‘सवथोक नेपालमै छ, मात्र चिन्न सक्नु पर्छ’

5.8K
shares

 

  
म  सोसियल इन्टरप्रेनरसिपका  रूपमा अगाडि बढेको छु । मेरो हरेक कम्पनीमा जम्मा नाफाको ५ प्रतिशत सामाजिक काममा लगाउने लक्ष्य छ । त्यसका लागि  डस्टिया फाउन्डेसन स्थापना भएको छ ।  विनाशकारी महाभूकम्प पश्चात् २०१५ मा  फाउन्डेसन स्थापना भयो । सुरुमा ११ जना बालबालिकाको सेवा सुरु भयो । त्यसपछि विभिन्न स्वास्थ्य शिविर सञ्चालन भयो ।  अहिले पनि  २० भन्दा माथि बालबालिकालाई निःशुल्क अध्ययन गराइरहेका छौँ । १० वटा कम्पनीहरू छन् । यी कम्पनीहरूको फाइदाको ५ प्रतिशत सामाजिक काममा प्रयोग हुन्छ । मुख्य स्रोत यही हो ।

 

सामाजिक काम र चुनौती 

 

यस क्षेत्रमा नकारात्मकता धेरै छ ।  डस्टिया फाउन्डेसनमा कोही तलबी मान्छे छैनन् ।  कम्पनीका हरेक कर्मचारीले स्वयंसेवकका रूपमा काम गरिरहेको छन् ।
बालबालिकालाई ट्युसन कक्षा कम्पनीका  कर्मचारीले पढाउने गरेका छन् ।  काउन्सिलसङ पनि कम्पनीकै कर्मचारीले निःशुल्क गर्छन् । समाजसेवा भनेर अनैतिक काम पनि भएका छन् । त्यो राम्रो होइन । हरेक विषय प्रणालीमा देखिए पनि त्यहाँ भित्र धेरै समस्याहरू हुन्छन् । आफ्नै चुनौतीहरू हुन्छन् । नेपालमा आफ्नै समस्याहरू छन् । हाम्रो देश भारत र चीनको बिचमा छ । विश्वमा भूगोलका रूपमा पनि चुनौतीपूर्ण अवस्थामा छौँ । राजनैतिक रूपमा पनि चुनौती  छ । राजनीतिक नेता, राष्ट्रसेवक कर्मचारीहरूलाई पनि समस्या छ । प्रणालीका हिसाबमा उहाँहरू दक्ष नहुँदा समस्या थपिएको छ । राजनीतिक होस् या कर्मचारी संयन्त्र अहिले पनि प्रविधिमा पूर्ण छैन।

 

यी प्रणालीहरू अपनाउने हो भने हरेक किसिमका समस्याहरू समाधान हुन्छ जस्तो लाग्छ । नेपालमा त्यति समस्या छ जस्तो लाग्दैन । मेरो व्यवसायमा नेपालमा भन्दा पनि विदेशमा लक्षित छ । यसको टेन्डर विट हुन्छ । त्यसले गर्दा विदेशी कम्पनीहरू सँग प्रतिस्पर्धा हुन्छ । सामाजिक काम कम्पनीको नाफाबाट भइरहेको छ । यसमा चुनौतीको कुरा नै हुँदैन । हामीले जति नाफा निकाल्न सक्छौ, त्यसको पाँच प्रतिशत ‘च्यारिटीमा लैजाने हो । व्यवसायको कुरा गर्दा  ‘हस्पिटालिटी’ क्षेत्रमा नेपालमा प्रतिस्पर्धा  होला ।  ‘रिक्रुटमेन्ट’ व्यवसायमा शतप्रतिशत ‘टेन्डर वेश’ हो । ‘भोकेसनल ट्रेनिङ’को लागि विदेशी कम्पनीहरूमा अनुरोध  गरिराखेका हुन्छौ । व्यवसायको प्रकार अनुसार फरक पर्छ ।

 

