सहरीलाई बेवास्ता गर्दा मन्त्री कुलमानलाई सकस
वि.सं.२०८२ कात्तिक १६ आइतवार
shares
काठमाडौँ । कागतालीमा मन्त्री बनेका कुलमान घिसिङ आएपछि सहरी विकास मन्त्रालय झन् लथालिङ्ग भएको छ । कुलमानले यो मन्त्रालयलाई नयाँ दिशा दिन सकेका छैनन् । उनी भौतिक पूर्वाधारका विषयमा बढी केन्द्रित छन् र सहरी व्यवस्थापनबारे आवश्यक चासो राखेका छैनन् । उनको बुझाइ पनि यो मन्त्रालयमा कम देखिन्छ । प्रायः ठेक्कापट्टामा उनको ध्यान गएको स्पष्ट देखिन्छ ।
काठमाडौँको फोहोर फाल्ने बन्चरे डाँडा समेत सहरी विकास मन्त्रालयको मातहतमा पर्छ । तर मन्त्रालयले बजेट कटौती गर्दै महानगरको हस्तक्षेपलाई बढवा दिएपछि विवाद सुरु भएको हो । तत्कालीन मन्त्री प्रकाशमान सिंहका ‘सारथि समूह’ सचिव सिग्देल, सहसचिव नारायण मैनाली, महानिर्देशक मचाकाजी र उपमहा निर्देशक प्रकृण तुलाधरले मन्त्रीको निर्देशन बेवास्ता गरेपछि स्थिति झन् जटिल बनेको छ ।
सहरी व्यवस्थापनप्रति लापरबाही र निर्णयमा ढिलासुस्ती भएपछि सिसडोलबासी आक्रोशित भएका छन् । मन्त्रालयभित्रको एक छलफलमै झन्डै कुटाकुट हुने अवस्था समेत आएको थियो ।
सेलिब्रेटी छविका मन्त्री कुलमान अहिले विभिन्न कार्यक्रममा ‘साँठगाँठ’मै व्यस्त रहेको आरोप छ । प्रकाशमानका पुराना कर्मचारी टिमले बन्चरेडाँडाबासीलाई समेत उचालेको रहस्य खुलेपछि मन्त्रालयभित्र असन्तुष्टि बढेको छ ।
सहरी मन्त्रालयका पुरानै टिमका कारण कुलमान हैरान देखिन्छन् । उनले ऊर्जा मन्त्री हुँदा जस्तै कर्मचारी हेरफेर गर्दै सुधारको प्रयास गर्नुपर्नेमा त्यस्तो पहल सहरी मन्त्रालयमा देखिएको छैन । यही कारण बन्चरे डाँडा परियोजनामा पनि समस्या आएको हो ।
आइतबार कुलमान सिसडोल पुगे पनि कर्मचारीहरूले समयमा काम नगर्ने समस्या उनले नबुझेको टिप्पणी भएको छ । उनी निरन्तर उद्घाटन, मेला–महोत्सव, भारत भ्रमण र विभिन्न कार्यक्रममा दौडिरहेका छन् । तर यो ‘लिगलिगे दौड’ले सहरी विकासमा अपेक्षित परिणाम दिने सम्भावना देखिँदैन ।
उता, काठमाडौँ महानगरका मेयर राति सामाजिक सञ्जालमा स्ट्याटस लेख्न व्यस्त छन्, तर समस्याको वास्तविक समाधानमा भने कसैको ध्यान छैन ।
कुलमानको पुरानैसँग साँठगाठ तिहार पछि जेनजी कर्मचारीले कडा आन्दोलन गर्ने
































