धादिङकी स्नेहा रुपाखेती मिस नेपाल नर्थ अमेरिका २०२५ को अन्तिम प्रतिस्पर्धाको लागि फाइनलमा
वि.सं.२०८२ असार २९ आइतवार
shares
उत्तर अमेरिकामा बसोबास गर्ने नेपाली सुन्दरीहरुको प्रतिष्ठित सौन्दर्य प्रतियोगिता ‘मिस नेपाल नर्थ अमेरिका २०२५’ को अन्तिम प्रतिस्पर्धामा धादिङकी स्नेहा रुपाखेतीले आफ्नो उपस्थिति जनाएकी छिन्। प्रतियोगिताको ग्रान्ड फिनाले आगामी अगस्ट ३ तारिख अमेरिकाको न्यूयोर्क सिटीमा आयोजना हुँदैछ।

सन् २०१८ देखि नियमित रूपमा आयोजना हुँदै आएको ड्रिम्स युनिभर्सलद्वारा आयोजित यस प्रतियोगिताको फाइनलका लागि १९ जना प्रतिस्पर्धीहरू अन्तिम चरणमा पुगिसकेका छन्। हाल उनीहरू पब्लिक च्वाइस अवार्ड जित्नका लागि भोटिङ अपिलमा व्यस्त छन्।
धादिङ जिल्लाको थाक्रे गाउँपालिका–११, महादेववेशी निवासी स्नेहा रुपाखेती हाल अमेरिकाको टेक्सास स्टेट युनिभर्सिटीमा सोसल मिडिया इनोभेसन विषयमा स्नातक अध्ययनरत छिन्। गत वर्ष उच्च शिक्षाका लागि अमेरिका गएकी उनी समाज परिवर्तनका लक्ष्यसहित सौन्दर्य प्रतियोगितामा होमिएकी हुन्।
स्नेहाका अनुसार उनको सहभागिता केवल सौन्दर्य प्रतिस्पर्धासम्म सीमित छैन। उनी भन्छिन्, ूम मेरो उपाधिको लडाइँ धादिङका चेपाङ समुदाय तथा रोडाढुङामा बाल्यकालमै सपना गुमाएका वालबालिकाको आवाज उठाउनका लागि लडिरहेकी छु।ू जनजागृति माध्यमिक विद्यालय, थाक्रेदेखि माध्यमिक शिक्षा हासिल गरेकी स्नेहाले बाल्यकालमै थुप्रै साथीहरू गरिबी र पारिवारिक समस्याका कारण स्कूल जान नपाएको, सानो उमेरमै काम गर्न बाध्य भएको अवस्थाको साक्षी बनेकी बताइन्।
उनले थप भनिन्, ूमेरो नजरमा आज पनि तिनीहरूको संघर्ष जीवित छ। म यो प्लेटफर्मबाट तिनीहरूको आवाज बन्न चाहन्छु र उनीहरूको सपना फेरि फर्काउन चाहन्छु।ू
फाइनल प्रतिस्पर्धामा स्नेहासँगै सहभागी अन्य प्रतिस्पर्धीहरू यसप्रकार छन्
आर्या आचार्य, अमिसा भण्डारी, आर्या कोइराला, विना श्रेष्ठ, दिपा गुरुङ, दिया श्रेष्ठ, हारा सङ सुवेदी, कृष्मा सुवेदी, कुसुम तिमल्सिना, मिङमा शेर्पा, मुना विष्ट, नविना लिम्बु, कुस्मिता खडका, प्रतिमा श्रेष्ठ, सबु बजिमय, संस्कृति पाण्डे, सरिता तामाङ र सुस्जेस्ता पौडेल।

प्रतियोगितामा परिचय राउन्ड, प्रश्नोत्तर चरण, र कला तथा प्रतिभा प्रस्तुतिका आधारमा उत्कृष्ट प्रतियोगीहरू छानिने छन्। विजेताले सिधै मिस नेपाल २०२५ मा सहभागी हुने अवसर प्राप्त गर्नेछिन् भने अन्य प्रतिस्पर्धीहरूले पनि विभिन्न उपाधि तथा पुरस्कार जित्ने छन्।
धादिङबाट अन्तर्राष्ट्रिय मञ्चमा प्रतिस्पर्धा गर्दै आएकी स्नेहाको यो अभियानले उनलाई व्यक्तिगत सफलतासँगै सामाजिक उत्तरदायित्वप्रतिको प्रेरणादायी पात्रको रूपमा स्थापित गरिरहेको छ। उनका लागि शुभकामना प्रकट गर्दै नेपाली समुदायले पब्लिक भोटमार्फत सहयोग गर्न सक्नेछन्।



