अहिले काम गर्दा प्रविधि प्रयोग नगरी हुँदैन । कुनै पनि व्यवसायमा प्रविधि प्रयोग नगरी व्यवसायलाई अगाडि बढाउन नै गाह्रो हुन्छ । विदेशमा ‘मेडिकल टम्स’हरू प्रविधिमा गइसक्यो । नेपालमा पनि सुरुवात भइरहेको छ । कुनै बेला मेरो कम्पनीमा ५० जना आवश्यक पर्दथ्यो भने अहिले १० जनाले काम चल्ने भएको छ । त्यो सबै प्रविधिको कारणले हो । प्रविधिले हरेक कामलाई सजिलो बनाई दिएको छ । आर्थिक क्षेत्र हेर्न  पहिला ३ जना मान्छे चाहिन्थ्यो अहिले राम्रो ‘सफ्टवेयर’ राखेर एक जना कर्मचारीले काम गर्दा हुन्छ । कार्यालय अपरेसन चलाउन पनि अहिले हरेक कार्यालयमा अपरेसनको लागि केही न केही समाधान फरक फरक  कम्पनीहरूले निकालिरहेको हुन्छ ।

 

हरेक विभागमा २ जना कर्मचारी राख्नै पर्ने अवस्था थियो ।  तर अहिले त्यसो गर्न पर्दैन । एक विभागमा एक जना कर्मचारी राखेर ‘सफ्टवेयर’ राख्यो भने सहज हुन्छ ।

 

