प्रशासनिक दक्षता र नैतिकता: समग्र सुधारका उपायहरू
वि.सं.२०८२ असोज ३ शुक्रवार
shares
नेपालको प्रशासनिक प्रणाली राष्ट्रको विकास र समृद्धिमा केन्द्रिय भूमिका खेल्छ। तर विगतदेखि अहिले सम्मको अवस्था हेर्दा, प्रशासनिक क्षेत्रमा निष्ठा र अनुशासनको अभावले सरकारका योजना र कार्यक्रम प्रभावकारी रूपमा कार्यान्वयन हुन सकेका छैनन्। भ्रष्टाचार, अनियमितता र जवाफदेहिताको कमीले जनविश्वास कमजोर बनाएको छ। परिणामस्वरूप सेवा प्रवाह ढिलासुस्त, असमान र अनियमित भएको छ, जसले विकास प्रक्रिया सन्तुलित बनाउन असम्भव बनाएको छ। संविधानमा पारदर्शी, भ्रष्टाचारमुक्त र जवाफदेही प्रशासनको व्यवस्था भए पनि व्यवहारमा यी मूल्य कमजोर रहेका कारण प्रशासनिक प्रणालीमा गहिरो संकट उत्पन्न भएको छ।
प्रशासनिक सुधारको पहिलो प्राथमिकता निष्ठा र अनुशासनको पुनःस्थापना हो। निष्ठा भनेको कर्मचारीको आफ्नो कर्तव्यप्रतिको पूर्ण समर्पण र ईमानदारी हो, जसले जनसेवामा वास्तविक प्रतिबद्धता सुनिश्चित गर्छ। अनुशासनले समयपालन, नियमअनुसार कार्य र व्यवहारिक संयम सुनिश्चित गर्छ। यी दुबै मूल्यको अभावमा प्रशासनिक कामकाज ढिलासुस्ती, असंगत निर्णय र अनियमितताको शिकार हुन्छ।
निष्ठा र अनुशासन कायम गर्न पारदर्शिता, जवाफदेहिता र गुणस्तर सुधारका कदम अनिवार्य छन्। कर्मचारी छनोटमा प्रतिस्पर्धात्मक परीक्षा, मूल्यांकन र प्रशिक्षणलाई सुदृढ बनाउनुपर्छ ताकि योग्य, निष्ठावान र सक्षम व्यक्ति मात्र प्रशासनमा प्रवेश गर्न सकून्। साथै, कडा निगरानी, कठोर कानुनी कारबाही र नियमित मूल्यांकनले भ्रष्टाचार रोक्न मद्दत पुर्याउँछ।
सांस्कृतिक र सामाजिक मूल्यहरूको पुनःप्रबर्द्धन पनि आवश्यक छ। नेपाल बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक मुलुक हो। यहाँ कर्मचारीहरूमा इमानदारी, कर्तव्यपरायणता र सहिष्णुताको संस्कार विकास गरिनुपर्छ। प्रेरणादायक नेतृत्व, सकारात्मक कार्यसंस्कृति र सहकार्यको वातावरण सिर्जना गर्दा मात्र कर्मचारीहरू सेवा भाव र अनुशासनसहित काम गर्न प्रेरित हुन्छन्। यसरी मात्र नेपालमा प्रशासनिक पुनर्निर्माण सफल र दिगो बन्न सक्छ।
प्रशासन सुधार राज्यको संगठनात्मक संरचना, कार्यविधि, प्रक्रिया, व्यवहार र मनोवृत्तिमा गुणात्मक सुधार ल्याउन गरिने सुनियोजित प्रयास हो। यो राज्य पुनर्संरचनाको महत्वपूर्ण अङ्ग हो र सार्वजनिक कार्यको गुणस्तरमा वृद्धि ल्याउने उद्देश्य राख्छ। सुशासन प्रशासनको अग्रभाग हो, जसले शासनको दक्षता र वैधानिकता बढाउँछ। सदाचार राम्रो आचरणसँग सिमित नभइ जीवनमा गति र दिशा दिन्छ, जसले राष्ट्रको समृद्धि र प्रगति सुनिश्चित गर्छ। नागरिकमा सदाचारको विकासले सुशासनलाई सहज बनाउँछ र यसले राष्ट्रलाई समृद्ध बनाउन मद्दत पुर्याउँछ।
