बाफिया २०७३ को कार्यान्वयनमा दोहोरो मापदण्ड : नियमभन्दा माथि बैंकका सीईओहरू ?

वि.सं.२०८२ वैशाख ११ बिहीवार
shares

बैंक तथा वित्तीय संस्था ऐन, २०७३ (बाफिया) ले स्पष्ट रूपमा व्यवस्था गरेको छ कि कुनै पनि कार्यकारी प्रमुख (सीईओ) को कार्यकाल अधिकतम दुई कार्यकालसम्म मात्र सीमित हुन्छ। यस ऐनको धारा अनुसार उक्त प्रावधान बाफिया लागू भएको मितिदेखि नै कार्यान्वयनमा आउने हो। यसबारे उच्च अदालत पाटनले समेत स्पष्ट व्याख्या गरिसकेको छ — सीईओहरूको कार्यकालको गणना बाफिया लागू भएको मितिदेखि गरिनुपर्ने र यसअघि गरिएको कार्यकाल यस अन्तर्गत नपर्ने।
तर हाल देखिएको परिस्थिति निकै गम्भीर र नियमनविपरीत देखिन्छ। कतिपय सीईओहरू यस प्रावधानलाई छल्ने प्रयासमा छन्, र नेपाल राष्ट्र बैंकको कानूनी विभागसमेत उनीहरूको प्रभावमा परी बाफियाको गलत व्याख्या गर्न थालेको भन्ने चर्चा व्याप्त छ। यदि नेपाल राष्ट्र बैंक साँच्चिकै बाफियालाई प्रभावकारी ढङ्गले कार्यान्वयन गर्न चाहन्छ भने, ऐन लागू भएको मितिदेखि नै कार्यकालको गणना गर्नुपर्नेछ, जुन उच्च अदालत पाटनको आदेशसँग मेल खाने कुरा हो।
अझ अचम्मको कुरा त के छ भने — यदि बाफिया लागू भएको मितिदेखि नै कार्यकालको गणना हुनुपर्ने हो भने, श्री अशोक शेरचनज्यूको पदावधि पनि समाप्त भइसकेको हुनुपर्ने हो। त्यसो हुँदा, राष्ट्र बैंकले उनीविरुद्ध सर्वोच्च अदालतमा गएको स्टे अर्डर खारेज गर्न किन पहल गरेन? यसले शङ्काको घेरो अझै बढाएको छ।
यसै सन्दर्भमा, हिमालयन बैंक लिमिटेड (HBL) र नेपाल इन्भेष्टमेन्ट मेगा बैंक (NIMB) ले राष्ट्र बैंकलाई पत्र लेखी बाफिया २०७३ अन्तर्गत कार्यकारी प्रमुखको कार्यकालसम्बन्धी स्पष्ट व्याख्या मागेका छन्। यदि राष्ट्र बैंक आफैँ स्पष्ट छ भने, किन ढिलो गर्दैछ जवाफ दिन? जुन कुरा कानून र अदालतको आदेशले स्पष्ट नै गरिसकेको छ, त्यसमा ढिलासुस्ती गर्नुको कारण के हो?
राष्ट्र बैंकबाट समयमै स्पष्ट उत्तर नआएपछि दुवै बैंकका सीईओहरू अन्योलमा छन्। राष्ट्र बैंकको कानूनी विभागमा आवश्यक दृढता र निष्पक्षता नहुनुका कारणले यस्तो भ्रम उत्पन्न भएको हो कि भन्ने आशङ्का बढ्दो छ। कतै यी निकायहरू स्वार्थपूर्ण चलखेलमा संलग्न त छैनन्?
कुनै पनि कानून जुन मितिमा लागू हुन्छ, त्यसै मितिबाटै कार्यान्वयनमा जानुपर्छ भन्ने कुरामा कुनै द्विविधा छैन। राष्ट्र बैंकले यदि बाफियाको सही कार्यान्वयन गर्न चाहन्छ भने, राजनीतिक वा व्यक्तिगत प्रभावमा नपरी ऐन र अदालतको आदेशअनुसार निष्पक्ष निर्णय लिनुपर्छ। अन्यथा यसले राष्ट्र बैंकको विश्वसनीयता र निष्पक्षतामाथि गम्भीर प्रश्न उठाउनेछ।
हिमालयन बैंक र नेपाल इन्भेस्टमेन्ट मेगा बैंकले नेपाल राष्ट्र बैँकसँग स्पष्टता माग गर्दै पत्र पठाएका छन् । यदि राष्ट्र बैंकको जवाफ वाफियाकै प्रावधान अनुरुप गर्नुपर्ने भन्ने आएको खण्डमा यी दुई बैँकका सिईओ पद अर्कोलाई हस्तान्तरण गरेर बाहिरीने तयारीमा छन् । अब राष्ट्र बैंकले शेरचन लगायतको पद जोगाउन नियमको सहि व्याख्या गर्छ या अपब्याख्या गर्दै नीति नियमको खिल्ली उँडाउछ त्यो हेर्न बाँकी छ।