लघुकथा : दुर्दशा
वि.सं.२०८२ मंसिर ६ शनिवार
shares
के हुँदैछ,यो देशमा ?
तादीको त्यो आन्दोलन बिर्सन सकेको छैन, फेरि एकाबिहानै के समाचार सुन्नुपरेको हो । असन्तुष्टि पनि के साह्रो हो, एकपछि अर्को ? शान्तिले बाँच्न नपाइने भो, कहिले के भनेछ, कहिले के भनेछ ? बुढाले बुढीसित गुनासो पोखे ।
होतनि, “कामकुरो एकातिर कुम्लो बोकी ठिमीतिर भनेझै पो भएछ, हिजोआज ! एउटाले एकथोक भनेछ, अर्कोले फेरि अर्को भनेछ । यो बेमेलको अन्त्य कहिले हुन्छ ?” उनी चर्किएर बोलिन् ।
फेरि उनी फत्फताउन थालिन, ” आज ठुले शहरबाट आउँने कुरा गर्दै थियो । कतिखेर आउँछ ? गाडी चल्छन्, चल्दैन बुझ्दै गर्नोस् है ।”
बुढा, रेडियोको आवाज मन्द बनाउँदै फोन लगाए तर फोन अफ थियो । चार्ज सकिएछ क्यारे भन्दै बुढीलाई सान्त्वना दिए ।
उनको मन अतालियो, भनिन्, “साथीहरूलाई सोध्नुहोस् ! के छ आउँने कुरा ?”
आइहाल्छ नि, पिर नगर भन्दै सम्झाउँदै, “आज तोरी उखेल्ने भनेको म बारीतिर जान्छु । सम्पर्क भए म खबर गरूला, भन्दै निस्कन के लागेका थिए ?”
त्यतिकैमा माथ्लाघरे सुभाष शिथिल हुँदै आयो र मलिन स्वरमा भन्यो, ” आन्दोलनमा, टाउकामा गोली लागेर ठुले अब रहेन काका !”
भूमिका गैरे तिमिल्सिना
गैंडाकोट ४ नवलपुर
