नेपालको प्रशासनिक प्रणालीले विगत केही दशकमा विभिन्न सुधारका प्रयासहरू देखाए पनि समग्र दक्षता र नैतिकता अझै पूर्ण रूपमा स्थापित हुन सकेको छैन। प्रशासनिक दक्षता भन्नाले केवल कामको गति वा प्रक्रियागत सुधार होइन, यसले नागरिकको अपेक्षा अनुसार सेवा प्रदान गर्ने क्षमता र निर्णयमा समयसापेक्षता सुनिश्चित गर्ने गुणलाई बुझाउँछ। यसका साथै, नैतिकता प्रशासनमा स्वच्छता, पारदर्शिता, उत्तरदायित्व र दुराचार विरोधी दृष्टिकोणको आधार हो। जब यी दुई तत्व सँगसँगै अवलम्बन गरिन्छन्, तब मात्र प्रशासनिक प्रणालीले दिगो विकास र जनकल्याणको मार्ग सुनिश्चित गर्न सक्छ।
समग्र सुधारका उपायहरूमा सबैभन्दा पहिला नैतिक शिक्षा र मूल्य संवर्धन आवश्यक छ। प्रशासनिक कर्मचारीहरूलाई प्रशिक्षण मार्फत केवल कानुनी प्रक्रिया र नियमको ज्ञान मात्रै नभई नैतिक विवेक, सेवा भाव र उत्तरदायित्वको महत्व बुझाउन आवश्यक छ। गीता र उपनिषद्हरूमा उल्लेखित कर्मयोग र आत्मसंयमका सिद्धान्तहरूलाई प्रशासनिक प्रशिक्षणमा समावेश गर्दा कर्मचारीले आफ्नो कर्मलाई जनसेवा र राष्ट्रनिर्माणको दृष्टिले आत्मसात् गर्न सक्षम हुन्छन्।
दोश्रो, पारदर्शिता र जवाफदेहिताको प्रवर्धन अत्यावश्यक छ। जहाँ निर्णय प्रक्रिया खुला हुन्छ, रिपोर्टिङ प्रणाली स्पष्ट हुन्छ र प्रत्येक कदमको जवाफदेहिता सुनिश्चित हुन्छ, त्यहाँ भ्रष्टाचार र अनियमितता स्वतः घट्छ। डिजिटल प्रशासनिक प्रणाली, अनलाइन सेवा र मोनिटरिङ मेट्रिक्सको प्रयोगले प्रक्रियामा समय र साधन दुवैको बचत मात्र होइन, नागरिकको विश्वास पनि कायम गर्छ।
तेश्रो उपाय हो, नेतृत्वमा मूल्य आधारित दृष्टिकोणको प्रवर्धन। यदि प्रशासनिक नेतृत्वले आफ्नो आचारसंहिता, पारदर्शिता र निष्ठालाई आत्मसात् गर्छ भने कर्मचारीहरू पनि त्यसको अनुकरण गर्ने प्रवृत्ति विकास हुन्छ। नेतृत्वमा नैतिक आदर्श नहुँदा निचली तहका कर्मचारीहरूमा अनुत्तरीय आचरण र गैरजिम्मेवारीपूर्ण व्यवहारको सम्भावना बढ्छ।चौथो, प्रणालीगत सुधार र कार्य प्रक्रियाको सरलीकरण अपरिहार्य छ। जटिल नियम, अनावश्यक दस्तावेज र ढिलाइले दक्षता घटाउँछ। नियम र प्रक्रियालाई सरल, स्पष्ट र कार्यसक्षम बनाएर मात्र प्रशासनिक समय र स्रोतको बचत सम्भव हुन्छ। यसले सेवा सहज, छिटो र उत्तरदायी बनाउँछ।
सांस्कृतिक रूपान्तरण र मूल्य पुनरुत्थान नै दीर्घकालीन सुधारको आधार हो। निष्ठा र अनुशासनलाई केवल कानुनी बाध्यता होइन, आन्तरिक संस्कारको रूपमा विकास गर्नुपर्छ। प्रत्येक कर्मचारीले आफ्नो जिम्मेवारीलाई कर्मयोगको रूपमा आत्मसात् गरे मात्र प्रशासनिक दक्षता र नैतिकता दुवै सुनिश्चित हुन्छ।यसरी, प्रशासनिक दक्षता र नैतिकताको समग्र सुधारमा शिक्षा, पारदर्शिता, नेतृत्व, प्रणाली र मूल्य संस्कारको सन्तुलित संयोजन आवश्यक छ। यी उपायहरू लागू गर्दा मात्र नेपालमा सुशासन, न्याय र जनकल्याणको वास्तविक सुनिश्चितता सम्भव हुन्छ।
