जेन–जी आन्दोलन: नैतिक चेतनाबाट उज्यालो समाजतर्फ 

17.5K
shares
Nabil bank

आजको नेपाली समाज बहुआयामिक समस्याबाट ग्रस्त छ। भ्रष्टाचार, नातावाद, स्वार्थपरता र हिंसात्मक प्रवृत्तिले नैतिक मूल्यहरूलाई ह्रास गरिरहेको छ। राजनीतिक दलहरूको सत्ता–प्रतिस्पर्धा, प्रशासनिक कमजोरी र सामाजिक असमानताले युवापुस्तामा निराशा छाएको छ।भदौ २३–२४ गते भएको जेन–जेड आन्दोलनको ज्वाला पनि मूलतः नैतिक चेतनाको खोजी हो। युवाहरूले रोजगारी वा अवसरको माग मात्र गरेका होइनन्; उनीहरूले पारदर्शिता, न्याय र उत्तरदायित्वको माग गरेका हुन्। उनीहरूको क्रोध, विद्रोह र आवाजमा नैतिक चेतनाको उज्यालो खोज्ने आकांक्षा समावेश छ।यदि यस आन्दोलनलाई हिंसा वा अशान्तिको रूपमा मात्रै बुझियो भने हामीले यसको सार खोतल्ने अवसर गुमाउँछौँ। वास्तविकता के हो भने, यो आन्दोलनले नैतिक चेतना कमजोर भएको हाम्रो राजनीतिक र सामाजिक संरचनालाई प्रश्न गरिरहेको छ।

 

 

मानव सभ्यताको विकास  प्रविधि, भौतिक संरचना र राजनैतिक व्यवस्थामा सीमित छैन। सभ्यताको वास्तविक मूल्य मानिसको अन्तरात्मामा निहित हुन्छ। अन्तरात्मा  हाम्रो आन्तरिक आवाज, विवेक र नैतिक चेतना हो, जसले असल–बेसल छुट्याउने सामर्थ्य दिन्छ। सभ्यताको उज्यालोतर्फको यात्रा तब सम्भव हुन्छ, जब मानिसले आफ्नो अन्तरात्मालाई शुद्ध राख्छ र त्यसैको आधारमा सामाजिक आचरण निर्धारण गर्छ।

 

 

अन्तरात्मा समाजलाई नैतिक र मूल्यमा आधारित दिशा दिन्छ। बाहिरी नियम, कानुन वा दण्डको डरभन्दा पनि मानिसलाई सही बाटोमा डोर्याउने शक्ति उसकै अन्तरात्मा हो। यदि अन्तरात्मा शुद्ध छ भने, व्यक्तिले आफ्नो व्यवहारमा न्याय, करुणा र सत्यको पालन गर्छ। तर जब अन्तरात्मा दूषित हुन्छ, तब सम्पूर्ण समाजमा अन्याय, हिंसा र विभाजन फैलिन्छ। त्यसैले सभ्यताको स्थायित्वको मूल आधार नै व्यक्तिगत अन्तरात्माको शुद्धता हो।

 

 

धार्मिक र दार्शनिक शिक्षाहरूले पनि अन्तरात्मालाई सभ्यताको प्रमुख मार्गदर्शक मानेका छन्। उपनिषदमा “आत्मानो मोक्षार्थं जगद्धिताय च” भनिएको छ, जसको अर्थ हो— आत्मशुद्धि र समाजको हित एउटै लक्ष्य हो। बुद्धले पनि बाहिरी पूजा वा अनुष्ठानभन्दा अन्तरात्माको शुद्धतालाई प्राथमिकता दिए। इसाई धर्ममा विवेकलाई परमेश्वरको वाणी भनिन्छ, भने इस्लाममा शुद्ध नीयत (नियतुल खालिस)लाई सबै कर्मको आत्मा मानिन्छ। यी शिक्षाले देखाउँछन्— सभ्यताको उज्यालो  बाहिरी प्रगतिमा होइन, अन्तरात्माको शुद्धतामा छ।

 

 

