नयाँ पुस्ताको नेतृत्व र राजनीतिक संस्कृति पुनर्निर्माण

12.8K
shares
Nabil bank

नेपालको राजनीतिक यात्राले कहिल्यै निरन्तर शान्त र स्थिर बाटो अनुभव गर्न सकेन। परम्परागत नेतृत्वको सोच, दलगत विभाजन, भ्रष्टाचार, अवसरवाद र आन्तरिक अविश्वासले गर्दा नेपाली राजनीति विश्वास गुमाउँदै गएको छ। आज नागरिकको मनमा एउटै प्रश्न छ—“के राजनीति केवल शक्ति–संघर्षकै खेल हो?” यस प्रश्नको उत्तर खोज्ने बाटो नयाँ पुस्ताको नेतृत्व र राजनीतिक संस्कृतिको पुनर्निर्माणमा निहित छ।

 

 

महाभारतमा भीष्मले आफ्नो जीवनभर विवाह नगर्ने र हस्तिनापुरप्रति पूर्ण निष्ठा रहने प्रतिज्ञा गरेका थिए। तर यही प्रतिज्ञा अन्ततः उनको बोझ बन्न पुग्यो। सत्यनिष्ठा हुँदाहुँदै पनि उनी निरंकुश दरबारका गलत निर्णयविरुद्ध खडा हुन सकेनन्।नेपालका पुराना नेताहरू पनि भीष्मझैँ नै आफ्नो प्रतिज्ञा—“लोकतन्त्रको रक्षा गर्ने” भन्ने वाचा—लाई बोकेका छन्। तर, जब सत्ता र स्वार्थको खेलमा प्रवेश हुन्छ, उनीहरूको प्रतिज्ञा बोझ बन्न पुग्छ। जसरी भीष्म सत्य थाहा हुँदाहुँदै मौन रहे, नेताहरू पनि भ्रष्टाचार, दलगत विभाजन र गलत नीतिमाथि मौन रहन्छन्। यसरी पुरानो पुस्ताको नेतृत्व अझै बोझिलो संस्कृतिको प्रतीक बनेको छ।त्यसैले, नयाँ पुस्ताले भीष्मको मिथबाट सिक्नुपर्छ—प्रतिज्ञा केवल औपचारिक शब्द होइन, सही समयमा आवाज उठाउने शक्ति पनि हो।

 

 

हिन्दु पुराणमा प्रलयपश्चात विष्णुले पुनः सृष्टिको थालनी गर्छन्। पुरानो विनाशपछि नयाँ जीवन अंकुरिन्छ। यो मिथले देखाउँछ कि विनाश अन्त्य होइन, पुनःनिर्माणको अवसर हो।नेपालको राजनीतिक संस्कृति पनि एक प्रकारको प्रलयको स्थितिमा पुगेको छ। अविश्वास, असन्तुष्टि र असफलताले नागरिकलाई राजनीति प्रती “थाकेको” बनाएको छ। तर यही संकट नयाँ पुस्ताको उदयको संकेत हो। नयाँ पुस्ताले भ्रष्टाचारको प्रलयपछि सत्य, पारदर्शिता र उत्तरदायित्वको नयाँ बीउ रोप्न सक्छ।

 

 

रामायणमा मिथिलाका राजा जनक न्यायप्रिय, विद्वान् र सदाचारयुक्त शासकका रूपमा चित्रित छन्। उनले दहेज वा राजनीति होइन, केवल सीताको योग्य वर खोज्ने उद्देश्यले धनुष यज्ञ आयोजना गरेका थिए।नेपालमा नयाँ पुस्ताले जनकजस्तै पारदर्शिता, सदाचार र क्षमता–आधारित मूल्य स्थापित गर्नुपर्छ। राजनीति केवल परिवारवाद वा पैसावाद होइन, योग्यताको आधारमा नयाँ नेताहरू चुन्ने संस्कृतिको थालनी गर्नुपर्नेछ।

 

 