युवालाई सन्देश 
मान्छेले डिग्री हासिल गरेको छ । तर, उसँग ज्ञानको कमी छ । हेर्नुस् त, सोसल मिडियाहरू छन्, गुगल गर्न सक्छौ ।  एआई गर्न सक्छौ ।  सूचनाको जमाना छ । सबैलाई के लाग्छ भने नेपालमा यस्तै हो विदेश गए सबै राम्रो हुन्छ । तर, विदेश जाँदा ज्ञान र सिप हासिल गरेर एउटा लक्ष्य लिएर जाने हो भने त्यो अवसर हो । देखासिकीमा गए समस्या भइहाल्छ ।
कुनै पनि व्यवसाय गर्दा नेपालमा केही चुनौती आयो भने यहाँ त आफ्नो ठाउँ सबै थाहा भएको हुन्छ समाधान  गर्न सक्छौ । तर, यहाँ जस्तो सजिलो विदेशमा हुँदैन । त्यहाँ प्रणाली हुन्छ । के साँच्चै युरोप,अमेरिकाजस्ता अन्य देशमा मात्र राम्रो हो त ? पक्कै होइन, त्यहाँको अवस्था हेर्ने हो भने नेपाल धेरै सुरक्षित छ । कुनै पनि उद्योगमा जानुस् हाम्रो देशमा धेरै अवसरहरू छन् । कृषिमा हेर्ने हो भने हरेक कुरा बाहिर बाट आयात गरिराखेका छौँ । काम गर्ने हो भने  यही  गुजारा गर्न सक्छौँ ।
हाम्रो देशमा धेरै अवसरहरू छन् । ‘कन्स्ट्रक्सन’मा हेर्ने हो भने यहाँ सडकहरू पर्याप्त गुणस्तरीय बनेका छैनन् । तर विदेशतिर धेरै विकास छ । यति ठुलो कम्पनी छ । तर, हामी बाहिर गएर स्थापित हुनै सक्दैनौँ । हामीले चुनौतीहरूलाई स्वीकार गर्न नसकेको र  हाम्रो कमजोर मनस्थिति भएको जस्तो लाग्छ ।
नेपाल कि  विदेश ?
काम गर्न आफ्नै देशमा सजिलो हुन्छ । हो,चुनौतीहरू छन् । हाम्रो अभिलेख अनुसार  भ्रष्टाचार बढेको देखिन्छ । भ्रष्टाचारसँगै नेपालमा न्यायालय पनि छ । मान्छेहरूले एउटा कम्पनी दर्ता गर्न लाग्दा दुःख दियो भन्ने गर्दछन् । तपाई राम्रो कानुन व्यवसायी राख्नुस् न । समस्या नै आउँदैन । त्यो बाटो जाँदैनौ अनि प्रणालीलाई भ्रष्ट बनाउँछौँ ।
नेपालीमा धैर्यता पनि कम छ ।  एउटा  कम्पनी दर्ता हुन पाँच दिन लाग्छ । तर, तुरुन्तै चाहिन्छ । अनि दुरुपयोग भइहाल्छ ।
काम तुरुन्त गर्नका लागि त्यहाँका कर्मचारीहरूलाई केही रकम दिएर काम गराउँछौ । हो, हामीले नै कर्मचारीहरूलाई भ्रष्ट बनाई रहेका छाँ। बजारमा धेरै चर्चा सुनिन्छ सबै घुस्याहा भयो भन्ने । तर, हामीले घुस दिएका छौँ । मैले अहिलेसम्म कम्पनी तयार गर्ने बेला कसैलाई छिटो गरिदेऊ भनेर कहिल्यै पैसा दिएको छैन ।
सेवाग्राहीलाई नीति नियमहरूका बारे पनि थाहा हुनुपर्छ । नियमका परिधिभित्र रहेर काम गर्दा समस्या नै आउँदैन नि ।  धेरै मानिसहरू अहिले तनावमा देखिन्छन् । त्यो भनेको कानुनी ज्ञान र सही सल्लाह नभएका कारण हो ।
नेपालमा प्रणाली 
हरेक मानिस आधारभूत विषयमा शिक्षित हुन जरुरी छ । सचेतनामूलक कार्यक्रमहरू सञ्चालन गरेर जानकारी दिने काम राज्यले गर्न पर्छ । सरकार, निजी क्षेत्र तथा सामाजिक क्षेत्र पनि सक्रिय हुनु आवश्यक छ । भ्रष्टाचार रोक्ने सबैभन्दा पहिलो उपाय सचेतना अभिवृद्धि हो । अहिले तिन तहको सरकार छ । अझै पनि सरकार जनता समक्ष पुग्न सकेको छैन । विद्यालय शिक्षामा नै भ्रष्टाचार नियन्त्रणका विषयमा अध्यापन गराउन आवश्यक छ । कसरी भ्रष्ट्राचार किन गर्न हुँदैन यसलाई कसरी घटाउन सकिन्छ भनेर विद्यालयमै सिकाउनु पर्छ ।  जहिले पनि भ्रष्ट्राचार ‘म्यानुअल’मा हुन्छ । हामी ‘डिजिटलाईजेसन’मा गयौ भने सजिलै भ्रष्ट्राचार रोक्न सक्छौ । रोबोट, एआई अथवा कुनै डिजिटल प्रणालीले गलत काम नै गर्दैन । ‘सफ्टवेयर’मा काम गरेपछि कर्मचारी पनि घट्छ ।  सफ्टवेयरले कहिले पनि घुस खाँदैन । सफ्टवेयरमा कसैले बदमासी गरेको पनि तुरुन्तै थाहा हुन्छ ।  ‘डिजिटलाईजेसन’मा गएर राम्रो कार्यविधि बनाइ भ्रष्टाचारलाई जिरो बनाउन सकिन्छ । हरेक देशले अपनाएको नीति नै ‘डिजिटल फर्म’ हो ।
