशेषताहरु छन् । यहाँको संस्कृति, भूबनोट, प्रकोप तथा विपदका प्रकृति, विपद् सामना गर्ने क्षमता, संकटासन्नताको अवस्था अन्य देश, ठाउँको तुलनामा फरक छ । तसर्थ हाम्रो आफ्नै अनुसन्धानबाट नेपालको लागि उपयुक्त हुने विधि तथा विपद् न्यूनीकरणका उपायहरु अबलम्बन गरिनुपर्दछ ।

विपद्को पूर्व अवस्था, आपतकालीन समय र पुनर्स्थापना एवं प्रबलीकरणको समय गरी तीन चरणमा हेर्नुपर्ने हुन्छ। विपद् नै नआउने अवस्था सिर्जना गर्ने र विपद्मा सुरक्षित हुन जागरण ल्याउने काम विपद् व्यवस्थापनको पहिलो काम हो। विपद् जोखिम अवस्थाको पूर्वआंकलन गरी संभावित क्षेत्रमा सतर्कता अपनाउन शिक्षा र सचेतनाको क्रियाकलापमा जोड दिन आवश्यक छ। त्यसैगरी दोस्रो विपद्को होसियारी र सतर्क हुँदाहुँदै आउने आपत्कालीन अवस्थाको व्यवस्थापन गर्न समग्र शासन प्रणाली र नागरिक सवै मिलेर उद्धारको प्रयत्नमा जुट्नुपर्छ। मानवीय क्षति कम गर्न उद्धारको कार्यमा सक्रिय हुन, घाइतेको स्वास्थ्य उपचार, जोखिममा परेका मानिसको सुरक्षित स्थानमा स्थानान्तरण, अति आवश्यक सुविधाको व्यवस्थापन र स्वास्थ्य प्रकोप हुन नदिने विषयमा सामूहिक प्रयत्न गरी मानवीय पीडाको न्यूनीकरण गर्न सकिन्छ। तेस्रो आपत्मा परेका मानिसको पुनस्र्थापन गर्न योजनागत रणनीतिसहितको प्रबलीकरण र पुर्नस्थापनाका कार्यमा लाग्नुपर्छ। घरवारबिहीनका लागि आवास व्यवस्था, आयआर्जन र रोजगारीको अवसर, बालबालिकाको संरक्षण र शिक्षाको पहुँच र अशक्त नागरिकको संरक्षण एवं आर्थिक र समाजिक प्रक्रियाको क्रमशः सबलीकरणमा जोड दिनुपर्ने हुन्छ।विपद् जोखिमको आपत्कालीन समयलाई श्रेणीकरण गर्दा सामान्य, संवेदनशील र संकटपूर्णको अवस्थामा हेर्नुपर्ने हुन्छ। जोखिम न्यूनीकरणको उपयुक्त योजना र रणनीति नभए सामान्यबाट संवेदनशील हुँदै संकटपूर्ण अवस्थासम्मको स्थिति सामना गर्नुपर्ने हुन्छ।

विपदमा धनजनको क्षति र मानवीय संवेदनशीलता बढ्दै गएमा विपद् जोखिम न्यूनीकरणका आपत्कालीन योजना र रणनीतिलाई कार्यान्वयन गर्ने, जोखिमको स्थानलाई रेखांकन गर्ने, सो स्थानमा रहेको धनजनको सुरक्षित स्थानमा स्थानान्तरण गरी मानिसलाई अति आवश्यक सुविधा उपलब्ध गराउने र संवेदनशील अवस्थाको सतर्कताका लागि प्रभावित आमनागरिकलाई सूचना प्रवाह गर्ने एवं संवेदनशील स्थितिको गाम्भीर्यतालाई तहगत सरकारबीच निरन्तर सूचना प्रवाह गर्ने जस्ता काममा जिल्ला र स्थानीय विपद् व्यवस्थापन समितिले प्रभावकारी भूमिका निर्वाह गर्नुपर्दछ।

विपद् जोखिमका क्षेत्रहरूको अवस्था र स्थितिबारे निरन्तर सूचना संकलन गरी ती क्षेत्रको निरन्तर निगरानी बढाउनुपर्दछ। विपद्बाट हुने तनाव न्यूनीकरण गर्न मनोपरामर्शको उपयोग गर्ने, विपद्पछि हुने संवेदनशील अवस्था न्यूनीकरण गर्न आमसंयन्त्र परिचालन गर्ने र आवश्यकता आकलन गरी थप सहयोगको आवश्यकताका लागि तहगत सरकारहरूले आफ्नो जिम्मेवारी वोध गर्नुपर्ने र नागरिक मञ्च, अभियन्ता, गैरसरकारी संस्था र स्वयंसेवकहरूलाई सक्रिय रूपमा परिचालन गर्नुपर्दछ।

नेपालमा विपद् पूर्वतयारीको सन्दर्भमा गर्नुपर्ने मुख्यकार्यहरुमा समुदायस्तरमा नियमित कृत्रिम अभ्यास, पर्याप्त र व्यवस्थित भण्डारण गृह, विपद् प्रतिरोधात्मक भौतिक संरचना, स्थायी र भरपर्दो सूचना प्रवाह, पूर्व चेतावनी प्रणाली, वैकल्पिक लाइफलाइन निर्माण तथा मर्मत सम्भार, नियमित तालिम, सेन्सेटाईजेशन लगायतका पर्दछन् । विपद् पूर्वतयारीका क्रियाकलापलाई विकास निर्माण र वातावरणीय अनुकूलन बनाइ अगाडी बढ्न सकिन्छ ।