महाभारतको कुरुक्षेत्र युद्धमा अर्जुनले आफन्तविरुद्ध लड्नुपर्ने द्वन्द्वमा हात बाँधे। तर कृष्णले भने—“तिमी धर्म र न्यायको पक्षमा खडा हो, व्यक्तिगत मोहमा होइन।”नेपालको नयाँ पुस्ता पनि अर्जुनजस्तै द्वन्द्वमा छ। एकातिर उनीहरू पुरानो पुस्तासँग सम्बन्धित छन्, अर्कोतिर नयाँ संस्कृतिको निर्माण गर्ने चाहना राख्छन्। यस्तो अवस्थामा कृष्णको उपदेश नै सन्देश हो—व्यक्तिगत मोहभन्दा ठूलो सत्य समाज र न्याय हो। नयाँ पुस्ताले नातावाद, आफन्तवाद वा मित्रताभन्दा माथि उठेर नैतिक निर्णयमा आधारित नेतृत्व गर्नुपर्छ।

 

 

समुद्रमन्थनको मिथमा देवता र दानव दुवैले सँगै समुद्र मन्थन गर्दा अमृत निस्किएको कथा छ। सहकार्य र संघर्षको मिश्रणले जीवनदायी फल दिएको हो।नेपालको राजनीतिक संस्कृति पनि समुद्रमन्थनजस्तै हो—दलहरूबीच सधैँ संघर्ष हुन्छ, तर सहकार्यको बिना अमृत (विकास र स्थिरता) प्राप्त हुँदैन। नयाँ पुस्ताले दलगत सहकार्यलाई प्रतिस्पर्धासँगै अगाडि बढाउने संस्कृतिको निर्माण गर्नुपर्छ।

 

 

राजनीति पद्धतिमा सुधार र विश्वासको पुनःस्थापना देशको सामाजिक, आर्थिक र राजनीतिक स्थायित्वका लागि अत्यन्तै महत्त्वपूर्ण छ। कुनै पनि लोकतान्त्रिक देशको सरकारको मुख्य उद्देश्य नागरिकको कल्याण र अधिकारको संरक्षण गर्नु हो, तर यदि सरकारका क्रियाकलापमा भ्रष्टाचार, अनियमितता र अनधिकृत गतिविधिहरूको प्रभाव बढ्छ भने नागरिकको सरकारप्रति विश्वास घट्न सक्छ। यसरी, राजनीतिक पद्धतिमा सुधार र विश्वासको पुनःस्थापना गर्नका लागि केही विशिष्ट उपायहरू अवलम्बन गर्नु पर्छ।

 

 

राजनीतिक सुधारका लागि सबैभन्दा महत्त्वपूर्ण उपाय भनेको पारदर्शिता र जवाफदेहीता सुनिश्चित गर्नु हो। सरकारका सबै क्रियाकलापहरू, निर्णय र खर्चहरूको सार्वजनिक जानकारी उपलब्ध गराउनु पर्छ। यसका लागि खुला डेटा प्रणाली र सार्वजनिक निगरानीका मापदण्डहरूको स्थापना गर्न सकिन्छ। सरकारी अधिकारीहरूको कार्यक्षमता र निर्णय प्रक्रियामा पारदर्शिता ल्याउनु आवश्यक छ। यसले नागरिकलाई सरकारका कामकाजी प्रक्रिया बुझ्न र निष्पक्ष निर्णयप्रति विश्वास जगाउन मद्दत पुर्याउँछ।

 

 

राजनीतिक साक्षरता र सचेतनाको अभावले नागरिकलाई राजनीतिक निर्णयप्रति उदासीन बनाउँछ र विश्वासको कमी निम्त्याउँछ। जनतालाई राजनीतिक प्रक्रिया, उनीहरूको अधिकार र कर्तव्य बारेमा शिक्षा प्रदान गर्नु अति महत्त्वपूर्ण छ। यसका लागि विद्यालय र विश्वविद्यालय स्तरमा राजनीतिक शिक्षा सम्बन्धी पाठ्यक्रम थप्न, र विभिन्न माध्यमबाट सूचना र सामग्रीको प्रसार गर्न सकिन्छ।

 

 

