समाज र नेतृत्वको जन्मका बीचमा परिपुरक सम्बन्ध
वि.सं.२०८१ माघ २२ मंगलवार
shares
नेतृत्व उद्देश्य पूर्तिका लागि आफ्नो मातहतमा रहेका व्यक्तिहरूलाई उत्साहपूवर्क कार्य गर्न प्रभावित गर्ने प्रक्रिया हो । नेतृत्व व्यवस्थापनको महत्वपूर्ण कार्य हो । कुशल नेतृत्वबिना संगठनको व्यवस्थापन अपुरो र अधुरो हुन्छ ।कुशल नेतृत्व बिनाको संगठन मियोबिनाको दाई सरह हुन्छ संगठन सफल र सुचारु रूपमा सञ्चालनका लागि व्यवस्थापकले कुशल नेतृत्व अपनाएको हुनुपर्छ । त्यसका लागि नेतामा पर्याप्त बौद्धिक क्षमता, दूरदर्शिता, नैतिकता र मिलनसार व्यवहार हुनु जरूरी हुन्छ । नेतृत्व लिने व्यक्तिमा अरूलाई प्रभाव पार्न सक्ने र समग्र संस्थालाई सफलताको मार्गमा डो¥याउन सक्ने विशिष्ट खुबी हुन जरूरी छ । नेतृत्व दिने नेता सक्षम तथा दूरदर्शी हुनुका साथै प्रभावकारी व्यक्तित्व हुनुपर्छ ।नेपालका राजनीतिक दल गुटगत स्वार्थको नेतृत्वभन्दा माथि उठ्न सकेका छैनन् । त्यो नभई राष्ट्रको नेतृत्व गर्न सक्ने नेतृत्व विकास हुन सक्दैन । नेपालमा आजसम्म मुलुकको सर्वाङ्गिण विकासका लागि चाहिएको सही नेतृत्व कस्तो हो भन्ने सबालमा बहस हुन सकेको छैन ।
नेतृत्वअन्तर्गत नेता र अनुयायीहरूबीच अख्तियारको असमान वितरण हुन्छ । नेताले अनुयायीहरूलाई निर्देशन गर्छ भने अनुयायीहरूले नेताको निर्देशनको पालना गर्छन् । तर, अनुयायीहरूले नेताको क्रियाकलापलाई निर्देशित गर्न सक्तैन । नेतृत्व एक निरन्तर चलिरहने प्रक्रिया हो जसमा नेता र अनुयायीहरूबीच नियमित सञ्चार आवश्यक हुन्छ । नेतृत्व भनेको निर्धारित लक्ष्यहरू हासिल गर्न अनुयायीहरूलाई निरन्तर रूपमा निर्देशित गर्ने, मार्गदर्शन गर्ने र प्रभाव पार्ने प्रक्रिया हो । नेतृत्व सदैव खास परिस्थितिसँग सम्बन्धित हुन्छ । कुनै विशिष्ट नेतृत्व शैली कुनै परिस्थितिमा सफल हुन्छ भने अर्को परिस्थितिमा असफल पनि हुन सक्तछ । त्यसैले नेताले परिस्थितिअनुकूल उपयुक्त नेतृत्व अपनाउनुपर्छ । विभिन्न परिस्थितिमा अनुयायीहरूले नेताको तानाशाही व्यवहार पनि स्वीकार गर्छन् भने अर्को परिस्थितिमा सहभागिता नेतृत्व शैली मात्रै प्रभावकारी हुन सक्तछ । नेतृत्वको अर्को विशेषता हो कार्य सम्बन्ध स्पष्ट हुनु । नेता र अनुयायीहरूले सङ्गठनमा गर्नुपर्ने काम र त्यसको सम्बन्ध स्पष्ट हुनुपर्छ । उनीहरूको एउटै उद्देश्य हुनाले सो हासिल गर्नका लागि नेता र अनुयायीहरू–बीचको कार्यगत सम्बन्ध निश्चित गर्नुपर्छ । नेताले आफ्नो कार्यसम्पादन गर्नुका साथै अनुयायीहरूलाई सुम्पेको कार्य गर्नमा उनीहरूलाई उत्साहित र आकर्षित गर्छ । समूहबाट नेतृत्व लिनका लागि नेताको आचरण, व्यवहार, योग्यता उदाहरणीय हुनुपर्छ । आफ्ना अनुयायीहरूबाट विश्वास प्राप्त गर्न उसले अनुकरणीय आचरण, विशेष क्षमता र दक्षताको प्रदर्शन गर्न सक्नुपर्छ । उसको आचरणबाट अनुयायीहरूले सिक्ने, प्रोत्साहित हुने र प्रभावित हुने स्थितिको सिर्जना हुन सकोस् ।