मानव सभ्यताको यात्रा केवल भौतिक प्रगति वा प्रविधिको उत्थानमा मात्र सीमित छैन। सभ्यताको वास्तविक मूल्य भनेको मानिसको चेतनाको स्तर हो, जसले उसलाई कस्तो आचरण, कस्तो व्यवहार र कस्तो दृष्टिकोणतर्फ डोर्याउँछ भन्ने कुरा निर्धारण गर्छ। चेतना नै मानिसलाई अन्य प्राणीबाट पृथक बनाउने मूल आधार हो, र नैतिक चेतना नै उसको जीवनलाई सभ्य, संतुलित र उज्यालो बनाउने महान् स्रोत हो।

 

 

चेतना  केवल सोच्ने वा अनुभव गर्ने शक्ति मात्र होइन; यो त मानव आत्माको जग हो, जसले निर्णय लिने शक्ति र मार्गदर्शन दिन्छ। जब चेतना नैतिक मूल्यसँग संयोजित हुन्छ, त्यतिबेला समाजमा उज्यालो फैलिन्छ। नैतिक चेतना भनेको आत्मचेतनाको जागरण हो, जसले मानिसलाई सही–गलत छुट्याउने, इमानदारी, न्याय, दया र सहअस्तित्वको बाटो देखाउने शक्ति प्रदान गर्छ।अहिंसा, सत्य, करुणा, क्षमा र प्रेमजस्ता मूल्यहरू केवल धार्मिक उपदेश वा आदर्श मात्र होइनन्; ती नै नैतिक चेतनाका आधारस्तम्भ हुन्। यी आधारस्तम्भले नै सभ्यताको संरचना बलियो बनाउँछन्।

 

 

पूर्वीय दर्शनले हजारौँ वर्षदेखि नैतिक चेतनालाई सभ्यताको मेरुदण्डका रूपमा स्थापित गरेको छ। उपनिषद्हरूमा भनिएको छ—“आत्मानं विद्धि” अर्थात् आफ्नो आत्मालाई चिन्नु नै सबैभन्दा ठूलो ज्ञान हो। आत्मज्ञान प्राप्त भएपछि मात्र मानिसले साँचो नैतिक चेतनाको अनुभव गर्छ।भगवद्गीतामा श्रीकृष्णले अर्जुनलाई युद्धभूमिमा दिएको शिक्षा केवल रणनीतिक विजयका लागि थिएन; त्यो जीवनको गहिरो नैतिक चेतनाको पाठ थियो। कृष्णले भनेका थिए—“स्वधर्मे निधनं श्रेयः, परधर्मो भयावहः।” अर्थात्, आफ्नो कर्तव्यअनुसार नैतिक रूपमा जीवन बिताउनु नै श्रेष्ठ हो। यही सन्देशले आज पनि हामीलाई समाजिक जीवनमा इमानदारी, आत्मसम्मान र दायित्वबोध गर्न प्रेरित गर्छ।रामायणमा श्रीरामको चरित्र पनि नैतिक चेतनाको उत्कृष्ट उदाहरण हो। उनले व्यक्तिगत सुखभन्दा समाज र धर्मलाई प्राथमिकता दिए। आफ्नै हितभन्दा जनताको विश्वास र नैतिक मूल्यलाई अगाडि राख्ने उनको जीवनशैली नै सभ्यताको उज्यालो तर्फको बाटो हो।

 

 

समाजमा नैतिक चेतना विकास गर्न शिक्षा प्रणाली नै पहिलो पाटो हो। तर आजको शिक्षा बढी प्रतिस्पर्धा, अंक र प्रमाणपत्रमा केन्द्रित छ। विद्यार्थीहरूलाई नैतिक मूल्य सिकाउने, आत्मविश्लेषण गर्न प्रेरित गर्ने र समाजप्रतिको जिम्मेवारी बुझाउने अभ्यास कमजोर हुँदै गएको छ।हामीले शिक्षा प्रणालीलाई नैतिक चेतनासँग जोड्न आवश्यक छ। विद्यालयमा केवल गणित, विज्ञान वा अंग्रेजी होइन; करुणा, सहिष्णुता, सहकार्य र इमानदारीका पाठहरू पनि पढाउनुपर्छ। परिवार, विद्यालय र समाजको त्रिवेणीले मात्र नैतिक चेतनायुक्त पुस्ता जन्माउन सक्छ।