संविधान र कानूनी सुधारले राजनीतिक पद्धतिमा सुधार ल्याउन मद्दत पुर्याउँछ। सशक्त संविधानको निर्माण र कार्यान्वयनले सरकार र प्रजासत्ताको बीचको सन्तुलन कायम राख्न मद्दत गर्छ। साथै, सरकारले तयार गरेको कानूनी संरचनामा न्यायिक प्रक्रिया र शासनको सिद्धान्तहरू स्पष्ट र निष्पक्ष हुनु पर्छ।नेतृत्वमा गुणस्तरीकरणका लागि राजनीतिमा कार्यरत व्यक्तिहरूको शिक्षादक्षता, नैतिकता, र कार्यकुशलताको स्तरमा सुधार ल्याउनु जरुरी छ। सक्षम, इमानदार, र विकासमुखी नेता मात्र प्रभावकारी र विश्वास योग्य सरकारको निर्माण गर्न सक्छन्। यसका लागि नेताहरूलाई नियमित प्रशिक्षण र मूल्य आधारित नेतृत्व शिक्षाको प्रवर्धन गर्नु पर्छ।

 

 

समाज र नेतृत्वको जन्मका बीचमा परिपुरक सम्बन्ध रहेको हुन्छ । समाज जस्तो छ, त्यस्तै किसिमको नेतृत्व हामीले पाउने हो । हामी कस्ता छौं, हामो समाज कस्तो छ त्यही अनुसारको नेता हामीले पाउने हो । नेतृत्वले तीन तरिकाबाट जन्मन्छ । एउटा हो जन्मदैको अविछिन्न गुण र अद्वितीय शक्ति । केही मानिसहरु जन्मँदै यस्तो विलक्षण गुणले सजिएका हुन्छन्, उनीहरुमा आत्मिक रुपमा यस्तो गुण समायोजित भएर आएको हुन्छ । ब्यक्तित्व, बोली र ब्यवहारले अरुलाई सम्मोहित पार्न सक्दछन । अर्को हुन्छ– करिश्मा । करिश्मा मेहनत र परिश्रमबाट बनेको हुन्छ । मान्छे हेर्दा नराम्रो, लुरे, दुर्बल हुनसक्छ । तर, उसले धेरैलाई तरंगित बनाउन सक्दछ । जस्तैः महात्मा गान्धी, अब्राहम् लिंकन आदिलाई यस श्रेणीमा राख्न सकिन्छ । तेस्रो हो– कानूनी वैधानिकता । नेतृत्वको स्रोत पनि कानूनी वैधानिकता नै हो । तर, कानूनी वैधानिकताले मात्र माथिका दुईवटा गुणको अभाव भएको ब्यक्ति वास्तविक नेता बन्न सक्दैन । अहिले वास्तविक नेता जन्मन नसकेको मुख्य कारण पनि कानूनी वैधानिकताबाट मात्र नेता जन्मन्छ भन्ने चिन्तन नै हो । नेपालमा राजनीतिमा लागेका नेताहरुको समस्याहरू समयसँगै गम्भीर बन्दै गएका छन्। एक समयमा राजनीति समाजसेवा र जनताको कल्याणको मार्ग थियो, तर अहिले यसलाई प्रायः व्यक्तिगत लाभ र स्वार्थको एउटा साधनका रूपमा हेरिन्छ। नेपालका धेरै नेताहरू अहिले लगानीकर्तामा परिणत भएका छन्। उनीहरूले विभिन्न व्यावासिक क्षेत्रमा, जस्तै होटल, ट्राभल एजेन्सी, अस्पताल, विद्यालय, उद्योग, हाइड्रोपावर, बैंक र ठूला सहकारीहरूको संचालन गर्दै छन्। यसबाट स्पष्ट हुन्छ कि राजनीति अब एउटा व्यापारको रुप लिइसकेको छ र यसले नेपालको राजनीतिक परिपाटीलाई दुषित बनाउने खतरा पैदा गरेको छ।

 

 