नेतृत्वबिना समग्र संगठनको उद्देश्य हासिल गर्न विभिन्न कार्य, विभिन्न तहगत लक्ष्य र विभिन्न व्यक्तिगत लक्ष्यबीच समन्वय ल्याउन सकिँदैन । संस्थालाई सही मार्गतर्फ डो–याउन नेतृत्वको महत्वपूर्ण भूमिका रहन्छ । नेतृत्व प्रभावकारी हुन जरूरी छ । यदि नेतृत्व गतिहीन तथा अक्षम भयो भने संस्थालाई मार्गदर्शन दिन सक्दैन । नेतृत्व लिने व्यक्तिमा अरूलाई प्रभाव पार्न सक्ने र समग्र संस्थालाई सफलताको मार्गमा डो–याउन सक्ने विशिष्ट खुबी हुन जरूरी छ । त्यसैले व्यवस्थापक एक कुशल नेता हुनु अनिवार्य छ । व्यवस्थापकले मातहतका कर्मचारीहरूमा आत्मविश्वास र काम गर्ने भावना जगाउन सक्नुपर्छ । उसले सङ्गठनात्मक लक्ष्यतर्फ मानिसको प्रयास लगाउन निर्देशित गर्छ, उत्प्रेरित उत्साहित गर्छ । एउटा नेता व्यवस्थापक हुन वा नहुन पनि सक्छ तर व्यवस्थापक नेता हुनैपर्छ । नेतृत्व एक महत्वपूर्ण व्यवस्थापकीय कार्य हो । कुशल तथा प्रभावकारी नेतृत्वको अभावमा संगठनात्मक उद्देश्य प्राप्त गर्न सम्भव हुँदैन । कुशल नेतृत्वबिनाको संगठन मियोबिनाको दाई सरह हुन्छ । नेतृत्व दिने नेता सक्षम तथा दूरदर्शी हुनुका साथै प्रभावकारी व्यक्तित्व हुनुपर्छ । त्यसैले भनिन्छ, संगठनात्मक लक्ष्य हासिल गर्नका लागि संस्थालाई नेतृत्व दिने व्यवस्थापक असल नेतामा हुनुपर्ने गुणयुक्त हुनुपर्छ । यसप्रकार नेतृत्व नेताद्वारा अनुयायीहरूलाई प्रभाव पार्ने एक कला हो । संगठनात्मक लक्ष्यप्राप्तिका लागि नेतृत्वको अहम् भूमिका हुन्छ । कुनै पनि संगठन सफल र सुचारु रूपमा सञ्चालनका लागि व्यवस्थापकले कुशल नेतृत्व अपनाएको हुनुपर्छ । त्यसका लागि नेतामा पर्याप्त बौद्धिक क्षमता, दूरदर्शिता र नैतिकता र मिलनसार व्यवहार हुनु जरूरी हुन्छ ।
नेता प्रभावशाली हुन जरुरी छ । आफ्नो कुरा राम्ररी राख्न सक्ने, आफूलाई लेखेर वा बोलेर अभिव्यक्त गर्न सक्ने नेता प्रभावशाली नेता हुन। प्रभावशाली नेताले आफूलाई सजिलै जनतासँग जोड्न सक्छ । आफ्नो संगठन तथा विपक्षलाई समेत विश्वासमा लिन सक्छ । सबैको सम्मान गर्ने, अरूको अस्तित्व स्विकार्न सक्ने नेतृत्वले सधैँ अरूको साथ पाउँछ । अरूको भावना बुझ्न सक्ने, आफ्नो भिजनमा स्पष्ट देखिने, आफ्नो ऊर्जा अनि विश्वासलाई अभिव्यक्त गर्न सक्ने व्यक्ति नै नेता बन्न सक्छ । आफ्नो सपनालाई फैलाउन सक्छ । आफ्ना सहकर्मीलाई विश्वास गर्ने, उनीहरूका क्षमताबमोजिम जिम्मेवारी दिन सक्ने, उनीहरूलाई सुन्ने र तिनका भावना तथा आवश्यकताप्रति संवेदनशील हुन सक्ने नेतृत्व नै हाम्रो जस्तो लोकतान्त्रिक मुलुकको आवश्यकता हो । निर्णय क्षमता‚ इच्छाशक्ति‚ सही र गलत छुट्टाउन सक्ने खुवी‚ विषयबस्तुको राम्रो ज्ञान‚ परिस्थिति अनुरुप आफ्नो कार्यनीति र कार्यशैलीमा परिवर्तन गर्ने लचकता‚ सच्चरित्रता‚ केही गर्नुपर्दछ भन्ने उत्साह‚ आत्मबिश्वास‚ स्वत्याग‚ निष्पक्षता‚ धैर्यता आदि असल नेतृत्वका गुण हुन् । नेतामा स्पष्ट भिजन हुनुपर्छ । उसले स–साना व्यवस्थापनका कुराहरू बुझ्न जरुरी छ । आफ्ना गल्ती अनि कमजोरीहरु औंल्याएको मा धन्यवाद दिने र स्वीकार गर्ने गुणलाई राजनेताको प्रथम गुणका रुपमा लिइन्छ ।ईमान्दारीताले अरुहरुको बिश्वास जित्न अनि चरित्र बनाउन पनि मद्धत गर्दछ तर राजनितीमा ईमान्दारीताको सही अनि ईमन्दार उपयोग जरुरी छ ।ईमान्दार नेताहरु हक्की, निडर अनि आफ्ना वरिपरिका मान्छेहरुवाट अत्याधिक आदर पाँउने खाले हुन्छन् । ईमान्दार नेताहरु गल्तीको साहसीक जिम्मेवारी आँफैले लिने हुन्छन भने अरुहरुलाई आरोप लगाउने खालका हुँदैन।समाज अनि राष्ट्रका औसत व्यक्तिको पीडा बुझेर त्यसअनुरुप कार्य गर्दै पीडा हटाउन अनि मुद्धाहरु सम्बोधन गर्न नेतृत्वमा दयालुपना हुन जरुरी हुन्छ ।नेतालाई नेतृत्व गर्नका लागि बिचारले अरुहरु वाट अलग्ग बनाँउदछ । नेता र नेता बीचको फरक भनेकै उनीहरुको बिचार को फरकपना हो । यस्ता बिचारहरुमा नैतिकता र समानता र पारदर्शिताहरु प्रधान रहन्छन । बिचारप्रधान राजनेताहरु अझ धेरै बिश्वासयोग्य हुन्छन किनकि उनीहरुलाई व्यक्तित्व भन्दा पनि बिचारले बिश्वसनीय बनाँउदछ । बिचारलाई उजागर गर्दै धारणालाई प्रमाणीत गर्दै सामान्य जीवनशैली बिताउने नेताको बिश्वसनीयता बढि हुन्छ ।नेतृत्वले आफु र आफ्नो नेतृत्वकला दुबैमा बिश्वास गर्न र जगाउन जरुरी हुन्छ । आत्मबिश्वास भाषन या घोषणापबले मात्र देखाउदैन, आत्मबिश्वास बिचार, जुझारुपना अनि ससाना व्यबहारले देखाँउदछ ।
नेतृत्व गर्ने व्यक्तिले सही निर्णय सही समयमा लिन सक्नुपर्छ । धेरै मानिस निर्णय गर्न नसक्नुको कारणले गर्दा जीवनमा धेरै पछि परिरहेका हुन्छन् । मानिस कुनै पनि महत्वपूर्ण निर्णय गर्दा धेरै जनासँग सल्लाह लिइरहेको हुन्छ । आवश्यक र अनावश्यक सल्लाह लिइरहँदा मानिस आफैं भ्रमित भई सही निर्णय लिन सक्दैन । त्यसैले सही निर्णय मानिसले आफ्नो अनुभवबाट सिकेर तथा सही व्यक्ति (जो जुन विषयमा निपुण छ) सँगबाट प्राप्त भएको सल्लाहलाई विचार गरेर मात्र लिनुपर्छ । निर्णय गर्ने क्षमताले