 

 

समाजलाई उज्यालोतर्फ लैजाने जिम्मेवारी नेतृत्वको काँधमा पर्छ। तर नेतृत्व नै नैतिक चेतनाविहीन भयो भने समाज अन्धकारतर्फ धकेलिन्छ। नेपालमा यही अवस्था पटक–पटक दोहोरिएको छ।नेतृत्वले यदि अन्तरात्माको आवाज सुन्ने अभ्यास गर्‍यो भने मात्र निर्णयहरू न्यायपूर्ण र दीर्घकालीन हितमा हुन्छन्। प्रशासन, न्यायपालिका वा राजनीतिक पार्टी—सबै क्षेत्रका निर्णयहरूमा पारदर्शिता, उत्तरदायित्व र करुणा आवश्यक छन्। यही नैतिक चेतना नै सुशासनको आधार हो।

 

 

साहित्यले पनि सदैव नैतिक चेतनाको महत्वलाई प्रस्ट्याएको छ। विश्वका महान् कृतिहरू—महाभारत, रामायण, उपनिषद्, बाइबल वा कुरान—सबैले अन्ततः मानिसलाई नैतिक मूल्यतर्फै डोर्याउँछन्।महाभारतको युद्ध केवल कुरुक्षेत्रको लडाइँ मात्र थिएन; त्यो नैतिक चेतनाको युद्ध थियो। एकातर्फ अन्याय र स्वार्थ थिए भने अर्कोतर्फ धर्म र सत्य। अन्ततः धर्मको विजयले सभ्यतालाई नयाँ दिशा दियो।यसरी मिथक र साहित्यिक दृष्टान्तहरूले हामीलाई देखाउँछन्—नैतिक चेतनाविना सभ्यता केवल शक्तिको प्रदर्शन मात्र हुन्छ, तर चेतनासहितको सभ्यता शाश्वत उज्यालो बन्न पुग्छ।

 

 

आजको युग उपभोक्तावाद, प्रविधि र भौतिक सफलता–केन्द्रित छ। मानिसको चेतना प्रायः लालसा, प्रतिस्पर्धा र आत्मकेन्द्रित सोचमा सीमित भएको छ। परिणामतः मानसिक तनाव, सामाजिक विखण्डन र नैतिक ह्रास बढ्दो छ।यही समयमा ध्यान, योग, आत्मसंवाद र अध्यात्मिक अभ्यासलाई पुनः समाजमा ल्याउन जरुरी छ। आत्मचेतनाको अभ्यासले नै मानिसलाई संयम, करुणा र आत्मनियन्त्रण सिकाउँछ। जब व्यक्तिगत स्तरमा नैतिक चेतना जागृत हुन्छ, तब समाज नै उज्यालो यात्रातर्फ बढ्छ।

 

 

समाजशास्त्रीय दृष्टिले पनि सभ्यता त्यतिबेला सुदृढ हुन्छ, जब व्यक्तिहरूको आचरण आन्तरिक नैतिकतामा आधारित हुन्छ। कानुनी संरचना वा प्रशासनिक संयन्त्रले मात्र शान्ति कायम गर्न सक्दैन। उदाहरणका लागि, भ्रष्टाचारविरुद्ध कानुन कडा भए पनि यदि मानिसको अन्तरात्मा जागृत छैन भने, नियम  औपचारिकता बन्न पुग्छ। तर अन्तरात्माबाट नैतिक चेतना उठेपछि मात्र समाज वास्तवमै समावेशी, न्यायपूर्ण र शान्तिपूर्ण हुन्छ।

 

 

नेपालजस्तो विविधता भएको समाजमा अन्तरात्माको जागरण अझै महत्त्वपूर्ण हुन्छ। जातीय, धार्मिक वा वर्गीय भिन्नताहरूलाई पार गर्न आत्मीयता, करुणा र परस्पर विश्वास चाहिन्छ। यी गुणहरू कानुनले होइन, अन्तरात्माले जन्माउँछन्। जब प्रत्येक नागरिकले आफ्नो अन्तरात्मासँग प्रश्न गर्न थाल्छ— “के मेरो कार्यले अरूलाई दुःख दिइरहेको छ?”— त्यतिबेला मात्र समाज समन्वित र सभ्य बन्छ।

