Nepal Automobile Importers and Manufacturers Association (NAIMA)

मालपोत घुम्दै, मालामाल बन्दै उपसचिव छविलाल 

3.7K
shares

 

काठमाडौँ ।१९८१५४ कर्मचारी सङ्केत नम्बर भएका नेपाल सरकारका उपसचिव छविलाल नेपालीको प्रशासनिक यात्रा हेर्दा अचम्म लाग्ने अवस्था देखिन्छ । अघिल्लो सरकारले उनलाई बर्दियाको ठाकुरद्वारा नगरपालिका सरुवा गरे पनि उनी त्यहाँ गएनन् । बरु, उपत्यकाको मालदार कार्यालयमा मस्ती मार्ने योजना अनुसार कर्मचारी सङ्गठनका नेतासँग सिफारिस मिलाउँदै भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय गएका छन्।

२०७८ असोज ७ गते मन्त्रालयमा पुगेपछि उनको आर्थिक हैसियत एकाएक बढेको देखिन्छ । पारिवारिक नाममा काठमाडौँमा भएका सम्पत्तिहरूले पनि यही सङ्केत गर्छन् । सोही वर्ष असोज १४ गते उनी बाँके मालपोत कार्यालयमा खटिए । त्यसपछि २०८० भदौमा टोखा मालपोत कार्यालय पुगे । यद्यपि टोखा ‘अतिरिक्त आम्दानी हुने’ कार्यालय नभएकाले तीन महिनामै उनी डिल्लीबजार मालपोत कार्यालयको प्रमुख बने । जानकारहरूका अनुसार डिल्ली बजार मालपोत जान ठुलै नगदको आवश्यकता पर्दछ ।

 

डिल्लीबजारमा रहँदा उनले तत्कालीन राजपरिवारसँग जोडिएको काठमाडौँको विवादित जग्गा सम्बन्धी निर्णय गरेपछि उनको आर्थिक उचाइले आकाश छोयो । एक जना सहकर्मीका अनुसार, त्यस कार्यालयबाट निस्कँदा उनको जीवनशैली एकाएक परिवर्तन भएको थियो ।

 

तर, विवादित फाइलकै कारण एक वर्ष नपुग्दै उनलाई कमलबजार नगरपालिका, अछाम सरुवा गरिएको थियो । यो सरुवा ‘अनौपचारिक कारबाही’ सरह थियो । तर, उनी अछाम गएनन् । बरु, पहुँच र बिचौलिया सञ्जालको भरमा पुनः भूमि मन्त्रालयमै फर्किए ।

 

उनी कास्की मालपोत गएर कास्कीको लिची वारी विवाद मिलाउने योजनामा भूमि व्यवस्था मन्त्रालय पुगेका हुन् । बिचौलियासँगको साँठगाँठमा उनले २०८२ भदौ २ गते कास्की मालपोत प्रमुखको जिम्मेवारी पाए । तर, त्यहाँ योजना मुताबिक काम गर्न सकेनन् । विवाद बढेपछि उनलाई तत्कालीन मन्त्रीले बर्दियाको एक नगरपालिकामा सरुवा गरिदिए ।

 

तर, उनी त्यहाँ पनि गएनन् । बिचौलिया र कर्मचारी सङ्गठनका नेता प्रयोग गरेर फेरि मालपोतमा मस्ती मार्ने योजना बनाई रहे ।र, अहिले भूमि मन्त्रालय पुगेका छन् ।  प्रायः सिंहदरबारमा भेटिने उनले कर्मचारी सङ्गठनका माथिल्लो तहका एक नेतालाई खर्चपर्चको व्यवस्था गरेका थिए ।

 

०६८ साल भदौमा निजामती सेवामा प्रवेश गरेका नेपालीको करिब १५ वर्षे सेवा कालमा उनले आर्जन गरेको सम्पत्ति र जीवनशैली हेर्दा जो कोही अचम्ममा पर्छ । राजधानीमा आरामदायी र बिलासी जीवन बिताइरहेका उनी अहिले पनि आफूलाई खटाइएको ठाउँको सरुवा बदर गराएर फेरि उपत्यकाको कुनै ‘मालदार मालपोत’मा फर्कने प्रयत्नमा छन् ।

civil hospital
Hams Hospitals