Nepal Automobile Importers and Manufacturers Association (NAIMA)

बागलुङ कालिका मन्दिरको सङ्‌क्षिप्त परिचय

4.8K
shares

 

सांस्कृतिक, ऐतिहासिक, धार्मिक एवम् पर्यटकीय प्रचुर सम्भावना बोकेको बागलुङ कालिका भगवतीको मन्दिर आँफैमा शाश्वत, कालिकाको स्वरूप हो, भन्ने मान्यता पाइन्छ। मन्दिरले मनः मस्तिष्क, शरीरलाई एकाग्र गरी, आत्मिक शान्ति-प्रदान गर्ने भएकाले नै मन्दिरलाई देवालय भनिएको हो ।

 

मानिसका असिमित आकाङ्‌क्षा हुन्छन् । मनमा कुनै चोट पर्दा होस्, छट्पटी हुदा होस्, वा मनको इच्छा पूर्ति गर्नका लागि होस् । मानिसहरू मन्दिर जान्छन्, भाकल गर्छन् । शक्तिस्वरूपा कालिका भगवतीसँग मागेका भाकल पूरा हुदा पुनः मानिसहरू मन्दिर गई देवीको दर्शन गरेको पाइन्छ। आस्था र विश्वासकी धरोहर कालिका भगवतीले भक्तजनका मनोकामना पूर्ण गर्ने भएकाले नै उक्त मन्दिरमा भक्तजनहरूको घुइँचो लाग्ने गरेको पाइन्छ।

 

 

बागलुङ जिल्लाको सदरमुकाम बागलुङ बजारदेखि दक्षिणतर्फ कालीगण्डकी र काठे खोलाको दोभान  माथिको टापुमा  वनभित्र कालिका  भगवतीको मन्दिर  बागलुङ जिल्लाको बागलुङ नगरपालिका-२ मा अवस्थित रहेको छ । बागलुङ  कालिका भगवतीको मन्दिर नेपालको एक प्रसिद्ध शक्तिपीठ हो । धार्मिक, सांस्कृतिक ,ऐतिहासिक एवम् पर्यटकीय कालिका भगवतीको मन्दिर  बागलुङ, जिल्लाको पहिचान हुनुका साथै  इच्छाएको मनोकाङ्क्षा पुग्ने विश्वास पनि गरिन्छ । कालिका भगवतीको मन्दिर धार्मिक, सांस्कृतिक, ऐतिहासिक मान्यता बोकेको  आस्थाको प्रतीक हो । मन्दिरमा विवाह, व्रतबन्ध गर्नको लागि पनि महत्वपूर्ण मानिन्छ ।

 

 

मन्दिरमा बिहान ३:०० बजे कालीगण्डकीमा स्नान गरी त्यहीँको जलले अभिषेक गराई देवीको नित्य पूजा गरिन्छ । मन्दिर भित्र नित्य पूजा सकेपछि पुजारीले चण्डीकालीको स्थानमा धूप चढाएपछि मन्दिर बाहिर पूर्वपट्टी रहेको कौडेलीमाईको पूजा गरिन्छ । त्यसपछि ५:०० बजेबाट सर्वसाधारणलाई दर्शनका लागि प्रवेशद्वार खुल्ला गरिन्छ । साँझको ५:०० बजे सन्ध्याकालीन आरती गरी ८:०० बजे मन्दिर बन्द गरिन्छ ।

 