 

 

सभ्यताको उज्यालोतर्फको यात्रा बाहिरी उपलब्धिमा होइन, अन्तरात्माको शुद्धतामा निहित छ। प्रविधि, राजनीति वा अर्थतन्त्र अस्थायी हुन्छन्, तर अन्तरात्माबाट निस्किएको नैतिकता शाश्वत हुन्छ। त्यसैले सभ्य समाज निर्माण गर्न प्रत्येक व्यक्तिले आफ्नै अन्तरात्मासँग संवाद गर्नुपर्छ, त्यसलाई सत्य, करुणा र न्यायको आधारमा शुद्ध राख्नुपर्छ। यही मार्गले मात्र सभ्यता उज्यालोतर्फ अग्रसर हुन्छ, जहाँ मानवता नै साझा धर्म र मूल्य बन्न पुग्छ।

 

 

अध्यात्मले मानिसलाई भित्री जीवन बुझ्न र अनुभव गर्न मद्दत गर्छ, जसले अन्तर्मनको शुद्धिकरणमा महत्वपूर्ण भूमिका खेल्छ। हाम्रो संस्कृतिमा अध्यात्म ऋषि–मनीषीहरूको चिन्तनको निचोड हो, जसले आत्मा, परमात्मा र जीवन–मृत्युका प्रश्नहरूको उत्तर खोज्छ। जब अन्तर्मन शुद्ध हुन्छ, मानिसमा विवेक, करुणा र सहिष्णुता विकास हुन्छ, जसले व्यक्तिगत जीवन मात्र होइन, सामाजिक स्तरमा पनि सद्भाव र शान्ति ल्याउँछ।

 

 

अध्यात्मिक अभ्यासहरूले मानसिक र शारीरिक सन्तुलन ल्याएर आन्तरिक शान्ति दिलाउँछन्। स्वस्थ अन्तर्मनले मात्र सकारात्मक सोच सम्भव हुन्छ, जसले समाजमा प्रेम, समानता र भाईचारेको भावना फैलाउँछ। यसरी अध्यात्म र अन्तर्मनको शुद्धिकरण आपसमा जोडिएका छन्, जसले सामाजिक सद्भाव र राष्ट्रिय एकता सुनिश्चित गर्छ।मानव जीवनको वास्तविक सौन्दर्य बाहिरी वैभवमा होइन, अन्तर्मनको निर्मलतामा छ। अन्तर्मन शुद्ध नभएसम्म समाजमा स्थायी सद्भाव रहँदैन। सभ्यता र मानवताको शाश्वत सूत्र पनि यही हो— शुद्ध अन्तर्मन र समन्वित समाज।

 

 

गीता भन्छ— “मन एव मनुष्याणां कारणं बन्धमोक्षयोः” अर्थात् मन नै बन्धन र मोक्ष दुवैको कारण हो। यसले देखाउँछ कि अन्तर्मन शुद्ध भए जीवन स्वतन्त्र र समाज समन्वित हुन्छ। यदि प्रत्येक व्यक्ति आत्मशुद्धिमा लाग्छ भने, करुणा, सहिष्णुता र परोपकार स्वभाविक रूपमा परिवारदेखि राष्ट्रसम्म फैलिन्छ। यसरी शुद्ध अन्तर्मन नै स्थायी शान्ति र सभ्यताको आधार हो।

 

 

सभ्यता मापन गर्ने आधार  भवन, सडक वा प्रविधि होइन। साँचो सभ्यता तब हुन्छ जब मानिसहरूको अन्तर्मन शुद्ध हुन्छ र समाजमा सामूहिक मेलमिलाप कायम हुन्छ। सभ्यता  बाहिरी विकास मात्र नभई आन्तरिक मूल्यहरूको परिपक्वता पनि हो।जब मानिसहरू आत्मशुद्धिको अभ्यास गर्छन्— ध्यान, साधना, आत्मविश्लेषण वा नैतिक शिक्षामार्फत— तब समाज पनि अनुशासित र सहयोगी बन्छ।