एउटा व्यवसाय सफल बनाउने सूत्र  
जीवन एउटा यात्रा हो । मैले जागिर गरौँ , व्यवसाय गरौँ, सामाजिक काम गरौँ हरेकले हरेक समय सिकिरहनुपर्छ । समयानुकूल आफूलाई अपडेट गराउनुपर्छ । म सफल भए भनेको त्यो पूर्णविराम हो त्यसरी कहिल्यै जीवनमा अगाडि बढ्न सकिँदैन । व्यवसाय गर्दै जाँदा कहिले सफल भइन्छ कहिले असफल पनि हुन्छ । तर, असफलताले अर्को सिकाई प्रदान गर्छ । कहाँ गल्ती भयो पत्ता लगाउन सकिन्छ ।  अर्को काम गर्दा सिकाएको आधारमा राम्रो गर्न सकिन्छ । एउटा मान्छे सफल हुनका लागि उसमा अनुशासन पहिलो कुरा हो । ज्ञान आर्जन गर्नका लागि विद्यालय गएर पढ्नै पर्छ भन्ने छैन अहिले त ‘डिजिटल ली’ धेरै कुराहरू सिक्न सकिन्छ । जसलाई पढ्न अल्छी लाग्छ हेरेर पनि  सिक्न सकिन्छ । उद्देश्य  सबैलाई राम्रो हुने गरी परियोजना निर्माण गर्ने हुनु पर्छ ।  मलाई कसरी राम्रो बनाउने र सफल बनाउने भनेर लाग्दा समस्या आएको छ । व्यक्तिगत स्वार्थ आउने बित्तिकै असफल भइन्छ । कुनै पनि क्षेत्रमा सफल हुन अनुशासन सँगै व्यक्तिमा उत्तरदायी चाहिन्छ । व्यक्तिसँग ‘स्ट्यान्ड अपरेटिङ प्रोसिडियर’ हुनुपर्छ ।  राम्रो योजना हुनुपर्छ त्यो पहिला नै तयारी हुनुपर्छ ।  आफ्नो ‘भिजन मिसन’ के हो ? बलियो पक्ष के हो ? कमजोर पक्ष के हो ? यो पत्ता लगाउनु पर्छ । आफूसँग भएको बलियो पक्षलाई अवलम्बन गर्ने र कमजोर पक्षलाई सुधार गर्दै अगाडि बढ्ने हो । यसरी अगाडी बढ्यौ भने सफल हुन सकिन्छ ।
देश र युवाको समस्या 
‘माइग्रेसन’लाई रोक्न सकिँदैन । यो  व्यक्तिगत अधिकार हो । विदेशमा राम्रो भविष्य देखेर ज्ञान सीप आर्जन गरेर वा त्यही ज्ञान सीप आर्जन गरेर केही गर्ने राम्रो योजनाको साथ जाने हो भने अवसर हुनसक्छ । जबरजस्ती विदेश जान परेको अवस्था हो भने यो गलत हो । हाम्रो देशमा कहरले विदेश जान परेको अवस्थाहरू धेरै छन् । रहरले जाने सीमित छन् । अहिले युक्रेन र रसियाको युद्ध भइराखेको छ । त्यहाँ पनि स्थिरता छैन मानिसहरूले देश छोडिरहेका छन् । ‘मिडिल इस्ट’मा इजरायल र गजाको लडाई भइरहेको छ । अफ्रिकामा त्यस्तै युद्ध भइराखेको छ । युरोपमा पनि समस्या छ । अस्ट्रेलियामा पनि सरकार परिवर्तन भइरहेको हुन्छ । युकेमा गएको वर्ष एउटै पाटीको ३ धार देखियो । हरेक ठाउँमा राजनीति समस्याहरू छन् । युरोपियन देशहरूले आज भन्दा तिन सय, पाँच सय वर्ष अगाडि दुःख गर्न सुरु गरे । आज राम्रो प्रणाली छ ।  संरचनाको विकास भएको छ । त्यहाँको मानिसहरूलाई प्रधानमन्त्री को हो सम्म थाहा हुन्न । किनभने त्यहाँ प्रणालीले चलेको छ ।