बाइसे, चौबिसे राज्यकालमा बागलुङ कालिकाको इतिहास हेर्दा मल्लकाल र सेनवंश कालको  इतिहास आउँछ ।  त्यतिबेला नेपालको दक्षिणी भु-भाग/ हिमालयको दक्षिणी भूभागमा सेनवंशहरुको अधिपत्य भएको र उत्तरी भेगमा मल्लहरूको अधिपत्य रहेको पाइन्छ । पहाडी भेगमा मल्लहरु पर्वतमा रहेका ईतिहास छ भने तराई भेगमा सेनवंशको इतिहास आउथ्यो । किम्वदन्ती अनुसार पर्वतका राजा प्रतापी नारायण सिंह मल्लले वि. सं. १५९० सालमा राज्यारोहण गरेका थिए ।  पाल्पाका राजा मणिमुकुन्दसेनकी छोरी राजकुमारी विश्रवादेवी र पर्वतका राजा प्रतापी नारायण सिंह मल्लका बीचमा विवाह सम्वन्ध भएको इतिहास पाइन्छ । माइतबाट विश्रावादेवी घर फर्कने क्रममा दाइजोको रूपमा “माझकी देवी कालिका मन्दिर चाहियो भनि पीतासँग आग्रह गरिन् ।” राजा मणिमुकुन्दसेनले स्वीकृति दिए र दाइजो स्वरुप  देवीको डोली र खड्ग उपहार दिए  ।  पाल्पाबाट  खड्काहरुका साथ पर्वत लाने क्रममा काठेखोला र कालीगण्डकी नदीको सङ्गम स्थान  बीचको पहाडी भूभागमा डोली एकछिन बिसाए । डोली उठाउन हर प्रयास गर्दा पनि  देवीको डोली र खङ्‌ग नउठेपछि  उक्त स्थानमा वि. सं. १५९१ साल देखि विधिवत मन्दिर  स्थापना गरी पूजापाठ आरम्भ गरियो । त्यती बेलाका खड्‌काहरुलाई नै हर्ताकर्ता एवम् पुजारीको रूपमा राखियो। त्यसबेलाका  चक्रमोहन खड्‌का प्रथम पुजारीका रुपमा नियुक्त भए । त्यसबेला देखि हालसम्म  खड्काहरूका वंशजले पूजा चलाउदै आएको इतिहास पाइन्छ। देवी रहेको स्थानमा करिब १ सय ९० रोपनी क्षेत्रफल फैलिएको छ । उक्त जग्गा  मन्दिरको गुठीका रूपमा रहेको छ ।

 

 

मन्दिर स्थापनाकालदेखि नै विशेष गरी खड्का ( क्षेत्री) हरुलाई  मन्दिरमा पूजाआजाका लागि राखिएको पाइन्छ ।  बागलुङ कालिका भगवतीको दर्शन गर्न देशभरिका विभिन्न ठाउँबाट दर्शनार्थीहरू बागलुङ पुग्ने गर्दछन् ।  प्रत्येक मङ्गलबार , शनिवार र अष्टमी लगाएतका  विभिन्न तिथिहरुमा  ब्राहमणहरू मार्फत देवीको स्थापना गरी रुद्री पाठ, चण्डीपाठ , पूजापाठ आदि  गरिन्छ  । दर्जनौं ब्राहमणहरू तथा अन्य  ब्राहमणहरू पूजापाठका लागि मन्दिर वरिपरि बसेका छन् । वर्षको दुईपटक चैतेदशैं र वडादशैंमा नियमित पूजा हुन्छ। जसलाई सरकारी पूजा  भनिन्छ।  यस पूजामा यम पूजा, जसमा पञ्चबलि पनि चढाइन्छ । बागलुङ कालिका भगवतीको मन्दिरमा माघ र  साउन महिना बाहेक वर्षभरि दर्शनार्थीहरूको चहल पहल हुन्छ । माघ र साउन महिनामा मन्दिरमा बलि नचढ्ने हुनाले यी दुई महिनामा भक्तजनहरूको भीड कम लाग्ने गरेको पाइन्छ  ।

 

 

यस मन्दिरमा दर्शन र पूजापाठ गर्नाले सन्तान प्राप्त हुने, मनोकाम‌ना पूरा हुने र शक्ति प्राप्त हुने विश्वास रहदै आएको पाइन्छ । विवाह नभएकाहरुको विवाह हुने,    उचित बरबधु प्राप्त हुने, , परीक्षामा सफलता मिल्ने, जागिर, वैदेशीक रोजगारमा सफलता मिल्ने, रोग शोकबाट मुक्त  भइने  विश्वास रहदै आएको पाइन्छ । कालिका भगवतीप्रति विश्वास राखेर पूजापाठ गर्नाले देवी प्रशन्न भई उचित फल प्राप्ति हुन्छ भन्ने जनविश्वास रहेको पाइन्छ ।

 

 

मन्दिर अवस्थित जङ्‌गलको बीचबाट कालीगण्डकी नदी झर्ने बाटो रहेको छ । यो बाटोमा एउटा वाफ आउने दुलो रहेको छ । त्यहीँ दुलोबाट हरेक मध्यरातमा कालिका भगवती बाघमा चढी कालीगण्डकी नुहाउन जान्छिन् भन्ने किम्वदन्ती रहको छ । राती जाग्राम बस्ने कति महिलाहरूले देवी बाघमा चढ्दा देखेको अनुभूति सुनाएको पाइन्छ । राजकुमारी विश्रवाले देवीको प्रत्यक्ष दर्शन पाउथिन भन्ने  किम्वदन्ती पनि रहेको पाइन्छ ।

