अहंकारबाट आत्मबोधतर्फको रूपान्तरण

15.4K
shares
Nabil bank

मानव अस्तित्वको यात्रा ज्ञानको प्राप्तिबाट सुरु हुन्छ, तर यसको परिपूर्णता आत्मबोधमा पुगेर मात्र सम्पन्न हुन्छ। ज्ञान मनको उज्यालो हो, तर जब त्यही उज्यालो अहंकारको पर्दाले ढाकिन्छ, तब सत्यको दर्शन धुम्मिन थाल्छ। बौद्धिक उपलब्धि जीवनको गौरव हो, तर त्यस गौरवमा नम्रता मिसिएन भने, ज्ञान स्वतः अधुरो रहन्छ। यही अधुरोपन नै ‘ज्ञानको गर्व’ हो—जहाँ व्यक्ति आफ्नो बुझाइलाई परम सत्य ठान्छ र अन्य दृष्टिकोणहरूलाई अस्वीकार गर्छ।

दार्शनिक दृष्टिले, ज्ञानको गर्व आत्मविकासको सबैभन्दा ठूलो बाधा हो। उपनिषदहरूले भनेका छन्—”विद्यया अमृतमश्नुते” अर्थात् साँचो ज्ञानले अमरत्व प्रदान गर्छ। तर त्यही ज्ञान जब अहंकारमा परिणत हुन्छ, तब त्यसले आत्माको मार्ग रोक्दिन्छ। बुद्ध, सुकरात, र श्रीकृष्ण सबैले एकै कुरा सिकाएका छन्—”साँचो ज्ञानी त्यही हो, जसले आफ्नो अज्ञानतालाई बुझ्न सक्छ।” आत्मबोधको संघर्ष त्यहीँबाट सुरु हुन्छ—जब व्यक्ति आफैंसँग प्रश्न गर्न सिक्छ, आफ्ना कमजोरीहरू स्वीकार्छ, र निरन्तर आत्मसमालोचनाको साधनामा लाग्छ।

आफ्नो विकलांगताले ह्विलचियरमा बाँधिएर जीवन बिताउनुपरे पनि ब्रह्माण्डका रहस्यहरू बुझ्न निरन्तर अनुसन्धानमा लागेका वैज्ञानिक स्टिफन विलियम हकिङले भनेका थिए, “मानिसको सबैभन्दा ठूलो दुस्मन मूर्खता होइन, ज्ञानी भएको भ्रम हो।” यो भनाइ आजको नेपाली समाज र राजनीतिमा ठ्याक्कै मिल्दो देखिन्छ। आजका नेतादेखि कर्मचारी, विज्ञदेखि विश्लेषकसम्म, धेरैले आफूलाई ज्ञानी, योग्य र सही ठान्छन्, तर व्यवहारमा उनीहरूकै कार्यले जनजीवनलाई संकटमा पारेको छ।

बौद्धिक अहंकार र राजनीतिक असफलता बीचको सम्बन्ध अत्यन्त गहिरो छ। जब राजनीतिक नेताहरू आफ्नो ज्ञान र क्षमता बारेमा अत्यधिक आत्मविश्वास राख्छन् र अरूका विचारलाई स्वीकार गर्न तयार हुँदैनन्, तब तिनीहरूका निर्णय प्रक्रियामा अपारदर्शिता र एकपक्षीयता देखिन्छ। यस्तो स्थिति राजनीतिक असफलतासम्म पुग्न सक्छ, जहाँ जनहितको बजेट, नीति र योजनाहरू सत्ता र स्वार्थको घेराबन्दीमा परेका हुन्छन्।

नेपालको राजनीतिक परिप्रेक्ष्यमा, धेरै समयसम्म बौद्धिक अहंकारका कारण प्रचलित योजनाहरूमा सुधार र अनुकूलनको आवश्यकता देखिदैन। नेतृत्वमा रहेका व्यक्तिहरूको मानसिकता यति हदसम्म गलत हुन्छ कि उनीहरूले आलोचनालाई आक्रमणको रूपमा लिन थाल्छन्, जसले संवादको अवसरलाई समाप्त पार्छ। यसले समाजमा नकारात्मक ऊर्जा फैलाउँछ र विकासको प्रक्रियामा ठूलो बाधा पुर्याउँछ।

