आज साउनको पहिलो सोमबार र कामिका एकादशी , शिव मन्दिरहरूमा श्रद्धालु भक्तजनहरूको भीड

1.3K
shares

काठमाडौं । आज साउन महिनाको पहिलो सोमबार परेको छ, जुन भगवान शिवको आराधना गर्ने महत्वपूर्ण दिनका रूपमा मानिन्छ। यस वर्ष साउनको पहिलो सोमबारका साथसाथै कामिका एकादशी व्रत पनि परेको छ, जसले धार्मिक महत्वलाई अझ बढाएको छ।

श्रावण महिनाभर सोमवारका दिन विशेष रुपमा शिवपूजा गरिने परम्परा रहेको छ। विशेषतः आजको दिन काठमाडौंको पशुपतिनाथ मन्दिर, काठमाडाैं उपत्यकासहित देशभरका शिवालयहरूमा बिहानैदेखि भक्तजनको घुइँचो लागेको छ।

श्रद्धालु भक्तजनहरू बिहानैदेखि व्रत बसेर शिवलिंगमा जल चढाउने, बेलपत्र अर्पण गर्ने, धूप, दीप र निबिदनसहित पूजा गर्दै भगवान शिवको कृपा प्राप्त गर्न लालायित देखिन्छन्। महिलाहरू हरियो लुगा, चुरा र मेहन्दीमा सजिएर शिव आराधनामा सहभागी हुने परम्परा निरन्तरता दिइरहेका छन्।

आज परेको कामिका एकादशी व्रत पनि विशेष धार्मिक महत्व बोकेको दिन हो। वैष्णव सम्प्रदायमा यो दिन विष्णु भगवानको पूजा गरी एकादशी व्रत बस्ने चलन छ। मान्यताअनुसार एकादशीको व्रतले पाप नाश हुने र मोक्ष प्राप्त हुने विश्वास गरिन्छ। यस व्रतले अध्यात्मिक शुद्धि, आत्म-संयम र मनोबलमा समेत वृद्धि गर्ने बताइन्छ।

शास्त्रहरूमा उल्लेख भएअनुसार, साउन महिनाभर शिवको पूजा, व्रत, जप-तप गर्दा पाप नाश, मनोकामना पूर्ति तथा मानसिक शुद्धि प्राप्त हुने जनविश्वास रहेको छ। विशेषगरी साउनको सोमबार उपवास गर्दा प्रेम, विवाह र समृद्धिका कामनाहरू पुरा हुने भनिन्छ।

आजको दिन व्रत बसेका भक्तजनहरूले साँझपख दीप प्रज्वलन गरी शिवचरणमा पुष्प, फलफूल र नैवेद्य अर्पण गर्ने परम्परा अनुसार पूजा सम्पन्न गर्नेछन्।

civil hospital
Hams Hospitals