 

बागलुङ‌को ऐतिहासिक, पर्यटकीय ,धार्मिक एवम् सांस्कृतिक  मन्दिर परिसरमा १६२ मिटर तल रहेको कालिगण्डकी  नदीको पानी ल्याइएको छ । कालिका मन्दिर आउँने  दर्शनार्थी  भक्तजनहरूलाई लक्षित गरी नौ ओटा धारासहित स्नान गृह पनि निर्माण गरिएको छ। मुस्ताङ‌को मुक्तिनाथदेखि धार्मिक महत्त्वका साथ बगिरहेको कालिगण्डकी नदी र कालिका भगवतीको ऐतिहासिक सम्बन्धलाई  अझ सुदृढ  पारेको छ ।  मन्दिर प्रवेश गर्ने मूल गेटबाट  अगाडि जाँदा बाटोको दायाँ  भागबाट मन्दिरको उत्तर दिशामा निर्माण गरेको नौधारामा नौ ओटा देवीको स्वरूप झल्कने मूर्ति  स्थापना गरिएको छ । प्रत्येक देवीको मूर्तिमुनिबाट गाईको प्रतिविम्व रहेको   धाराबाट पानी खसालिएको छ। मन्दिरमा प्रत्येक दिन  बिहान कालिगण्डकीको  जल चढाउनका लागि पुजारीले नदी मै स्नान गरेर जल ल्याउनु पर्ने चलन थियो, तर अहिले मन्दिर परिसरमै कालीगण्डकीको पानी आएपछि मन्दिर ब्यवस्थापन , पुजारी र भक्तजनहरूलाई समेत सहज भएको छ ।

 

 

मन्दिरमा चार दिशामा चारओटा ढोका रहेका छन् । मन्दिर पूर्वका ढोका कहिल्यै खोलिदैन । वि. सं. १९८२ सालमा मन्दिरको  जीर्णोद्वार गर्दा मन्दिरको पूर्वी ढोका खोल्दा  नाग उत्पन भएको हुँदा,  देवी रिसाइ देश मै अनिष्ट हुन्छ  भन्ने भनाइ रहेको पाइन्छ ।

 

मन्दिर परिसरमा पाँचओटा सत्तलहरू, वरिपरि  भित्तामा १४ ओटा प्रस्तर मूर्ति र १०८ ओटा तामाका  दियो राखिएका छन् । मन्दिर  प्यागोडा शैलीमा  निर्माण गरिएको छ ।

 

 

मन्दिरमा परेवाको बलि चढाउन रोकिएको, शान्तिको प्रतीक परेवालाई उडाएर श्रद्वा व्यक्त गरिएको पाइन्छ ।

 

 

कालिका मन्दिरको गर्भभित्र एउटा चौका उठाइएको छ  । त्यस चौकामाथि उत्तर र दक्षिण पारेर लहरैसँग माटोका तिनओटा अर्धगोलाकार  थुम्का उठाइएको  छ । त्यसदेखि माथि एक तह पेटी उठाएर  त्यस्तै एउटा थुम्का उठाइएको छ । यी चारओटै थुम्कालाई  चाँदीको पाताले मोडिएको छ । यिनै थुम्काहरुलाई  कालिका भगवतीको प्रतीक मानेर पूजा गरिन्छ । यो बनावट, आकृति बेग्लै रहेको छ । ती चारओटै आकृति चारओटा डोलेहरुको आकृति हो र थुम्का परापूर्वकाल देखि नै रहेको जनविश्वास रहेको पाइन्छ । मन्दिरभित्र पूर्व खण्डमा ३ फिट अग्लो  ९  फिट  जति चौडाई भएको चारकुने चौको मण्डप रहेको छ । त्यसै मण्डपमा चाँदीका ढकनीले  ढाकेको तीन  थुम्का रहेका  छन् । जहाँ महाकाली, महालक्ष्मी  र महासरस्वतीका  रूपमा स्थापित गरिएको छ ।   मन्दिर  पुजारी एवम् भक्तजनहरूलाई   कालिका देवीले साक्षात् दर्शन दिँदा देवीको तेजबाट भष्म हुने  भएकाले  देवीलाई भूगर्भमा स्थापित गरी मण्डप बनाई पूजा गर्न थालिएको किम्वदन्ती पाइन्छ  ।

 

 