नै नेतृत्वलाई गति दिन्छ । नेताले निर्णय प्रक्रियामा आफ्नो टिमलाई सामेल गराउन सक्नुपर्छ । आज हाम्रा उपलब्धिहरू अलपत्र पर्ने खतरा छ, किनकि त्यसको अपनत्व लिने नेतृत्व छैन । तसर्थ, आज देशले निर्णयहरूको स्वामित्व लिन सक्ने अनि त्यसमा अन्य पक्षलाई समेत सामेल गर्न सक्ने नेतृत्व खोजिरहेको छ । नेतृत्वले सामूहिक भाव जगाउन सक्नुपर्छ । अन्य पक्षलाई सामेल गराउन नसक्नाले पनि नेताहरू प्रायः एक्लिँदै जान्छन् । जसले गर्दा सहकर्मी, कर्मचारी तथा आमनागरिकले उनीहरूको निर्णयमा अपनत्व महसुस गर्नै सक्दैनन् । त्यसैले नेताका निर्णयहरू कार्यान्वयन हुन सक्दैनन ।निर्णय गर्न सक्ने क्षमता कुशल नेतृत्व गर्नका लागि चाहिने महत्वपूर्ण गुण हो । नेतामा आफूलाई प्राप्त अधिकार तथा शक्ति प्रयोग गर्ने क्षमता हुनुपर्छ । अधिकार तथा शक्ति प्रयोग गर्न नसक्ने व्यक्तिले मातहतका कर्मचारीहरूलाई नेतृत्व प्रदान गर्न सक्तैन । मानिसको आवश्यकता, चाहना, भावना तथा व्यवहार फरक–फरक हुन्छ । तर पनि नेतामा कर्मचारीको त्यस्तो मनोवैज्ञानिक पक्ष पनि बुझ्न सक्ने क्षमता हुनुपर्छ । आफ्ना अनुयायीको लोकप्रिय बन्न सक्नु पनि नेतामा हुनुपर्ने महत्वपूर्ण गुण हो । सच्चा, इमानदार, निष्ठावान्, लगनशील भई अनुयायीहरूलाई उत्साहित गर्न सक्नुपर्छ । अनिमात्र कर्मचारीबाट पूर्ण क्षमतामा काम लिन सकिन्छ । नेता योग्य तथा क्षमतावान् हुनुपर्छ । परिवर्तित परिस्थितिअनुसार सफलतापूर्वक काम गर्न सक्ने भएमा मात्र नेताले सफल नेतृत्व दिन सक्छ । नेता काममा विश्वास राख्ने हुनुपर्छ । संस्थाको उद्देश्य प्राप्तिका लागि कर्मचारीहरूलाई परिचालन गर्नमा नेतृत्वको भूमिका सर्वोपरि हुन्छ । सबै व्यक्ति तथा व्यवस्थापकमा नेतृत्व क्षमता समान रहँदैन । कुनै व्यक्ति आफ्नो कार्यमा सफल हुन्छ भने कतिपय व्यक्तिहरू लक्ष्य प्राप्तिमा असफल हुन्छन् । कुशल व्यवस्थापक हुनका लागि उसमा नेतृत्व क्षमता हुनुपर्छ । नेतृत्व क्षमताका लागि व्यवस्थापकमा केही मूलभूत गुण हुनुपर्छ । मानव व्यवस्थापनमा नेतृत्वले महत्वपूर्ण भूमिका निर्वाह गर्छ । शक्तिको प्रयोग नगरीकन आफ्ना अनुयायीहरूबाट अपेक्षित कार्यहरू गराउने क्षमता नै नेतृत्व हो ।
एक कुशल नेतामा आकर्षक व्यक्तित्व तथा प्रसन्न मुद्रा हुनुपर्छ । ऊ मानसिक तथा शारीरिक दृष्टिले स्वस्थ एवं सुदृढ हुनुपर्छ । उसमा शान्त स्वभाव, बोल्ने क्षमता र उचित व्यवहार गर्ने क्षमता हुनुपर्छ । साथै उसमा कडा परिश्रम गर्ने जाँगर तथा फूर्ति हुनुपर्छ । एउटा कुशल नेतामा अगुवाइ र पहल गर्ने क्षमता हुनुपर्छ । व्यवसायको वातावरणमा अत्यधिक अनिश्चितता तथा जटिल