नेता र नीतिनिर्माताहरू आफूलाई राष्ट्रसेवक ठान्छन्, तर उनीहरूका निर्णयले जनताको हितभन्दा व्यक्तिगत स्वार्थको संरक्षण गरिरहेको देखिन्छ। उदाहरणका लागि, आर्थिक नीति, शैक्षिक सुधार, पूर्वाधार निर्माण जस्ता क्षेत्रहरूमा असफलता मात्र देखिँदैन, यिनमा लापरवाही, अदूरदर्शिता र अज्ञानता प्रस्ट देखिन्छ। अझ गम्भीर कुरा त के भने, जब आलोचना वा सुझाव दिइन्छ, त्यही ‘ज्ञानीको भ्रम’ भएका व्यक्तिहरूले आलोचनालाई बेवास्ता गर्छन्, र आफू सधैं सही रहेको सोच राख्छन्।

जब एक व्यक्तिले आफूलाई मात्र सही ठान्छ, अरूको विचारलाई मूर्खतापूर्ण ठान्छ र आफ्ना गलत निर्णयलाई स्वीकार गर्न सक्दैन, तब त्यो केवल व्यक्तिगत कमजोरी मात्र हुँदैन, सामाजिक समस्याको रूपमा परिणत हुन्छ। यस्तो सोचले समावेशी विचारको अन्त्य गर्दछ र आलोचना वा सुधारको अवसरलाई नष्ट गर्छ। व्यक्तिको यो मानसिकता संस्थागत तहमा प्रवेश गरेपछि नीति निर्माण, निर्णय प्रक्रिया र प्रशासनिक संयन्त्रहरूमा अपारदर्शिता र अराजकता फैलिन थाल्छ।

नेतृत्व तहमा बसेका व्यक्तिहरूले जब आफ्नो विचार मात्र सर्वोच्च हो भन्ने भ्रम पाल्छन्, तब सल्लाह, सुझाव र आलोचनालाई तुच्छ ठानिन्छ। यसले गर्दा लोकतान्त्रिक अभ्यास कमजोर हुन्छ र दलीय अहंकारको जरा गहिरो बन्छ। यस्तो अवस्थामा न त जनताको आवाज सुन्ने वातावरण रहन्छ, न त सुधार गर्ने सम्भावना।

शिक्षा, न्याय, सञ्चारजस्ता क्षेत्रहरूमा पनि यस्तै प्रवृत्ति देखा पर्दा समाजमा विचारको विविधता समाप्त हुन्छ र आत्मसमालोचनाको संस्कृति मर्न थाल्छ। आत्मसमालोचना एउटा समाजको बौद्धिक स्वास्थ्य हो, जसले सुधार र नवीनताको सम्भावना खोल्दछ। जब व्यक्तिहरू वा संस्थाहरू आफ्ना त्रुटिहरूलाई स्वीकार्छन् र सुधार गर्न चाहन्छन्, त्यसले उनीहरूको बौद्धिक विकासमा मद्दत पुर्याउँछ। यसले समग्र समाजको उत्तरदायित्व र पारदर्शिता बढाउँछ। आत्मसमालोचनाको संस्कारले आलोचनालाई सकारात्मक रूपमा ग्रहण गर्न सघाउँछ र यसले संस्थागत सुधारको दिशा तय गर्न मद्दत पुर्याउँछ। जब समाजमा आत्मसमालोचनाको प्रोत्साहन हुन्छ, तब जनताका माग र आवश्यकताहरूलाई ध्यानमा राखी नीति बनाइन्छ, जसले दिगो विकास र सशक्त राष्ट्र निर्माणमा योगदान पुर्याउँछ।त्यसैले, समृद्ध समाज निर्माणको लागि आत्ममुग्धता होइन, आत्मसमालोचना, खुला संवाद र सहिष्णुता आवश्यक छ। सहमतिपूर्ण बहस र आलोचनाको स्वागत गर्न सक्ने संस्कार नै समाजको वास्तविक प्रगति हो।