 नेपालमा सबैलाई राजनीति गर्नु छ । आफ्नो मान्छे पदमा लगेर फाइदा लिने धुन मात्र नेपालीलाई छ । राजनीतिक अस्थिरताको समस्या अन्य देशहरूमा पनि छन् । हाम्रो सरकार यस्तो छ भन्ने थाहा भइसकेपछि त्यसलाई स्वीकार गरेर अघि बढ्न पर्छ ।
अहिले भिजिट भिसाको कुरा छ । खासमा भिजिट भिसा भनेको केही समय विदेशमा बसेर स्वदेश फर्कने हो ।  तर, व्यक्ति भिजिट भिसामा गएर त्यही बस्न खोज्छ ।
भिजिट भिसाको विषयमा जाने मान्छेले बुझेको छ त । बुझ्दा बुझ्दै पनि लाखौँ पैसा बुझाएर उ आफ्नै चाहनाले जाँदै छ भने कर्मचारीलाई दोष दिनु गलत हो । भिजिट भिसामा जाने व्यक्तिको मनसाय गलत छ । व्यक्तिको गलत विचारमा त्यहाँका कर्मचारीहरू खेल्ने हो । किन प्रहरी,कर्मचारीलाई दोष दिने ? त्यसकारण भ्रष्टाचारको सुरुवात स्वयमबाट गर्दछौँ ।
रेमिटेन्स र नेपाल 
रेमिट्यान्सले कहिले पनि देश सफल हुँदैन । नेपालमा जसको सरकार भए पनि सबैलाई रोजगार सिर्जना गरेर स्वदेशमा राख्न सक्दैन जसरी पनि विदेश पलायन हुनै पर्छ । रोकेर रोकिने होइन । अहिले नयाँ कानुनहरू बनेका छन् । विदेशमा कम्पनीहरू खोल्न पाइन्छ । धेरै नेपालीहरूले विदेशमा लगानी गरेका छन् । त्यसको मतलब हामी गलत त होइन । न्युुनतम तलबमा विदेश गइरहेका छन् तर कानुनमा उल्लेख छैन । श्रम सम्झौता भएको हुन्छ । त्यसमा कुनै कम्पनीहरूले अनैतिक कामको लागि लगेको हुन सक्छ  । तर, कतिपय देशहरूमा कम तलबहरू लिएर नेपालीहरूले काम गरी रहेका छन् । त्यसको लागि सरकारले कस्तो नीति ल्याउने भन्दा आफ्नो नागरिक पठाउँदा कम्तीमा यती तलबमान हुनुपर्छ भन्ने नियम ल्याउन पर्छ । २५ ÷३० हजार रुपैयाँमा नेपालीहरूले नेपाल छोडेर जानुपर्छ जस्तो लाग्दैन । किनकि नेपालमा धेरै अवसरहरूको विकास भइसकेको छ । व्यक्तिले नपढेको भए पनि प्राविधिक सिप हासिल गरेको छ भने स्वदेशमा नै राम्रो कमाई गर्न सक्छ । नेपालमा नै बसेर लाखौँ कमाउनेहरू पनि छन् । नयाँ टेक्नोलोजीहरू भित्रिरहेका छन् ।
पठाओ इन्ड्राईभर आएको छ । ती पेसामा आबद्ध भएकाहरूले महिनामा ५० हजार यही कमाई रहेका छन् । कम तलबको लागि विदेश जाने होइन । तर, यहाँ काम गर्न लाज मान्ने अनि विदेशमा जस्तो काम गर्न तयार हुन्छौ । देशलाई कस्तो समस्या छ ।   युवाहरू पलायन भई राखेका छन्  । उनीहरू बुढो भएपछि नेपाल नै आउने हो । हाम्रो सरकारको नीति गलत छ । खाडीमा गएकाहरूले रेमिटेन्स पठाएर राज्यलाई धेरै सहयोग पुर्‍याउनु भएको छ । पछि उनीहरू वृद्ध हुँदा बृद्धभत्ता लिन मिल्छ । तर, कतिपय युरोप अमेरिका गएकाहरूले उही मनग्य पैसा कमाउनुभएको हुन्छ ।  वृद्ध भएपछि नेपाल फर्किएर भत्ता लिइरहनुभएको पनि छ । यस्तो गलत हो । जसले देशको लागि योगदान गरेको छ भने उसले पाउनु पर्छ । त्यही अनुसार बिमा पोलिसीहरु ल्याउन सकिन्छ । हाम्रो देशमा विकास गर्न धेरै बाँकी छ । रेमिट्यान्सले मात्र देश धानेको होइन अहिले धेरै क्षेत्रहरूको उत्तिकै योगदान रहेको छ ।
नेपालमा ‘आइटी सेक्टर’ धेरै विकास भएको छ । नेपालको अर्थतन्त्रमा आइटी क्षेत्रको  योगदान छ । ऊर्जा शक्तिको विकास हुँदै गइरहेको छ ।  यसबाट धेरै लाभहरू देशले लिन सक्छ । ऊर्जा बेचेर भन्दा पनि यही खपत गरेर ग्याँस पेट्रोलको आयातलाई रोक्न सक्यौ भने देशले कति धेरै लाभ लिन सक्छ । देशमा कति धेरै पैसा बच्छ । देशको पैसा इन्धनमा अधिकतम खर्च भइराखेको छ । जुन रकम अन्य देशले लिई रहेको छ ।