हुनाले नेताले निर्णयहरू शीघ्र गर्नुपर्ने हुन्छ । त्यसैले कुशल नेतामा शान्तपूर्वक समस्याहरूको सामना गर्न आत्मविश्वास, कल्पनाशक्ति, सिर्जनात्मक क्षमता र साहस हुनुपर्छ । एउटा कुशल नेताको स्वभाव सन्तुलित हुनुपर्छ । यसका लागि नेताले आवेग, अस्थिरता र निराशाजस्ता संवेगहरू त्यागी सहिष्णुताको विकास गर्नुपर्छ । समस्याको सामना गर्नुपर्दा जहिले पनि ऊ उत्साही र प्रसन्न रहनुपर्छ । कुनै पनि नेता सफल नेता बन्नका लागि उसको स्वभाव लोचदार हुनुपर्छ । आवश्यकतानुसार अरूका विचारलाई स्विकारेर आफ्नो विचारलाई परित्याग गर्न पनि तयार हुनुपर्छ । हरेक क्षेत्र द्रुतगतिमा परिवर्तन भइरहेको अहिलेको परिस्थितिमा लोचदार नीति अपनाउनु महत्वपूर्ण मानिन्छ । एउटा कुशल नेतामा जिम्मेवारीको भावना हुनुपर्छ । आफूले गरेका सम्पूर्ण निर्णयहरूको जिम्मेवारी आफैंले बहन गर्नुपर्छ । साथै आफ्ना अनुयायीहरूले गरेका क्रियाकलापहरूको जिम्मेवारी पनि बहन गर्नुपर्छ । सहायकहरूले उसलाई विश्वास गर्न ऊ विश्वासिलो हुनुपर्छ । कुशल नेता विश्वासिलो हुनुपर्छ जोप्रति सहायकहरू भर पर्न सकून् । उसले परिणामका लागि उत्तरदायित्व वहन गर्न तत्पर रहनुपर्छ । नेता चरित्रवान् हुनुपर्छ । नेताको सच्चरित्रले अनुयायीहरूको सामु अनुकरणीय उदाहरण प्रस्तुत गर्न सक्नुपर्छ । उसको आचरण र व्यवहार स्वच्छ हुनुपर्छ । उसको क्रियाकलाप र मनोवृत्ति नैतिक रूपमा समर्थनीय हुनुपर्छ । यसका साथै ऊ इमान्दार तथा शिष्ट हुनुपर्छ । यसले अनुयायीहरूमा आत्मविश्वास सिर्जना गर्छ । नेता एक्लैले संगठनात्मक क्रियाकलाप सञ्चालन गर्न सक्दैन । उसले अनुयायीमार्फत विभिन्न क्रियाकलापहरू सम्पादन गराउनुपर्ने हुनाले नेता अनुयायीहरूसँग निकट हुनुपर्छ । अनुयायीहरूको विचार, भावना, सोंच र दृष्टिकोणलाई बुभझ्न सकेमा मात्र नेता सफल बन्न सक्छ । नेतामा व्यक्तिगत लक्ष्य र स्वार्थलाई त्यागेर संगठन र संगठनात्मक लक्ष्यप्रति आफूलाई समर्पित गर्ने गुण हुनुपर्छ । उसले व्यक्तिगत र अनौपचारिक क्रियाकलापभन्दा सामूहिक र अनौपचारिक कार्यहरूमा केन्द्रित हुनुपर्छ । नेता सामूहिक हितका लागि समर्पित भएमा निश्चय नै उसले अधिनस्थ कर्मचारीलाई पनि संगठनप्रति समर्पित गराउन सक्छ । नेतृत्व गर्ने मानिसले आफ्नो क्षमता हेरेर जोखिम उठाउनुपर्ने हुन्छ, तर धेरै मानिस कपोलकल्पित डरका कारण निर्णय गर्दैनन् । नेतृत्व क्षमतालाई वृद्धि गर्न डरको उचित प्रबन्धन गर्नु जरुरी छ । कुनै पनि निर्णय गर्दा पूर्ण रूपमा सचेत अवस्थामा रही निर्णय गर्नुपर्छ, न कि डरका कारणले आतंकित भएर ।नेतृत्वमा हुने सबैभन्दा महत्वपूर्ण क्षमता भनेको मानिस र मानिसको भावनालाई बुझ्न सक्नु हो ।
