अख्तियार आयुक्तकै दबाब परेपछि प्रहरीको सामान खरिद विवादमा
वि.सं.२०८२ भदौ १३ शुक्रवार
shares
काठमाडौँ । नेपाल प्रहरीले साउन १२ गते २१ किसिमका सामान खरिदका लागि सार्वजनिक बोलपत्र आह्वान गरेको छ । गएको साउन ४ गते करिब १ अर्बभन्दा बढीको सामान खरिदमा अनियमितता र निश्चित ठेकेदारसँग सेटिङ गरेको आरोपसहित सार्वजनिक खरिद अनुगमन कार्यालयदेखि अख्तियारसम्म उजुरी परेको थियो । सोही विवादलाई दबाउन प्रहरीले नयाँ टेन्डर निकाल्न बाध्य भएको स्रोतको दाबी छ ।
नयाँ टेन्डरमा झुल, म्याट्रेस, ब्लु डाङ्ग्री कपडा, ट्राफिक रेनसुट, स्नो ऊलन भेष्ट–ट्राउजर, स्नो स्वीटर, स्नो ग्लोभ्स, स्नो क्याप, स्नो गगल, ट्राफिक रिफ्लेक्टर ज्याकेटलगायत २१ प्रकारका सामान खरिद गर्ने उल्लेख छ । यो टेन्डर आज शुक्रबार खोलिनेछ ।
तर, यसबीचमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त जयबहादुर चन्दले आफ्नी छोरी सुप्रभा चन्द संलग्न ‘बाला’ कम्पनीलाई ठेक्का दिलाउन प्रहरी नेतृत्वमाथि दबाब दिएको आरोप सार्वजनिक भएको छ । छोरी साझेदार रहेको उक्त कम्पनीलाई स्नो ग्लोभ्स, स्नो क्याप, स्नो ऊलन भेष्ट–ट्राउजर, स्नो स्वीटर र स्नो गगल्सको ठेक्का दिन आयुक्त चन्दले प्रहरी प्रशासन विभागका प्रमुख एआईजी कृष्णहरि शर्मा हुँदै आईजीपी दीपक थापासम्मलाई दबाब दिएको बताइन्छ ।
स्रोतका अनुसार, ‘बाला’ कम्पनीले प्रस्तुत गरेको सामान गुणस्तरीय नभएको र दररेट समेत प्रतिस्पर्धी नभए पनि आयुक्तकै हैसियत देखाएर दबाब दिइएको छ । यस कारण प्रहरी अधिकारीहरू ठुलो तनावमा परेका छन् । सामान गुणस्तरीय नभए ठेक्का दिन गाह्रो छ भने, आदेश नमान्दा अख्तियारकै दबाब सहनुपर्ने स्थिति रहेको भन्दै उनीहरू विचलित बनेका छन् ।
अघिल्लो टेन्डर प्रक्रियामै अनियमितता भएको आरोप खेपिरहेको प्रहरी प्रशासन अहिले फेरि अख्तियारकै आयुक्तको दबाबमा परेपछि खरिद प्रणालीको पारदर्शिता र निष्पक्षतामाथि गम्भीर प्रश्न उठेको छ । प्रहरी सङ्गठनभित्र अधिकारीहरूले ‘अख्तियार नै निष्पक्ष नहुने हो भने प्रहरीको खरिद प्रणाली कसरी शुद्ध हुन्छ ?’ भन्ने प्रश्न उठाउन थालेका छन् ।
यस घटनाले प्रहरीको खरिद प्रक्रिया मात्र होइन, भ्रष्टाचार नियन्त्रणका लागि गठन गरिएको अख्तियारकै विश्वसनीयता पनि सङ्कटमा परेको टिप्पणी भइरहेका छन् । यसबारेमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त जयबहादुर चन्द भने आफ्नो नाम दुरुपयोग गरेको बताउँछन् । सम्मानित पदमा बसेर यस्तो काम गर्न नसकिने उनको भनाई छ ।यी कुरा मिथ्या भएको र यसमा कुनै सत्यता नभएको चन्दले जिकिर गरे ।





























