महिलामय सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय

2.3K
shares
Nabil bank

काठमाडौँ ।देशको उच्च पदमा महिलाको नेतृत्व छ । केही समय अघि राष्ट्रपति पदमा पनि महिलाले नै नेतृत्व गरेको थियो । अहिले प्रधानमन्त्री सुशीला कार्की छिन् । त्यस्तै सिंहदरबारको एउटा मन्त्रालयको प्रशासनिक नेतृत्व महिलाले गरेकी छन् । सचिव मात्र होइन त्यसपछिको महत्त्वपूर्ण पदमा पनि महिलाको नेतृत्व छ ।

 

 

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा पहिलो पटक महिला नेतृत्वको ऐतिहासिक उपस्थितिले प्रशासनिक संरचनामा नयाँ ऊर्जा थपेको छ । कोसी प्रदेशकी प्रमुख सचिव चन्द्रकला पौडेललाई मन्त्रालयको सचिवमा सरुवा गरिएसँगै मन्त्रालयले पहिलो महिला सचिव पाएको हो । महिलालाई उच्च पद जिम्मेवारी दिने सरकारी निर्णयलाई प्रशासनिक समावेशिताको दृष्टिले महत्त्वपूर्ण मोडका रूपमा हेरिएको छ ।

 

सचिव पौडेलको आगमनसँगै मन्त्रालयका केही अत्यन्तै प्रभावशाली महाशाखाहरूमा पनि महिला उच्च नेतृत्वमा छन् । कर्मचारी महाशाखाको नेतृत्व पार्वती शर्माले सम्हालेकी छन् भने योजना महाशाखा तथा मन्त्रालयकी प्रवक्ता निता पोखरेल अर्याल जिम्मेवारीमा छिन् । त्यस्तै, प्रशासन सुधार महाशाखाको नेतृत्व मिरा आचार्यले सम्हालेकी छन् । सचिवसहित एकै पटक तीन महिला नेतृत्वमा आएसँगै मन्त्रालयमा महिला नेतृत्वको बलियो संरचना बनेको छ, जुन सामान्य प्रशासन मन्त्रालयको इतिहासमै नयाँ हो ।

 

यस परिवर्तनलाई प्रशासनिक वृत्तमा सकारात्मक सङ्केतका रूपमा व्याख्या गरिएको छ । वर्षौँसम्म पुरुष–प्रधान संरचनामा सीमित भूमिका निभाउँदै आएका महिला कर्मचारीलाई उच्च जिम्मेवारी र नेतृत्वमा अवसर प्रदान गर्नु सरकारको संस्थागत सशक्तीकरणको कदमको रूपमा हेरिएको छ । महिला नेतृत्वले पारदर्शिता, जबाफदेहिता, मानवमुखी सेवा र संस्थागत सुधारमा नयाँ गति ल्याउने अपेक्षा सम्बन्धित क्षेत्रका जानकारहरूले व्यक्त गरेका छन् ।

 

 

सामान्य प्रशासनमा एकै समयमा यति धेरै महिला उच्च नेतृत्व उपस्थित भएको घटनाले समावेशी शासन, लैङ्गिक समानता र नीति कार्यान्वयनको गुणस्तरमा नयाँ आशा बोकेको विश्लेषकहरूको ठम्याइ छ ।

 

सामान्य प्रशासन मन्त्रालयमा पहिलो महिला सचिव नियुक्त,महिलामय बन्यो मन्त्रालय

civil hospital
Hams Hospitals
Machhapuchhre Bank Limited