नेपालका नेताहरूमा पारदर्शिता र उत्तरदायित्वको अभाव छ। राजनीतिक शक्ति र पदवी हासिल गर्ने मुख्य उद्देश्य व्यक्तिगत लाभ मात्र रहन थालेको छ। यस कारण, सार्वजनिक सेवा र जनताको हितका लागि गरिएका निर्णयहरू प्रायः निजी स्वार्थसँग जोडिएका हुन्छन्। यसले राजनीतिलाई विश्वसनीय र प्रभावकारी बनाउन कठिन बनाएको छ। विशेष गरी, नेताले नीति निर्माण गर्दा आफूलाई र आफ्ना समर्थकहरूको आर्थिक फाइदा विचार गर्ने प्रवृत्ति देखिन्छ, जसले राजनीतिक प्रणालीलाई कमजोर बनाउँछ।

 

 

नेपालको राजनीतिमा अहिले देखा पर्ने एउटा ठूलो समस्या भनेको राजनीति गर्ने उद्देश्यको विकृति हो। राजनीति त्याग, बलिदान र सार्वजनिक सेवाको लागि हुनु पर्छ भन्ने परम्परा अब नपाइने स्थिति देखिन्छ। अहिले नेपालमा राजनीति सधैं लाभ र भ्रष्टाचारका अवसरको रूपमा विकसित भएको छ। जनतालाई साँचो सेवाप्रतिको विश्वास छैन, र यही कारणले गर्दा राजनीति गर्नेको इमेज दिनप्रतिदिन गिरिरहेको छ। नेताको पदवी प्राप्त गर्नका लागि व्यक्तिगत स्वार्थ र पद प्राप्तिको होड सबै दलका नेता बीच देखिन्छ। यसले राजनीतिमा प्रतिस्पर्धा गर्ने भावना थपेको छ, तर त्यो प्रतिस्पर्धा समाजको भलाईका लागि होइन, बरु व्यक्तिगत लाभका लागि हो।

 

 

संसारभरि राजनीति प्रायः त्याग र समर्पणको क्षेत्रमा पाइन्छ। राजनीतिमा लाग्नका लागि एक व्यक्ति कुनै न कुनै हदसम्म आफ्ना व्यक्तिगत चासो र स्वार्थलाई त्याग गर्नुपर्छ। राजनीति भनेको सेवा र जनताको लागि काम गर्नु हो। यसमा स्वार्थ र भ्रष्टाचारको कुनै स्थान छैन। तर, नेपालमा राजनीति नाफा र भ्रष्टाचारका अवसरका रूपमा बदलिएको छ। यसले समग्रमा नेपालको राजनीतिमा अविश्वास र असन्तुष्टि सिर्जना गरेको छ।

 

 

२१ औं शताब्दीमा नेतृत्वको सफलता केवल त्यागमा मात्र निर्भर गर्न सक्दैन। नेतृत्वको मूल्यांकन गर्दा, व्यक्तिको निर्णय, नेतृत्वको दूरगामी प्रभाव र ती निर्णयहरूले जनताको जीवनमा ल्याउने परिवर्तनको आधारमा पनि मूल्यांकन गर्नु आवश्यक छ। नेतृत्व भनेको केवल आफूलाई जिताउनु मात्र होइन, अपितु समाज र राष्ट्रको लागि स्थायी र सकारात्मक प्रभाव पार्नु हो।

 

 

नेतृत्वको वास्तविक मूल्याङ्कनमा समग्र समाजको भलाईका लागि लिएका निर्णयहरूको महत्त्वपूर्ण स्थान हुनुपर्छ। एउटा नेता आफ्नो व्यक्तिगत स्वार्थको लागि काम नगरी जनतालाई हानि नगरी काम गर्नुपर्छ। नेपालमा राजनीतिक प्रक्रिया र नेतृत्वको मूल्याङ्कन यस्ता आधारहरूमा आधारित हुनु आवश्यक छ जसले राष्ट्र र जनताको दीर्घकालीन फाइदा सुनिश्चित गर्न सक्छ।

 

 

त्यसैले, नेपालका नेताहरूलाई अब नयाँ दृष्टिकोण र जिम्मेवारीका साथ राजनीति र नेतृत्व गर्नुपर्ने आवश्यकता छ। उनीहरूले राजनीतिलाई व्यापारको रूपमा लिँदैनन् भने र समाजका लागि काम गर्न तल्लिन रहन्छन् भने, नेपालमा राजनीति पद्धतिमा सुधार र विश्वासको पुनःस्थापना गर्न सकिन्छ।

 

 

 

 

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x