कुरियरमार्फत विदेशतिर अवैध चुरोट पठाउने उद्योग: भन्सार अधिकृतदेखि कर्मचारीसम्म छानबिनमा
वि.सं.२०८२ मंसिर १२ शुक्रवार
shares
काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयमा कार्गो कुरियरमार्फत विदेश पठाउन लागेको ५०० केजीभन्दा बढी अवैध चुरोट तथा अखाद्य सामग्री पक्राउ परेपछि ठूलो नेटवर्कको बदमाशी बाहिरिएको छ।
उक्त चुरोटको समातिएको सामान नेटप्याक कार्गो एण्ड कुरियरको रहेको भन्सारका सुचना अधिकारीले बताए।
भन्सार स्रोतका अनुसार यस पटक बरामद भएको सामान कार्गो कुरियरहरूको नाममा दर्ता गरिएको थियो। तर भन्सारका केही कर्मचारीकै मिलेमतोमा उक्त सामान गैरकानुनी रूपमा अमेरिका, अस्ट्रेलिया तथा युरोपका विभिन्न देशहरूमा पठाउने तयारी भइरहेको अवस्थामा नियन्त्रणमा लिइएको हो।
छानबिनमा खुलेको महत्वपूर्ण तथ्य के भने, भन्सारका केही कर्मचारीहरूले कुरियर कम्पनीका मान्छेलाई घरमै बोलाएर सौदाबाजी (बार्गेनिङ) गरेको अडियोकल तथा मेसेजहरूमार्फत प्रमाण मिलेको छ।
यसरी भन्सारभित्रका कर्मचारी र बाहिरका कुरियर एजेन्टबीच भएको मिलेमतोका कारण ठूलो मात्रामा अवैध चुरोट, अखाद्य खाद्य पदार्थ, औषधिजन्य सामग्री सजिलै बाहिरिन सक्ने वातावरण तयार भएको बताइएको छ।
सेटिङमै चल्दै आएको कार्गो कुरियरको धन्दा
अनुसन्धानमा संलग्न एक अधिकारीका अनुसार, कार्गो कुरियरका विभिन्न संघ–संस्थाहरू नै यस अवैध कारोबारमा सक्रिय रहेको पाइएको छ।
यसरी बिहीभर पक्राउ परेको ५०० केजीभन्दा बढी सामाग्री पनि सोही नेटवर्कमार्फत नियमित रूपमा विदेश पठाइने अवैध कार्गोको ठूलो भाग रहेको बताइएको छ।
भन्सार भित्रकै ‘सिण्डिकेट’ जस्तो कारोबारछानबिन टोलीले अहिलेसम्म पत्ता लगाएको तथ्यमा:
भन्सार नापतौल, मूल्याङ्कन र स्क्यानिङमा बसेका कर्मचारी हाराहारी
कुरियर कम्पनीका प्रतिनिधि
बाहिर बसेका ‘लोडर–अनलोडर’ समूह
सबै मिलेर सिण्डिकेट बनाएर महिनौँदेखि अवैध सामान पास गर्ने काम गरेको देखिएको छ।

कारवाही प्रक्रिया सुरु
भन्सार विभागले यस घटनालाई गंभीर कार्यव्यवहार दुरुपयोग मानेर विस्तृत अनुसन्धान थालेको छ।
कर्मचारीहरूको ‘कम्बरसेसन’, फोन रेकर्ड, सीसीटीभी फुटेज र बरामद वस्तुहरूको आधारमा उपसचिवदेखि कनिष्ठ कर्मचारीसम्म कारवाहीको दायरामा ल्याइने विभागको तयारी छ।
एयरपोर्ट भन्सारमा देखिएका यी अनियमितता पुनः प्रमाणित गर्छन् कि कार्गो कुरियर र भन्सार कर्मचारीको मिलेमतोमा विदेशतिर अवैध वस्तु पठाउने ‘ठूलो खेल’ लामो समयदेखि चलिरहेको छ।
५०० केजीभन्दा बढीको बरामदगीले अब भन्सारभित्रको भ्रष्ट नेटवर्क कति गहिरो छ भन्ने स्पष्ट भएको छ।
































