नेपाल निजामती कर्मचारी संगठनले भन्यो- `घाइतेको निःशुल्क उपचार होस्´
वि.सं.२०८२ भदौ २७ शुक्रवार
shares
काठमाडौं । सामाजिक सञ्जाल बन्द गर्ने निर्णयको विरोधमा भाद्र २३ गतेदेखि देशभर जारी आन्दोलनका क्रममा भएको झडप र प्रहरी हस्तक्षेपमा परी दर्जनौंको ज्यान गएका र हजारौं घाइते भएको घटनाप्रति नेपाल निजामती कर्मचारी संगठनले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । संगठनले विज्ञप्ति जारी गर्दै मानवअधिकार उल्लंघन तथा भौतिक क्षतिको घटनाप्रति दुःख व्यक्त गरेको छ।
विज्ञप्तिमा हालसम्म करिब २४ जना भन्दा बढीको मृत्यु भएको र करिब १ एजार भन्दा बढी घाइते भएको भन्दै मृतकलाई श्रद्धाञ्जली अर्पण गरिएको छ। साथै, घाइतेको तत्काल निःशुल्क उपचारको व्यवस्था गर्न र आन्दोलनमा संलग्न सामान्य नागरिक तथा निजामती कर्मचारीलाई दिइएको धम्की बन्द गर्न सरकारसँग माग गरिएको छ।
संगठनले आन्दोलनका क्रममा भएको सम्पत्ति नोक्सानी, तोडफोड तथा सार्वजनिक भवनमा आगजनी जस्ता गतिविधि तत्काल रोक्नुपर्ने उल्लेख गर्दै दोषी पहिचान गरी कानूनी कारबाही गर्न पनि माग गरेको छ। विज्ञप्तिमा भनिएको छ, “देश गम्भीर संकटमा रहेका बेला शान्तिपूर्ण आन्दोलनलाई बल प्रयोग गरेर दबाउने प्रयासले परिस्थिति झन् बिग्रिने भएकाले सबै पक्ष संयमित हुन जरुरी छ।”
संगठनले शान्तिपूर्ण आन्दोलनका क्रममा ज्यान गुमाएका नागरिकप्रति श्रद्धाञ्जली प्रकट गर्दै मृतक परिवारलाई उचित क्षतिपूर्ति र घाइतेलाई तत्काल उपचार र पुनःस्थापनाको माग गरेको छ। साथै, सरकारले निजामती कर्मचारीलाई धम्की दिने प्रवृत्तिबाट तत्काल रोक्नुपर्नेमा जोड दिएको छ।
नेपाल निजामती कर्मचारी संगठनका महासचिव रामचन्द्र अधिकारी र अध्यक्ष भवानी न्यौपाने दाहालद्वारा हस्ताक्षरित विज्ञप्तिमा मुल नाराका रूपमा “राष्ट्र रहे, हामी रहनेछौँ” भन्ने सन्देशसहित संवैधानिक सीमा र कानूनी व्यवस्थाभित्र रही समस्या समाधान गर्न सबै राजनीतिक दल र सरोकारवालालाई आह्वान गरिएको छ।
संगठनले निजामती कर्मचारीहरूको पेशागत मर्यादा, निष्पक्ष सेवाप्रवाह र सुरक्षित वातावरणको ग्यारेन्टी गर्दै वर्तमान संकट समाधानमा जिम्मेवार भूमिका निर्वाह गर्ने प्रतिबद्धता समेत प्रकट गरेको छ।





























