संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रीमा भगवती न्यौपाने नियुक्त
वि.सं.२०८२ असार ३१ मंगलवार
shares
काठमाडौँ । राष्ट्रिय सभा सदस्य भगवती न्यौपाने संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री नियुक्त भएकी छन्।मंगलबार प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले अपराह्न राष्ट्रिय सभा सदस्य न्यौपानेलाई मन्त्री पदमा नियुक्त गरेका हुन्।
मंगलबार बिहान संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताले घुस प्रकरणमा मुछिएपछि राजीनामा दिएलगत्तै, रिक्त मन्त्री पदमा न्यौपाने नियुक्त भएकी हुन्।न्यौपानेको राष्ट्रिय सभा सदस्यको कार्यकाल आगामी २० फागुनसम्म रहनेछ। उनी २०७६ सालमा गण्डकी प्रदेशबाट राष्ट्रिय सभा सदस्यमा निर्वाचित भएकी थिइन्।
पछिल्लो केही समययता संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, जुन कर्मचारीहरूको अभिभावक मन्त्रालयको रूपमा परिचित छ, राजनीतिक नेतृत्वको चर्को विवादका कारण बदनाम हुँदै आएको छ। विशेषगरी कर्मचारी सरुवामा पैसाको कारोबार मन्त्रीहरूसँग जोडिने क्रम निरन्तर बढ्दै गएको छ। यसको पछिल्लो उदाहरण हुन् मन्त्री गुप्ता।
कास्कीका तत्कालीन मालपोत कार्यालय प्रमुखको सरुवा रोक्ने र भूमि आयोग जिल्ला अध्यक्ष बनाइदिने नाममा ७८ लाख रुपैयाँ घुस मागेको अडियो सार्वजनिक भएपछि मन्त्री गुप्ता विवादमा परेका थिए। त्यसैगरी, अन्य आकर्षक पदहरूमा सरुवा थमौतीका लागि दर्जनौं कर्मचारीहरूले ‘रकम बुझाए पनि सरुवा नभएको’ विषय मन्त्रालयमा लामो समयदेखि चर्चा हुँदै आएको थियो।
राजकुमार गुप्ताले २०८१ असार ३१ गते मन्त्री पद सम्हालेका थिए र मन्त्री बनेको ठीक एक वर्ष पुगेकै दिन राजीनामा दिएका हुन्। उनी नेकपा एमालेबाट पर्सा-३ बाट प्रतिनिधि सभामा निर्वाचित थिए।






