 

 

अन्तर्मनको शुद्धिकरण र सामाजिक सद्भाव एक अर्कासँग सम्बन्धित विषय हुन् जसले मानव जीवनलाई सार्थक र समाजलाई स्थिर बनाउने आधार तयार गर्छ। अन्तर्मन  मानिसको भित्री मन, चेतना र आत्मा हो जसले उसको विचार, भावना र क्रियाकलापलाई निर्देश गर्छ। शुद्ध अन्तर्मन  नकारात्मकता, लोभ, क्रोध, अहंकार, ईर्ष्या जस्ता विकृत मनोभावनाहरूबाट मुक्त, शान्त, प्रेमपूर्ण र विवेकी स्थिति हो। जब मानिसको अन्तर्मन शुद्ध हुन्छ, तब उसको व्यवहारमा नैतिकता, करुणा र सहिष्णुता प्रकट हुन्छ, जसले व्यक्तिगत मात्र नभई सामाजिक स्तरमा पनि सद्भाव र समृद्धि ल्याउँछ।

 

 

दर्शनशास्त्र र विभिन्न धार्मिक शिक्षाहरूले अन्तर्मनको शुद्धिकरणलाई जीवनको उच्चतम लक्ष्य मान्छन्। उदाहरणका लागि, हिन्दू धर्ममा योग, ध्यान र कर्मयोगमार्फत अन्तर्मनलाई शुद्ध र स्थिर बनाउन प्रेरणा दिइन्छ। बौद्ध दर्शनमा मनको शुद्धिकरण र माया करुणाको विकासलाई नै मुक्तिको मार्ग मानिन्छ। यी सबै मार्गहरूले व्यक्तिलाई आफ्नो आन्तरिक स्वभावको अध्यान र नियन्त्रणमार्फत नकारात्मक प्रवृत्तिहरू हटाउन र सकारात्मक गुणहरू विकास गर्न उत्प्रेरित गर्छन्।

 

 

अन्तर्मनको शुद्धिकरणले सामाजिक सद्भावमा महत्वपूर्ण भूमिका खेल्दछ। शुद्ध मन भएका व्यक्ति सहिष्णु, नम्र र मर्मस्पर्शी हुन्छन्, जसले समाजमा द्वेष, कलह र विभाजनको स्थानमा प्रेम, समझदारी र एकता स्थापना गर्छ। यस्तो व्यक्तिले आफू र अरूबीचको भेदभावलाई कम गर्दै समानता र मानवता केन्द्रित सोच विकास गर्छ। यसले जात, धर्म, भाषा, आर्थिक अवस्था वा सामाजिक पदमाथि आधारित भेदभावलाई कम गरी सबैको सामूहिक उन्नतिमा योगदान पुर्याउँछ।

 

 

सामाजिक सद्भाव तब मात्र सम्भव हुन्छ जब व्यक्तिका मनहरू शान्त र शुद्ध हुन्छन्। अशान्त मनहरूले द्वन्द्व र संघर्ष उत्पन्न गर्छन्, जसले समाजमा अस्थिरता र अविश्वास फैलाउँछ। त्यसैले, अन्तर्मनको शुद्धिकरणबाट उत्पन्न सकारात्मक भावनाहरू समाजमा मेलमिलाप र सहयोगको वातावरण बनाउँछन्। सामाजिक सद्भावले मात्र राष्ट्रिय एकता, आर्थिक विकास र समृद्धिको मार्ग खुल्छ।

 

 

अध्यात्मले मानिसको व्यवहार र आचरणलाई सुधार गरेर गलत संस्कारलाई रूपान्तरण गर्छ र उसलाई असल मानवताको बोध गराउँछ। योग र ध्यान आध्यात्मसँग गासिएका अभ्यास हुन्, जसले विचारलाई व्यवस्थित बनाउँदै मनको एकाग्रता बढाउँछन्। यसबाट ईर्ष्या, द्वेष, क्रोध जस्ता नकारात्मक भावनाले मनमा जरा गाड्न पाउँदैनन्। वास्तवमा जीवनका समस्या समाधान गर्ने आधारभूत शक्ति मनोभावनाको रूपान्तरण हो, र यो परिवर्तन आध्यात्मिक ज्ञानले सम्भव बनाउँछ।

