बस पुग्यो अब हामीलाई सहिद चाहिएको छैन

29.2K
shares
Nabil bank

 

 

नेपालको राजनीति र इतिहास पढ्दा एउटा गहिरो सत्य प्रस्ट हुन्छ यहाँका हरेक परिवर्तन सहिदको बलिदानले सम्भव भएको छ। राणा शासनदेखि लोकतन्त्र, पञ्चायतदेखि प्रजातन्त्र, राजतन्त्रदेखि गणतन्त्र, मधेस आन्दोलनदेखि थरुहट आन्दोलन हरेक संघर्षमा यो देशले आफ्ना छोराछोरी गुमाएको छ। सहिदका रक्तरञ्जित बलिदानहरूले राष्ट्रलाई नवनवीन रूप दिन खोजे पनि विडम्बना यस्तो छ कि ती सहिदका सपनाहरू अझै अधुरै छन्। आज देशभरि सहिदका नाममा चोक, पार्क र स्मारक छन् तर तिनका सपना जनताको जीवनमा अनुभूत भएको छैन। यही पीडा बोकेको वाक्य हो “बस पुग्यो, नेपालमा अब हामीलाई सहिद चाहिएको छैन।” “सहिद” शब्द केवल मृत्यु होइन, एउटा दर्शन हो। सहिद त्यो हो, जसले व्यक्तिगत जीवन, परिवार र भविष्यलाई राष्ट्र, जनताको हक र स्वतन्त्रताको लागि सुम्पिन्छ। तर नेपालको सन्दर्भमा सहिदको अवधारणा दुःखद ढंगले राजनीतिक स्वार्थसँग गाँसिएको छ। यहाँ सहिद बन्नेहरू साधारण किसानका छोराछोरी, आमाबुबाका आँखाका नानी, सडकमा निस्केका युवाहरू हुन्। तर सहिदको रगतमा सत्ता कब्जा गर्नेहरू भने प्रायः त्यही पुराना र शक्तिशाली वर्गका मानिसहरू नै देखिन्छन्।

 

नेपालमा सहिदको पहिलो आन्दोलन राणाशासनको विरुद्धमा देखियो। शुक्रराज शास्त्री, धर्मभक्त माथेमाजस्ता सहिदहरूले आफ्नो जीवन दिएको त्यो बलिदानले नेपालीलाई राजनीतिक चेतना जगायो। तर त्यो बलिदानपछि जन्मेको प्रजातन्त्र पनि चिरकालसम्म टिक्न सकेन। २००७ सालको आन्दोलनमा असंख्य जनताको रगत बग्यो। “गणतन्त्र” नभए पनि “प्रजातन्त्र” को सपना बोकेर नेपालले नयाँ अध्याय सुरु गर्‍यो। तर त्यो पनि दरबार, पार्टी र विदेशी हस्तक्षेपको खेलमै अल्झियो। २०४६ को जनआन्दोलन फेरि हजारौंको बलिदानपछि सम्भव भयो। सडकमा टर्किएका टाउका, गोली लागेका छाती, आँसु गासिएका आमा-बुबा यी सबै २०४६ को सहिदका अनुहार थिए। १० वर्षे माओवादी युद्धमा १७,००० भन्दा बढी नेपालीले ज्यान गुमाए। कसैलाई “सहिद” भनियो, कसैलाई “राज्यद्वारा मारिएका” भनियो, कसैलाई “दुई तिरको गोलीबीचका निर्दोष” भनियो। तर अन्ततः यी सबै मृत्यु एउटा “नयाँ नेपाल” को नाममा आहुति बने। राजतन्त्रविरुद्धको विद्रोहमा पुनः सयौं सहिद भए।

 