समाज र नेतृत्वको जन्मका बीचमा परिपुरक सम्बन्ध रहेको हुन्छ । समाज जस्तो छ, त्यस्तै किसिमको नेतृत्व हामीले पाउने हो । हामी कस्ता छौं, हामो समाज कस्तो छ त्यही अनुसारको नेता हामीले पाउने हो । नेतृत्वले तीन तरिकाबाट जन्मन्छ । एउटा हो जन्मदैको अविछिन्न गुण र अद्वितीय शक्ति । केही मानिसहरु जन्मँदै यस्तो विलक्षण गुणले सजिएका हुन्छन्, उनीहरुमा आत्मिक रुपमा यस्तो गुण समायोजित भएर आएको हुन्छ । ब्यक्तित्व, बोली र ब्यवहारले अरुलाई सम्मोहित पार्न सक्दछन । अर्को हुन्छ– करिश्मा । करिश्मा मेहनत र परिश्रमबाट बनेको हुन्छ । मान्छे हेर्दा नराम्रो, लुरे, दुर्बल हुनसक्छ । तर, उसले धेरैलाई तरंगित बनाउन सक्दछ । जस्तैः महात्मा गान्धी, अब्राहम् लिंकन आदिलाई यस श्रेणीमा राख्न सकिन्छ । तेस्रो हो– कानूनी वैधानिकता । नेतृत्वको स्रोत पनि कानूनी वैधानिकता नै हो । तर, कानूनी वैधानिकताले मात्र माथिका दुईवटा गुणको अभाव भएको ब्यक्ति वास्तविक नेता बन्न सक्दैन । अहिले वास्तविक नेता जन्मन नसकेको मुख्य कारण पनि कानूनी वैधानिकताबाट मात्र नेता जन्मन्छ भन्ने चिन्तन नै हो ।
नेपालमा राजनीतिमा लागेका नेताहरुको सबैभन्दा ठूलो समस्या उनीहरू लगानीकर्तामा परिणत भए । नेताहरू नै होटल, ट्राभल एजेन्सी, अस्पताल, विद्यालय, उद्योग, हाइड्रोपावर, बैंक र ठूला सहकारीहरु च्लाउने , आफ्नो पेशालाई बढी लाभ दिनेगरी नीति र नियम बनाउन तल्लिन छन् । विभिन्न पेशाका ठेकेदार, ब्यापारी वा विभिन्न लाभका क्षेत्रमा ब्यवसायिक बनेकाहरुलाई नेता बनाउने होड सबै राजनीतिक दलमा प्रवेश गरेको अवस्था विधमान छ । यसले राजनीतिलाई भविष्यमा दुषित बनाउने कुरा निश्चित छ । नेता भन्नासाथ भ्रष्ट ब्यक्तिका रुपमा चित्रित हुन थालेका छन् । नेपालमा मात्रै राजनीतिमा आकर्षण देखिन्छ । नेताको पदवी पाउन मानिसहरु मरिहत्ते गरेर लागेको देखिन्छ । तर, संसारभरि राजनीतिप्रति विकर्षण छ । किनभने, राजनीति गर्नु भनेको निक्कै ठूलो त्याग गर्नु हो । राजनीति रोज्नु भनेको व्यक्तिगत हितको सट्टा सार्वजनिक लाभका लागि काम गर्नु हो । त्यसैले संसारभरमा राजनीति कठिन त्यागको विषय बनेको छ । तर, नेपालमा राजनीति लाभ र भ्रष्टाचारको अवसरका रुपमा विकास भएको छ । २१औँ शताब्दीको अबको नेतृत्वको सफलताको मापन त्यागले मात्रै गर्न सकिँदैन । नेताको योगदान, नेताले लिएको निर्णयको दूरगामी असर र त्यसले आममानिसको जिन्दगीमा ल्याउने प्रभावसमेत हेरेर नेतृत्वको मूल्यांकन गर्न आवश्यक छ ।
(उप्रेती नेपाल सरकारका उपसचिव हुन् ।)




























