आज राष्ट्रिय धान दिवस र दही चिउरा खाने पर्व

1.3K
shares

काठमाडौं।आज देशभर राष्ट्रिय धान दिवस तथा दही चिउरा खाने पर्व उत्साहपूर्वक मनाइँदैछ। हरेक वर्ष असार १५ गतेको दिनलाई किसानहरूले आफ्नो परिश्रमको आरम्भको रूपमा खेतमा पस्दै, दही चिउरा खाएर र असारे भाका गाउँदै मनाउने परम्परा रही आएको छ।

 

यस अवसरमा किसानहरू खेतमा रोपाईं गर्दै, शरीरलाई शक्ति र शीतलता प्रदान गर्ने विश्वाससहित दही चिउरा सेवन गर्छन्। कामको चटारोमा थकित भएका कृषकहरूका लागि यो परम्परा एक प्रेरणाको स्रोत मानिन्छ। खेतीपातीसँग सम्बन्ध नराख्ने धेरै नेपालीहरूले पनि आज दही चिउरा खाएर असार १५ को पर्व मनाउने चलन छ।

 

दहीलाई नेपाली समाजमा शुभताको प्रतीक मानिन्छ। घरबाट शुभकार्यका लागि निस्कँदा, यात्रा गर्दा वा विदेश जाने बेलामा दही र अक्षता मिसाएर निधारमा टीका लगाउने चलन अझै जीवित छ। दही खाएर यात्रा गरे शुभ साइत पर्छ भन्ने जनविश्वास रहिआएको छ। आयुर्वेदिक दृष्टिले पनि दही स्वास्थ्यका लागि लाभदायक मानिन्छ।

 

इतिहास अनुसार, गुरु गोरखनाथले पृथ्वीनारायण शाहलाई दही खुवाएर उनको पराक्रमको भविष्यवाणी गरेका थिए। यस्तै, आयुर्वेदले भोजनपछि दही मथेर बनाएको मोही पिउनु स्वास्थ्यका लागि उत्तम ठान्दछ।

 

धान दिवसको औपचारिक सुरुवात भने विसं २०६२ सालको असार १५ गतेदेखि गरिएको हो। २०६१ साल मंसिर २९ गते मन्त्रीस्तरीय निर्णयअनुसार यो दिनलाई राष्ट्रिय धान दिवसको रूपमा मनाउन थालिएको हो।

 

कृषिप्रधान देश नेपालमा असार महिनाको सुरुवातसँगै किसानहरू खेतमा व्यस्त रहन्छन्। आजको दिन खेतमा छुपु-छुपु हिलोमा धान रोप्दै, “छुपु र छुपु हिलोमा धान रोपेर छोडौँला…”जस्ता असारे भाकामा लोकदोहोरी गाएर रमाइलो गरिन्छ।

 

धेरै ठाउँमा रोपाहार युवती र लाठे युवकहरूले हिलो छ्यापाछ्याप गर्दै मनोरञ्जनमा रमाउँछन्। असारमा एक पटक हिलोमा पस्नैपर्ने सामाजिक मान्यता अझै बलियो देखिन्छ।

 

यसरी, राष्ट्रिय धान दिवस र दही चिउरा खाने पर्वले नेपाली कृषकको जीवनशैली, परिश्रम र संस्कृति झल्काउने महत्वपूर्ण अवसरको रूपमा आफूलाई स्थापित गरिरहेको छ।

civil hospital
Hams Hospitals