मन्दिरले मानिसमा सकारात्मक ऊर्जा पनि प्रदान गर्छ । वैदिक सनातन हिन्दु धर्म जहाँ विभिन्न देवीदेवताहरूको वास भएको पवित्र भूमि नेपालमा रहेका धार्मिक महत्त्व बोकेको मठमन्दिरहरूको संरक्षण एवम् सम्वर्द्धन हुनु आवश्यक रहन्छ ।

 

 

कालिका भगवतीको आवश्यक रुपमा प्रचारप्रसार गरी आन्तरिक एवम् बाह्य पर्यटकहरु भित्र्याइ उनीहरूलाई कालिका भगवतीको ऐतिहासिक एवम् धार्मिक महत्त्व बुझाउन स्थानीय बासिन्दा एवम् मन्दिर समितले महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुपर्दछ ।

 

 

शाहवंशीय राजाहरूमा राजा महेन्द्र कालिका देवी भगवतीको दर्शन गर्ने पहिलो राजा हुन् । यिनले २०१६ साल म‌ङ्सिर ३० गते कालिका देवीको पूजाअर्चना गरेको पाइन्छ ।  तत्पश्चात पूर्व राजा ज्ञानेन्द्र र रानी कोमलबाट २०६२ साल चैत्र महिनामा कालिका देवीको पूजाअर्चना गरेको पाइन्छ । पहिले बागलुङ कालिका चोकमा राजा महेन्द्रको शालिक थियो । सो शालिकबाट गणतन्त्रलाई खतरा भएका कारण २०६३ सालमा उक्त  शालिक तोडफोड गरिएको थियो । बागलुङ जिल्लासँग बाघको नाता जोडिएकाले किम्वदन्तीलाई आधार मानेर हाल बाघको शालिक, कालिका भगवतीको वाहन पनि बाघ नै भएकाले बाघको शालिक राखिएको छ । घना जङ‌गलका  बीच बाघ लुक्ने  ठाउँ ‘बागलुक’ नामबाट अपभ्रंम  हुँदै बागलुङ नाम रहन गएको किम्वदन्ती पाइन्छ ।

 

 

नेपालकै सबैभन्दा लामो र अग्लो पर्वत र बागलुङ जोड्ने ५६७ मिटर लामो झलुङ्गे पुल निर्माण गरिएको छ । मन्दिरबाट करिब १० मिनटको पैदल यात्रापछि पुग्न सकिन्छ  ।

मन्दिर वरिपरि साल, सल्लो, चिलाउने, काईयोका ठुला ठुला रुखहरुले घेरिएको दृश्य देख्न सकिन्छ । निरन्तर नौधारामा कालीगण्डकीको पानी आउँने हुँदा धार्मिक पर्यटन प्रवर्द्धनमा समेत टेवा पुगेको छ ।

 

 

मन्दिरमा भक्तजनहरुको घुइँचो बढ्‌दा व्यवस्थित तरिकाले पूजा अराधना सञ्चालन गरी मन्दिरको सङ्‌क्षिप्त परिचयात्मक जानकारी दिइयो भने आगामी दिनमा अझ बढी भक्तजनहरूको भीड लाग्ने विश्वास गरिन्छ।

 

 

साक्षात् कालीको स्वरूप भएको उक्त मन्दिरमा मागेका मनोकाङ्‌क्षा पूर्ण हुने जनविश्वास रहेको पाइन्छ । मन्दिरको धार्मिक, ऐतिहासिक पक्षको प्रचारप्रसार, आन्तरिक भौतिक व्यवस्थापन लगाएतका कारणले पछिल्लो समयमा दर्शनार्थीहरूको चाँप बढेको छ। पूर्व र दक्षिणमा काठेखोला पश्चिममा बागलुङ‌ बजार र उत्तरतर्फ पवित्र कालीगण्डकी नदीको मनोरम दृश्य देखिने ठाउँमा मन्दिर निर्माण गरिएको छ । मन्दिरमा नेपाल लगाएत भारतबाट पनि हजारौंको सङ्ख्यामा दर्शनार्थीहरु आउँने गरेका छन् । मनले चिताएको मनोकामना पूरा हुने धार्मिक आस्था र विश्वासकी धरोहर कालिका माता प्राकृतिक सौन्दर्यले भरिपूर्ण एक पवित्र शक्तिपीठ पनि हुन् ।  धार्मिक, सांस्कृतिक , ऐतिहासिक एवम् पर्यटकीय महत्व बोकेको बागलुङ कालिका भगवतीले हामी सबैको कल्याण गरून् ।

 

भूमिका गैरे तिमिल्सिना

गैंडाकोट ४ नवलपुर

civil hospital
Hams Hospitals