कार्यसम्पादनलाई व्यावसायिक र जनमुखी बनाउने मूल्य, सिद्धान्त र मानकहरूको अवलम्बन नै नैतिकता र सदाचारिता हो। सदाचार र नैतिकता हरेक व्यक्ति र पदाधिकारीले पालना गर्नुपर्ने असल व्यवहार वा आचरण हुन्। सेवाग्राहीले पदाधिकारीबाट गुणस्तरीय व्यवहारको अपेक्षा राख्छन्, र त्यसको पालना हुँदा मात्र सार्वजनिक प्रशासन प्रभावकारी हुन्छ र नागरिक सन्तुष्ट रहन्छन्। आजको नेपालको प्रशासनिक क्षेत्रमा नागरिकले अनुभव गर्ने नैतिक आचरणको स्तर कमजोर देखिन्छ। नागरिकहरू स्तरीय सेवा र सेवामैत्री व्यवहारको अपेक्षामा छन्, तर सार्वजनिक संस्थाहरूमा तत्परता र क्षमता पर्याप्त छैन।
संस्थाहरूको कर्मचारीतन्त्रीकरण र सेवा वितरणमा राजनीतीकरणले प्रशासनिक यन्त्रलाई पक्षपाती बनाएको छ। सदाचार र सुशासन एक–अर्काका पूरक हुन्। यदि सुशासन कायम छैन भने सदाचार हराउँछ र दुराचारी समाजमा हावी हुन्छ। यसले राष्ट्रको गरिमा, समृद्धि र मानवीय सम्बन्धमा गिरावट ल्याउँछ। मानव समाज नीति, कर्म र आचरणबाट सञ्चालित हुन्छ। सदाचार व्यक्तिको अन्तरात्मामा रहने शक्ति हो, जसले स्वार्थ, लोभ र लालसा जस्ता कमजोरीबाट बचाउँछ।
सदाचारका मूल्यमा वैधानिकता, सेवाभाव, निष्पक्षता, स्वच्छता, स्वार्थहीनता, इमानदारी र नैतिकता पर्दछन्। यी मूल्यले सार्वजनिक पदाधिकारी र संस्थालाई आदर्श बनाउँछन्। यसैले नीति, नियम र आचारसंहिता लागू गर्नु, जिम्मेवारी वहन गर्दा निष्ठाको शपथ लिनु आवश्यक छ। सार्वजनिक प्रशासनमा सदाचार र सुशासन आपसमा अन्तर–आबद्ध छन्। संस्थाहरू समाजलाई व्यवस्थित गर्न सिर्जना भएका हुन्, र नेतृत्वले असल आचरण स्थापित गर्न भूमिका खेल्छ। नेतृत्व नीतिनिष्ठामा आधारित हुँदा संस्थाहरू बलिया हुन्छन्, जसले सुशासनको आधार बनाउँछ।तर नेपालमा निजामती सेवामा नैतिक आचरण कमजोर छ। यसको कारण राजनीतिक र प्रशासनिक नेतृत्वको कमजोरिता, दण्ड–पुरस्कारको प्रभावकारी व्यवस्था नहुनु, आचारसंहिता कार्यान्वयनको निगरानी नहुनु र दण्डहीनता हो। यसले सेवा र विकास कार्यमा असर पुर्याउँछ र सुशासन कायम गर्न चुनौती उत्पन्न गर्छ। प्रशासनिक प्रणाली कमजोर हुँदा नागरिकको विश्वास घट्छ र असंतोष बढ्छ। यसले सार्वजनिक प्रशासनको छवि मात्र बिगार्दैन, राष्ट्रको समग्र विकास र सुशासनमा पनि अवरोध पुर्याउँछ।
सार्वजनिक प्रशासन सुधार गर्न संस्थागत सुधार र सशक्त नेतृत्व आवश्यक छ। सबै तहका अधिकारीहरूलाई नैतिक मूल्य, उच्च आचरण र जिम्मेवारीपूर्वक काम गर्न प्रेरित गर्नुपर्छ। यस्तो वातावरणमा भ्रष्ट्राचार र अन्य अनियमितता घट्छ। प्रशासनिक प्रणालीमा सुधारका लागि समर्पण, समन्वय र सामूहिक प्रयास जरुरी छन्।
नेपालमा निष्ठा र अनुशासनमा आधारित प्रशासनिक प्रणालीको पुनर्निर्माण विकासको मूल आधार हो। कानुनी, नीतिगत र व्यवहारगत सुधारहरू आवश्यक छन्। पारदर्शिता, जवाफदेहिता, गुणस्तरीय सेवा, निगरानी र प्रशिक्षणमार्फत मात्र प्रशासनिक प्रणाली सुधार्न सकिन्छ। जहाँ कर्मचारीहरू निष्ठावान र अनुशासित हुन्छन्, त्यहाँ मात्र दिगो विकास र शान्तिपूर्ण समाज सम्भव हुन्छ। नेपाललाई सशक्त, सक्षम र उत्तरदायी प्रशासन आवश्यक छ, जसले राष्ट्रलाई नयाँ उचाइमा पुर्याउनेछ।
(उप्रेती नेपाल सरकारका उपसचिव हुन्।)

































