राष्ट्रिय विपद् प्राधिकरणद्वारा यात्रु सुरक्षा तथा स्वास्थ्य सेवाको व्यवस्था गर्न निर्देशन

वि.सं.२०८२ असोज १८ शनिवार
shares

काठमाडौं । देशभर परेको अविरल वर्षाका कारण लामो दूरीका सवारी साधन आवागमन रोकिएको अवस्थामा बाटोमै रोकिएका यात्रुको व्यवस्थापन गर्न राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सबै जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएको छ ।
अत्यधिक वर्षाका कारण उत्पन्न हुनसक्ने बाढी, पहिरो र डुबानजन्य जोखिमलाई मध्यनजर गर्दै असोज २० गते सोमबारसम्म सवारी सञ्चालनमा रोक लगाइएपछि गन्तव्यतर्फ प्रस्थान गरिसकेका केही सवारी साधन बाटोमै रोकिएका छन् । त्यसै सम्बन्धमा यात्रुको सुरक्षित व्यवस्थापन गर्न प्राधिकरणले आदेश जारी गरेको हो । साथै प्राधिकरणले काठमाडौँ उपत्यकाका नदी खोला किनारका सडक (करिडर सडक) मा साँझ ६ः०० देखि बिहान ६ः०० बजेसम्म सवारी आवागमनमा रोक लगाउन आग्रह गरेको छ ।
प्राधिकरणका उपसचिव रामबहादुर केसीका रोकिएका यात्रुलाई सुरक्षित स्थानमा राख्दै खानपान, स्वास्थ्योपचार लगायतका आवश्यक बन्दोबस्त गर्न सम्बन्धित स्थानीय तह, यातायात व्यवसायी, सरकारी तथा गैरसरकारी संस्था, निजी क्षेत्रसँग समन्वय गरेर तत्काल प्रबन्ध मिलाउन भनिएको छ ।
यसअघि नै प्राधिकरणले असोज १८ देखि २० गतेसम्म उपत्यका भित्रिने सबै लामो दूरीका सवारी साधन सञ्चालनमा रोक लगाउने निर्णय गरेको थियो । तर सूचना जारी हुनुअघि नै प्रस्थान गरेका सवारी रोकिएको उजुरी आएपछि आपत्कालीन व्यवस्थापनका लागि स्थानीय प्रशासनलाई सक्रिय हुन भनिएको हो ।
प्राधिकरणले यस कार्यमा गृह मन्त्रालय, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, नेपाल नगरपालिका संघ र गाउँपालिका राष्ट्रिय महासंघलाई पनि आवश्यक समन्वय र सहजीकरणका लागि जानकारी गराएको छ ।