नेपाली समाजको मुख्य रोग ज्ञानको कमी होइन, आत्मसन्तुष्टिको अन्धकार हो। धेरै सत्तासीन व्यक्ति वा बौद्धिक वर्ग ‘मलाई सबै थाहा छ’ भन्ने मानसिक जालमा बाँधिएका छन्। यस्तो मानसिकता विकासको मार्गमा सबैभन्दा ठूलो अवरोध हो, किनकि जहाँ प्रश्न मर्छ, त्यहाँ चेतना सुस्ताउँछ। स्टीफन हकिङको भनाइ—“The greatest enemy of knowledge is not ignorance, it is the illusion of knowledge”—केवल वैज्ञानिक सत्य होइन, यो सामाजिक दर्पण हो, जसले हाम्रो अहंकार देखाउँछ।

दार्शनिक दृष्टिले, आत्मबोध त्यही क्षणमा सुरु हुन्छ जब व्यक्ति आफ्नै सीमालाई स्वीकार गर्न तयार हुन्छ। जसले आफूलाई पूर्ण ठान्छ, ऊ वास्तवमा अधूरो हुन्छ; किनकि ज्ञान विस्तारको प्रक्रिया हो, अन्त होइन। जब नेताले, शिक्षकले, वा नागरिकले आफ्ना कमजोरी देख्न र सुधार्न सिक्छ, तब समाजमा नैतिक पुनर्जागरण सुरु हुन्छ।नेपालले प्रगतिको बाटो समात्न चाहन्छ भने पहिलो आवश्यकता ‘सबथाहा’ मानसिकता त्याग्ने हो। आत्मसमालोचना, संवाद र विनम्रता नै सुधारको मूल आधार हुन्। जब हामी स्वीकार गर्छौं कि हामी सधैं सिक्दैछौं—त्यही क्षणमा चेतनाको नयाँ प्रभात उदाउँछ।  यही हो नयाँ युगतिर अग्रसर नेपालको दार्शनिक आव्हान — अहंकारबाट आत्मबोधतर्फको रूपान्तरण।

आत्मबोध कुनै अकस्मात् प्राप्त हुने अनुभव होइन; यो दीर्घ साधना हो, जहाँ अहंकारको पहाड ढालेर विनम्रताको फुल फुलाइन्छ। जब व्यक्ति आफ्नो ज्ञानलाई मात्र होइन, अरूका विचारलाई पनि आदर गर्न सिक्छ, तब उसको चेतना विस्तार हुन्छ। त्यो अवस्था हो, जहाँ ज्ञान श्रद्धामा रूपान्तरण हुन्छ, र बौद्धिक गर्व करुणामा विलीन हुन्छ।

साँचो विद्वत्ता त्यही हो, जसले शान्ति र सौहार्द फैलाउँछ। जसले देखाउँछ—ज्ञानको मूल्य त्यसको गहिराइमा होइन, त्यसले कसरी मानवता उज्यालो बनाउँछ भन्नेमा निहित छ। आत्मबोधको संघर्ष भनेको बाहिरी संसार जित्ने होइन, भित्रको अहंकार पराजित गर्ने युद्ध हो।जब हामी हृदयमा विनम्रता, विवेक र आत्मसमालोचनाको संस्कार बसाल्छौँ, तब ज्ञान केवल जानकारी हुँदैन—यो जीवनको रस, चेतनाको सुगन्ध र अस्तित्वको संगीत बन्न पुग्छ। यही नै हो ज्ञानको साँचो सार—जहाँ गर्व मौन हुन्छ, र आत्मा बोल्न थाल्छ।

 

 

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x