गृह मन्त्रालयद्वारा ६ प्रमुख जिल्ला अधिकारीहरूको सरुवा, प्रशासनिक व्यवस्थापनको सन्तुलनमाथि प्रश्न
वि.सं.२०८२ जेठ १८ आइतवार
shares
काठमाडौँ। गृह मन्त्रालयले बर्दिया, कास्की, धनुषा र पाँचथर जिल्लासहितका केही प्रमुख जिल्ला अधिकारी (सिडिओ)हरूको सरुवा गरेको छ। मन्त्रालयले समयावधि पूरा भएका र कार्यसम्पादनमा आवश्यक ठानेका अधिकारीहरूको जिम्मेवारी पुनः हेरफेर गरेको हो।
प्रशासन सिंहदरबार विशेष ब्युरो स्रोतका अनुसार बर्दियाकी प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मालाई कास्की पठाइएको छ भने कास्कीका सिडिओ भरतमणि पाण्डे मन्त्रालयमा तानिएका छन्। शर्माको ठाउँमा अतिरिक्त समूहमा रहेका सुरेन्द्र पौडेललाई बर्दियाको जिम्मेवारी दिइएको छ।
धनुषाका प्रजिअ रामु राज कडरियालाई पनि मन्त्रालयमा तानिएको छ भने केही समयअघि सुर्खेतबाट तानिएर मन्त्रालयमा कार्यविहीन बनेका शंकरहरि आचार्यलाई धनुषाको सिडिओ बनाइएको छ।
त्यस्तै, पाँचथरमा रिक्त रहेको प्रमुख जिल्ला अधिकारीको पदमा सहसचिव अरुण पोखरेललाई खटाइएको छ। पोखरेल यसअघि नवलपरासी (पूर्व) बाट मन्त्रालयमा तानिएका थिए। पाँचथरका सिडिओ विष्णु प्रसाद कोइराला अध्यागमन कार्यालय, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सरुवा भएपछि उक्त पद रिक्त भएको थियो।
यद्यपि, सहसचिवहरूको जिम्मेवारी हेरफेर भइरहँदा करिब एक दर्जन सहसचिवहरू कार्यविहीन अवस्थामा मन्त्रालयको बरन्डामा रहेको भन्दै आलोचना चुलिएको छ। उनीहरू महिनौँदेखि नियमित हाजिरी गरे पनि कुनै जिम्मेवारी नपाई घर फर्किने अवस्थामा छन्।
यसैबीच, पहुँचवाला उपसचिवहरूलाई सहसचिवको दरबन्दीमा खटाएर वास्तविक सहसचिवहरूलाई निष्क्रिय राखिएको भन्दै प्रशासनिक पारदर्शिता र कार्यकुशलतामाथि गम्भीर प्रश्न उठिरहेको छ।
हालको कानुनअनुसार लामो समयसम्म कुनै पनि कर्मचारीलाई जिम्मेवारीविहीन राख्न नपाइने प्रावधान रहेको भए पनि कर्मचारी अभावका कारण कतिपय ठाउँमा सेवा प्रवाहमा समस्या देखिएको समाचार आइरहेका छन्।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले पटक–पटक निर्देशन दिए पनि गृह मन्त्रालयले त्यस्ता निर्देशनको पालना नगरेको भन्दै आलोचना भइरहेका छन्।
प्रशासनिक सन्तुलन, कानुनी प्रावधानको पालना र सेवा प्रवाहलाई प्रभावकारी बनाउन कर्मचारी व्यवस्थापनमा सुधारको खाँचो देखिएको छ।

