विपद्को संवेदनशील अवस्थामा सुरक्षा निकायहरूको भूमिका महत्वपूर्ण हुने हुँदा समन्वयात्मक तरिकाले उद्धार र जोखिम न्यूनीकरणमा काम गर्नु र गराउनुपर्ने हुन्छ। भूकम्प, बाढी र पहिरो, हावा हुरी, चट्याङ, दुर्घटना र आगलागीबाट प्रभावितहरूको स्थिति हेरी घाइतेहरूलाई प्राथमिक उपचारका लागि सुरक्षित स्थानमा राख्ने अशक्त भएकालाई चाँडो सुविधा सम्पन्न अस्पतालमा लाने व्यवस्था मिलाउनुपर्दछ। संकटपूर्ण अवस्था आउन नदिन विश्व साझेदारीको उपयोग गर्न सकिन्छ।

विपद् जोखिम न्यूनीकरण तथा उद्धारका साधनहरूको उचित व्यवस्थापन गरी जोखिम र विपद्लाई काबुमा राख्न प्रतिकार्य कामको जिम्मेवारी तोकी प्रत्येक कामका लागि सम्पर्क व्यक्ति तोक्ने र सम्पर्क गर्ने, सञ्चारका साधनको पहुँचलाई सरल बनाउनु आवश्यक छ। संवेदनशील अवस्थामा तहगत सरकार र अन्य क्षत्रको सहयोग लिइ अति संकटको अवस्थामा जान दिनु हुँदैन।प्राकृतिक विपद्प्रति होसियारी र जनसचेतना, विपद् जोखिम चक्रको ज्ञान, संरचनागत रणनीतिसहित तयारी गरी सबैको सक्रियताबाट जोखिम न्यूनीकरणमा जोड दिन आवश्यक छ।

मानवीय विपद्मा जोखिम कम गर्न मुख्यतः पूर्वाधारका संरचना मानवमैत्री बनाउने, वातावरण संरक्षणमा जोड दिने, प्राकृतिक चक्रमा अवरोध नगर्ने, आनीबानीमा सुधार, प्राविधिक ज्ञानको मापदण्डको पालना र प्रकृति प्रेममा जोड दिने, जलवायु परिर्वतनबाट हुने विपद् जोखिम कम गर्न आनीबानीमा सुधार गर्नुपर्छ।

मानवीय संशाधनको क्षमता अभिवृद्धि तथा तिनको स्तरीकरण गर्नु पर्दछ विपद् जोखिम न्यूनीकरण र व्यवस्थापनका सबै चरण र क्षेत्रहरु जस्तै पूर्वतयारी, प्रतिकार्य, पूर्ननिर्माण, पूर्व सूचना प्रणाली, विपद् निवारण तथा यससँग सम्बन्धित नवीन प्रविधि अनुकुलका विशेषज्ञको विकास, स्तरीकरण तथा तिनको परिचालन गरिनु आवश्यक छ । विपद् जोखिम न्यूनीकरण र व्यवस्थापनलाई संकटासन्न समुह जस्तै महिला, बालबालिका, शारीरिक रुपले असक्त, वृद्ध वृद्धा मैत्री बनाउनु अति आवश्यक छ ।सरकार वा गैर सरकारी संस्थाले सँधै, सबै गरिदिन्छन् भन्ने सोचमा परिवर्तन आउनु आवश्यक छ । समुदाय, व्यक्ति, राजनीतिक व्यक्ति तथा निर्णयकर्ता सबैमा विपद् जोखिम सम्बन्धि सचेतना हुनु आवश्यक छ ।विपद् जोखिम न्यूनीकरण र व्यवस्थापनमा क्षेत्रीय सहयोग, समन्वय र सिकाई अति आवश्यक छ ।

 

निष्कर्ष

विपद एक वहुआयामिक प्रकृया हो ।विपद् जोखिम न्यूनीकरण र व्यवस्थापनका सबै चरणहरु जस्तै पूर्वतयारी, पूर्व सूचना प्रणाली, प्रतिकार्य, पूर्ननिर्माण, विपद् निवारण तथा यससँग सम्बन्धित नवीन प्रविधि अनुकुलका विशेषज्ञको विकास, स्तरीकरण तथा तिनको परिचालन गरिनु आवश्यक छ। यसका लागि शासकीय व्यवस्थापनका सवै तह र पात्रहरु ल्गायत रेडक्रस र अन्य विपद्का क्षेत्रमा कार्यरत संघसंस्थाहरुवीच उचित समन्वय र सहकार्य हुनु आवश्यक छ । यसो भएमा नेपालमा विपद् व्यवस्थापनको क्षेत्रमा अपेक्षित नतिजा प्राप्त हुनेमा आशावादी हुन सकिन्छ ।

(उप्रेती कोष तथा लेखा नियन्त्रक कार्यालय मोरङका प्रमुख हुन् ।)

civil hospital
Hams Hospitals