“गणतन्त्र” घोषणासँगै नयाँ संविधानको सपना देखियो। संविधान बने पनि असन्तोष, मधेस आन्दोलन, थरुहट आन्दोलन, जनजाति आन्दोलन फेरि सहिदको लहर आयो। हरेक आन्दोलनको मूल्य ज्यानले नै तिर्नुपरेको छ। यसरी नेपालको हरेक ऐतिहासिक परिवर्तन सहिदको रक्तले लिखित छ। हालै आयर जेन जी आन्दोलनले पुरानो राजनीतिक संस्कृतिविरुद्ध विद्रोहको स्वर बुलन्द गरेको छ। यस आन्दोलनमा आफ्ना सपनाहरू साकार पार्न उत्रिएका युवाले परिवर्तनको नयाँ चेतना जगाएका छन्। तर विडम्बना, यसै आन्दोलनमा पनि केहीले सहिद भएर बलिदान दिनुपर्‍यो। यी सहिद केवल तस्बिर होइनन्, उनीहरू भविष्यको मार्गदर्शक इतिहास हुन्। अब हाम्रो कर्तव्य भनेको सहिदको बलिदान व्यर्थ हुन नदिनु र उनीहरूले देखेको नयाँ नेपालको सपना पूरा गर्नु हो।

 

नेपाली नेताहरूले कहिल्यै पनि सहिदलाई सम्मानजनक स्थान दिन सकेनन्। सहिदलाई उचाल्ने काम आन्दोलनको समयमा मात्रै गरिन्छ। आन्दोलन सकिएपछि ती सहिदका परिवार बिर्सिन्छन्। नेताले सहिदलाई “ढाल” बनाएर सत्ता कब्जा गर्छन्।नेपालमा संवाद, सहमति, विचार र तर्कको राजनीति भन्दा बढी सडक, आन्दोलन र बलिदानको राजनीति चलेको छ। किनभने यहाँ नेताहरूले जनतालाई सहभागी गराउने संस्थागत संस्कृति विकास गरेनन्। कमजोर न्याय प्रणाली, भ्रष्ट ब्यवस्था, गैरजिम्मेवार नेतृत्व यी सबैले जनतालाई अन्ततः सडकमा धकेल्छ। र सडकमा पुग्दा सहिदको श्रृंखला सुरु हुन्छ। नेपालको राजनीति केवल आन्तरिक संघर्षले होइन, बाह्य शक्तिको खेलले पनि निर्देशित छ। विदेशीको हितअनुसार नेपालमा आन्दोलन हुन्छन्, सहिद बनाइन्छन्, र त्यसैको आधारमा सत्ता बदलिन्छ।

 

 

अब जनतालाई रक्तपात होइन, न्याय चाहिएको छ। अब राजनीतिक परिवर्तनको मूल्य ज्यान होइन, विचार हुनुपर्छ।अब सहिदको नाममा सत्ता खेल्ने संस्कार अन्त्य हुनुपर्छ।सहिदहरूको योगदानलाई कुनै दल वा आन्दोलनको सीमामा सीमित नगरौं। उनीहरू सम्पूर्ण राष्ट्रका साझा सम्पत्ति हुन्।सडकमा रगत बगाएर मात्रै परिवर्तन ल्याउने परम्परालाई अन्त्य गर्न संस्थागत लोकतन्त्र बलियो बनाउनुपर्छ।

 

सहिद परिवारलाई सम्झने काम केवल सहिद दिवसमा होइन, नीतिगत रूपमा हुनुपर्छ। शिक्षा, रोजगारी, स्वास्थ्य र सम्मान उनीहरूको अधिकार हो। नेतालाई “सहिद” को नाममा सत्ता चढ्ने परम्परा रोक्न कानुनी र नैतिक दुवै स्तरमा जिम्मेवारी तय गर्नुपर्छ।नयाँ पुस्ताले रगत होइन, विचारलाई आन्दोलन बनाउनुपर्छ। सडकमा ढुंगा होइन, शब्द र ज्ञानलाई हतियार बनाउनुपर्छ।

 

नेपालको राजनीति बारम्बार सहिदको रगत माग्दै आएको छ। तर अबको पुस्ताले भन्न थालेको छ “बस पुग्यो अब हामीलाई सहिद चाहिएको छैन।”यस वाक्यमा एउटा चेतावनी छ अब नेतृत्वले जनतालाई धोका दिनु हुँदैन। सहिदको बलिदान व्यर्थ पार्नु हुँदैन।

 

राष्ट्र उठिसकेको छ, जनचेतना जागिसकेको छ। अब सहिदको रगतले होइन, सहिदको सपनाले नयाँ नेपाल निर्माण हुनुपर्छ। यदि यो देश अझै सहिदको मागमा अल्झिरह्यो भने, त्यो केवल नेतृत्वको दुर्भाग्य होइन, सम्पूर्ण राष्ट्रको असफलता हुनेछ।

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x