 

 

आध्यात्मिक चिन्तनले सम्पूर्ण मानवजातिलाई जोड्छ। यसमा कुनै नियम–कानुन वा तगारो हुँदैन; अन्तरआत्माले अनुभव गर्ने सत्य नै आध्यात्मिक सत्य हो। धर्महरूले प्राणी र सृष्टिको अलग–अलग व्याख्या गरे पनि अध्यात्म सत्यको नजिक पुग्ने प्रयास हो। यसैले अध्यात्म स्वतन्त्र छ— अर्ति वा उपदेशलाई प्रेरणा स्वरूप लिन सकिन्छ, तर आत्मसमिक्षासहितको स्वतन्त्र चिन्तनले नै आदर्श जीवनशैली निर्माण गर्छ।

 

 

धर्मले सजायको भय देखाउँदै सदाचारमा जोड दिन्छ भने अध्यात्मले असल कर्मप्रति आकर्षण पैदा गर्छ। सत्य, न्याय, कर्तव्यनिष्ठा, परोपकार र नैतिक जीवनमूल्यलाई आत्मसात् गर्नु नै अध्यात्मको सार हो। नकारात्मक सोच र कार्यबाट टाढा रहँदै पवित्र मूल्यमा आस्था कायम गर्नु नै जीवनलाई प्रकाशित गर्ने सच्चा अध्यात्म हो।मानव जीवनमा अधिकार र जिम्मेवारीबीच सन्तुलन कायम गर्न अध्यात्म महत्त्वपूर्ण हुन्छ। अध्यात्म  व्यक्तिगत मोक्षका लागि होइन, समाजमा नैतिकता र सद्भाव प्रवर्द्धनका लागि पनि आवश्यक हुन्छ।

 

संस्कार मानिसको व्यक्तित्व निर्माण गर्ने आधार हो। बचपनदेखि नै विकास हुने संस्कारहरू अध्यात्ममा आधारित भए भने सत्य, अहिंसा, प्रेम, करुणा, सहनशीलता र आत्मसंयम जस्ता उच्च गुणहरू समाजमा फैलिन्छन्। शुद्ध अन्तर्मनले मात्र व्यवहार र आचरणलाई सही दिशामा लैजान सक्छ।आचरण  व्यक्तिको बाहिरी व्यवहार हो, जसले भित्री चेतनाको प्रतिबिम्ब देखाउँछ। अध्यात्मले आत्मनियन्त्रण र धैर्य सिखाउँछ। ध्यान, प्रार्थना र आत्मचिन्तनजस्ता अभ्यासहरूले मनलाई शान्त राख्छन्, तनाव घटाउँछन् र सकारात्मक सोच विकसित गर्छन्। यसले आचरणलाई अनुशासित र विवेकपूर्ण बनाउँछ।

 

 

व्यवहार समाजमा व्यक्तिको छवि र प्रभावसँग सम्बन्धित हुन्छ। आध्यात्मिक अभ्यासले व्यवहारलाई सन्तुलित, भाईचारायुक्त र रचनात्मक बनाउँछ। यसले विभाजन र वैमनस्य कम गरी एकता र सद्भाव बढाउँछ।समाजमा दीर्घकालीन सुधार ल्याउन अध्यात्म अपरिहार्य हुन्छ। यसले व्यक्तिलाई आफ्ना कर्तव्यप्रति सचेत बनाउँछ, सहयोग र दानको संस्कृतिलाई प्रोत्साहित गर्छ र भ्रष्टाचार वा दुराचार कम गर्न प्रेरित गर्छ। जब प्रत्येक मानिसले आध्यात्मिक मूल्य आत्मसात गर्छ, तब समाज नै नैतिक, समन्वित र समृद्ध बन्न पुग्छ।

 

 