युवा र विदेश 
भर्खरै प्लस टु गरेका युवाहरूमा एक प्रकारको हुटहुटी हुन्छ उनीहरूलाई धेरै कुरा थाहा भएको हुँदैन । तर संसारै म जित्न सक्छु भने जस्तो शक्ति देखाउँछन् ।  साथी गएको छ । अमेरिकामा यस्तो छ । युरोपमा यस्तो छ भन्ने विषय ‘सोसियल मिडिया’मा देखिरहेको हुन्छ । अभिभावकहरूलाई पनि यस्तो भई सक्यो की बच्चा नेपालमा छ भन्दा गर्व नलाग्ने अमेरिका अस्ट्रेलियामा छ भनेपछि गर्व लाग्ने अवस्था आएको छ । सबैभन्दा पहिलो कुरा त अभिभावकले आफ्ना छोराछोरीलाई सचेत बनाउन सक्नुपर्छ । विदेशमा सबै कुरा राम्रो हुन्छ भन्ने छैन, कमसेकम तिमीले यहाँ स्नातक तह उर्तिण गर भन्नु आवश्यक छ । अहिले देशमा नयाँ नीति आएको छ । स्नातक पढ्दै गर्दा उनीहरूले यहाँ पार्ट टाइम काम गर्न सक्छन् । केही पैसा कमाउन सुरु गर्छन् । काम गर्दै पढ्न सिकाउन पर्‍यो । उनीहरूले त्यो गरिसकेपछि  विदेशमा पनि समस्या हुँदैन ।
अहिले प्लस टु गरेर विदेश गएकाहरू मध्ये करिब ९० प्रतिशत खुसी छैन । किनभने जाने बेलामा बिसौँ तिसौँ लाख ऋण लिएर गएको हुन्छ । धेरै कमाई गर्न बन्देज हुन्छ ।  यहाँ पढ्दै काम गर्दै गरेको अनुभव पनि हुन्न । जसले गर्दा विदेशमा उनीहरूलाई गाह्रो भइराखेको हुन्छ । फर्कौँ भने पनि त्यत्रो ऋण लिएर गएको हुन्छ । यस्तो समस्याहरू प्लस टु गरेर गएकाहरूले भोगिरहेका छन् । यसका लागि राज्यले स्नातकसम्म स्वदेशमा अध्ययन गर्नुपर्ने नीति ल्याउन सक्छ । तर सम्भव नहोला । सरकारले व्यक्तिको अधिकारलाई रोक्न मिल्दैन । तर व्यापक सचेतना प्रवाह गरेर यसलाई कम भने गर्न सकिन्छ ।
र, अन्तमा,
धेरै मान्छेमा समस्या,तनाव र चुनौती मात्र देखिन्छ  । अब यसलाई राम्रो बनाउन पर्छ । हिजो के थियो भन्ने कुरा होइन अब हामी यो अवस्थामा कसरी अगाडि बढ्ने भन्ने उपाय ल्याउन पर्छ ।
यो परिवर्तन गर्नका लागि हरेक सरकारी निकायहरू, व्यक्ति सबै सुध्रिनु पर्छ ।  अब भ्रष्टाचार नगरौँ है भनेर व्यवहारमा लागु गर्न पर्छ । कसैलाई गाली गर्न  नगएर सभ्य समाज बनाउन लाग्नुपर्छ । यसको लागि सबैभन्दा पहिला नीति निर्माणको कुरा अगाडि आउँछ । राजनीति गर्नेले हिजो यस्तो थियो  अब  यसरी अगाडि बढ्ने भन्ने नीति निर्माण गर्न पर्छ यसका लागि तिनै तहका सरकार सक्रिय हुन पर्छ । सबैभन्दा धेरै ठुलो भूमिका कर्मचारी संयन्त्रको हुनु पर्छ । सुरक्षा निकायको भूमिका पनि त्यत्तिकै हुन्छ । सबैले म पनि गल्ती गर्दिन अरूलाई पनि गर्न दिन्न भन्ने प्रतिबद्धता जनाउनु पर्छ । न्यायालयको भूमिका झन् महत्त्वपूर्ण हुन्छ ।
कसैलाई अन्याय भएको छ भने न्याय दिलाउन न्यायालयबाट जति सक्दो छिटो काम गर्छौ भन्ने प्रतिबद्धता  हुनपर्छ । निष्पक्ष र पारदर्शी हुनपर्छ । प्रविधिको उच्चतम प्रयोग गर्नै पर्छ । अवसरहरू यही सिर्जना गर्ने, शिक्षालाई फरक ढङ्गले अघि बढाउने, नैतिक शिक्षा अनिवार्य गर्ने काम अघि बढाउन पर्छ । नैतिक शिक्षा हरेक बच्चालाई पढाउन सके भ्रष्टाचारको मात्रा कम हुने निश्चित छ।
जोन खड्का
civil hospital
Hams Hospitals