लघुकथा : राजा
वि.सं.२०८२ भदौ ३० सोमवार
shares
एउटा जङ्गलको प्रान्तमा हल्लाखल्ला मच्चियो ।
अब के गर्ने ? एउटा पुस्ताले अन्याय, थिचोमिचोको जोडदार विरोध गर्यो । जङ्गलको भौतिक क्षति निकै भयो ।
अर्को जङ्गलको प्रान्त पनि टुलुटुलु हेरेर बस्न सकेको थिएन । जङ्गियो , त्यहाँ नि विरोधको ज्वाला दन्कियो । ठाउँ- ठाउँमा एकै पुस्ताले सबैलाई सोच्न बाध्य बनाए ।
जङ्गलमा खैलाबैला मच्चियो । साना ठुला सबै जनावरहरू बैठक बस्ने निर्णय गरे । नाइकेले बैठक आह्वान गर्यो, बसे पनि । जङ्गलको शासक को हुने ? भन्ने विषयमा चर्काचर्की चल्यो । छुचुन्द्रो हात उठाउँदै, ” म बन्छु, युग बदल्छु, छाती फुलाउँदै सहजै जवाफ दियो ।” उपस्थित मुसा र छुचुन्द्राले समर्थन जनाए ।
त्यो सुनेर स्यालहरू कराउन थाले । एउटाले भन्यो, ” म बन्छु ।” स्यालहरूले सहमति दिए ।
बाँदर रूखको एउटा हाँगाबाट अर्को हाँगामा मच्चिदै , ” म बन्छु भन्दै हात उठायो ।” त्यतिकैमा बाघ गर्जिएर भन्यो, ” भुसुनाले नेतृत्व लिन सक्दैनन् , म बन्छु ।” सिंह झन के कम ? ऊ जङ्गिदै भन्यो, ” रात रहे अग्राख पलाउँछ, जङ्गलको नेतृत्व म गर्छु ।” उसले इच्छा जाहेरी गर्यो ।
असामान्य स्थिति सिर्जना भएको देखेर नाइकेलाई थेग्न हम्मेहम्मे पर्यो । शान्त बनाउँदै, “घर फुटे गँवार लुटे, योग्य र कुशलताले निपुण नेतृत्व गर्न सक्ने राजा हुनेछ ।” उसले ठाडै आदेश दियो ।
भूमिका गैरे तिमिल्सिना
गैंडाकोट ४ नवलपुर




