अन्तर्मन शुद्ध गर्ने प्रक्रिया व्यक्तिगत मात्र होइन, सामूहिक रूपमा पनि अपनाउन आवश्यक छ। परिवार, शिक्षा, धर्म, कला र संस्कृतिले यसमा महत्त्वपूर्ण भूमिका खेल्छन्। घरपरिवारमा नैतिक शिक्षा र सद्भाव सिकाउने संस्कार विकसित गर्दा बालबालिकामा राम्रो संस्कार र सकारात्मक सोच विकास हुन्छ। विद्यालय तथा समुदायमा चरित्र निर्माण र आध्यात्मिक शिक्षालाई जोड दिइँदा नयाँ पुस्तामा अन्तर्मन शुद्धि र सामाजिक जिम्मेवारीको भावना जागृत हुन्छ।

 

 

आजको भौतिकवादी युगमा स्वार्थ, प्रतिस्पर्धा र अहंकारले समाजलाई टुक्र्याइरहेका बेला, शिक्षा, संस्कार र नैतिक नेतृत्वले अन्तर्मन शुद्धिकरणलाई प्राथमिकता दिन आवश्यक छ। शुद्ध अन्तर्मनले व्यक्तिगत शान्ति मात्र होइन, सामाजिक सद्भाव र स्थायित्व पनि सुनिश्चित गर्छ। यही कारणले सभ्यता र मानवताको शाश्वत सूत्र— शुद्ध अन्तर्मन, समन्वित समाज—आज पनि अत्यन्त प्रासंगिक छ।अध्यात्मिक मूल्य र आचरण अंगाल्दा मात्र समाजमा एकता, शान्ति र समृद्धि बढ्छ। यसैले जीवनलाई अध्यात्ममा आधारित बनाएर यथार्थ नैतिकता, सामाजिक सुधार र मानवता उन्नत गर्न सकिन्छ।

 

 

अन्तर्मनको शुद्धिकरणले मात्र व्यक्ति शान्त, सन्तुष्ट र सफल हुँदैन, समाज पनि सुन्दर, समृद्ध र स्थिर बन्न सक्छ। अध्यात्मिक अभ्यासले मानिसलाई आफ्नै भित्री स्वभाव बुझ्न, सुधार्न र अरूको जीवनमा पनि सकारात्मक प्रभाव पार्न सक्षम बनाउँछ। यसले व्यक्तिगत जीवन मात्र होइन, समाज र राष्ट्रलाई उज्यालो बनाउने सामर्थ्य राख्दछ।

 

 

नैतिक चेतनाविना कुनै पनि सभ्यता दीर्घकालीन हुन सक्दैन। इतिहासका सबै सभ्यताहरू, जुन स्वार्थ, अहंकार र हिंसामा आधारित थिए, अन्ततः पतन भए। तर सत्य, दया र न्यायमा आधारित सभ्यताहरू शाश्वत बने।नेपालले पनि उज्यालो समाज निर्माण गर्न चाहे भने नैतिक चेतनालाई केन्द्रमा राख्नुपर्छ। शिक्षा, राजनीति, परिवार, संस्कृति—सबै क्षेत्रमा नैतिक मूल्यको अभ्यास जरुरी छ। युवापुस्ताको आन्दोलनलाई दमन होइन, नैतिक चेतनाको आवाजका रूपमा बुझ्न सकिएमा मात्र समाजमा स्थायी शान्ति र समृद्धि सम्भव हुन्छ।अन्ततः, उज्यालो समाज केवल सपना होइन; यो हाम्रो सामूहिक चेतनाले निर्माण गर्ने बाटो हो। जब प्रत्येक नागरिक आफ्नो अन्तरात्मासँग जोडिन्छ, जब नेतृत्वले नैतिक मूल्यलाई प्राथमिकता दिन्छ, र जब शिक्षा र संस्कृति करुणा, सत्य र न्यायमा आधारित हुन्छन्—त्यसैबेला मात्र हामी साँचो अर्थमा उज्यालो समाजको यात्रा पूरा गर्न सक्छौँ।

 

 

(उप्रेती कोष तथा लेखा नियन्त्रक कार्यालय मोरङका प्रमुख कोष नियन्त्रक हुन् ।)

 

 

 

 

 

 

 

 

 

 

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x