साल्ट ट्रेडिङ्ग कर्पोरेसनका प्रमुख कार्यकारी र सहायक कार्यकारीमाथि अनियमितताको आरोपसहित मन्त्रालयमा उजुरी
वि.सं.२०८२ मंसिर २१ आइतवार
shares
काठमाडौँ । साल्ट ट्रेडिङ्ग कर्पोरेसनकी प्रमुख कार्यकारी अधिकृत उर्मिला श्रेष्ठ र सहायक प्रमुख कार्यकारी अधिकृत व्रजेश कुमार झाविरुद्ध गम्भीर अनियमितताको उजुरी उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा दर्ता भएको छ । मल तथा अन्य अत्यावश्यक सामग्रीमा वेमानी, बिचौलियासँग मिलेमतो र कमिसनको लेनदेन गरेको आरोप उनीहरूमाथि लगाइएको हो ।
उदयपुरका रमेश रायमाझीले दर्ता गराएको उजुरीमा युरिया मलको खरिद–विक्री प्रक्रियामा सेटिङ गरी आर्थिक लाभ लिने गरिएको उल्लेख छ । उजुरी अनुसार कार्यालय समयमै उपस्थित नहुने, तीन घण्टापछि आउँछु भन्दै गलत सूचना प्रवाह गर्ने, सेवाग्राहीसँग रुखो तथा अभद्र व्यवहार गर्ने जस्ता आरोप पनि छन् । पत्रकारहरूसँग समेत सूचना दिनु अघि कमिसनको माग गर्ने गरेको उजुरीमा दाबी गरिएको छ ।
सहायक प्रमुख कार्यकारी अधिकृत झामाथि महिला कर्मचारीहरूप्रति अनुचित दृष्टि र असभ्य व्यवहार गरेको आरोप समेत परेको छ । उजुरीमा पटक–पटक अनियमित कार्य गरी नियमविपरीत गतिविधिमा संलग्न भए पनि प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले उनलाई संरक्षण गर्दै आएको उल्लेख छ । यसले संस्थाभित्र अनुशासनहीनता बढाएको र कर्मचारीलाई त्रासमा राखिएको उजुरीकर्ता पक्षको भनाइ छ ।
मन्त्रालय स्रोतका अनुसार उजुरीमाथि प्रारम्भिक अनुसन्धान थालिएको छ । तर उजुरी दर्ता भएलगत्तै उर्मिला श्रेष्ठ मन्त्रालयका सम्बद्ध कर्मचारी र उच्च अधिकारीसँग भेटघाटमा सक्रिय रहेको चर्चा मन्त्रालयमा चल्न थालेको छ । सहसचिव र सचिवलाई प्रभावमा पारेर कारबाहीबाट जोगिने प्रयास भइरहेको आरोप पनि उजुरीसँगै बाहिरिएको छ ।
कर्पोरेसनका एक कर्मचारीका अनुसार श्रेष्ठ र झाले आफूहरूलाई केही नहुने भन्दै कर्मचारीलाई धम्क्याउने, सूचना बाहिर ल्याए कारबाही गर्ने चेतावनी दिने गरेको बताएका छन् । यस किसिमको व्यवहारले सरकारी संस्थाको मर्यादा विपरीत कार्य भएको र सेवाग्राही तथा आम उपभोक्ताको विश्वास कमजोर बनाएको उजुरीमा उल्लेख गरिएको छ ।
उजुरीमा झा र श्रेष्ठमाथि तत्काल विकृत आचरण, पदको दुरुपयोग र आर्थिक अनियमिततासम्बन्धी छानबिन गरी आवश्यक कारबाही गर्न माग गरिएको छ । मन्त्रालयले विषयलाई गम्भीरतापूर्वक अध्ययन गरी निष्पक्ष अनुसन्धान अघि बढाउने तयारी गरेको जनाएको छ ।
यो पनि पढ्नुहोस् छुटाउनु भयो की:
साल्ट ट्रेडिङ कर्पोरेसनमा अव्यवस्था, अनियमितता र ‘निगरानीहीन साम्राज्य’मन्त्रालय मौन































