दलालहरु बीचमा बसेर मोटाउँदै, सेक्युरिटी गार्डहरु भोकभोकै !
वि.सं.२०८२ मंसिर २३ मंगलवार
shares
नेपालमा सेक्युरिटी गार्डको कम्पनी खुल्न थालेको झण्ढै अढाई दशक भयो । ती कम्पनीहरुको प्राथमिकतामा प्रहरी, सशस्त्र र सेनाका अवकाशप्राप्त कर्मचारीहरु पर्छन् । त्यसपछि सर्वसाधारणको पालो आउँछ । त्योपनि पढेलेखेको, निरोगी, हाइट भएको । हाल मुलुकमा सेक्युरिटी गार्डको हजारौं कम्पनी दर्ता भएको छ ।
ती कम्पनीले गार्ड भर्ती गर्छन् र गार्डहरुलाई बैंक, फाइनेन्स, लघुवित्त, पसल, निजी निवास, संघसंस्था, सरकारी कार्यालय, होटल, रेष्टुरेण्टमा खटाउँछन् । कम्पनीले गार्ड राख्ने संस्था र व्यक्तिसँग मासिक ३५ देखि ५० हजार रुपैयाँ लिन्छन् । तर, गार्डहरुलाई मासिकको १० हजारदेखि २५ हजारसम्म मात्र दिन्छन् ।निजी निवासमा गार्ड बसेकाहरु त महिनाभर १० हजारमा काम गर्न बाध्य छन् । बैंकहरुको हकमा २५ हजारसम्म पाइन्छ । कम्पनीले गार्डलाई ड्रेस दिएको हुन्छ । तर, त्यसबापत पनि महँगो रकम असुलिन्छ । उता, जागिर खान फाराम भरेको पैसा पनि उनीहरुकै तलबबाट कटाइन्छ ।
गार्डहरु बिहान ७ बजेदेखि बेलुका ८ बजेसम्म ड्युटीमै हुन्छ । न शनिबार बिदा हुन्छ न चाडपर्वमा । दशै खर्च, उपचार खर्च केही पनि दिइँदैन । यद्यपि, कम्पनीले साहुहरुबाट दशैं खर्च, उपचार खर्च लिएका हुन्छन् । तर, कम्पनीका सञ्चालक आफैंले खाइदिन्छन् । कम्पनीले महिनाअगावै सबैतिरबाट पैसा उठाइसकेको हुन्छ ।तर, दुई–तीन महिनापछि मात्र तलब खातामा हालिदिन्छन् । उनीहरुले त्यो पैसा ब्याजमा लगाएर कमाउँछन्, गार्ड भने भोकभोकै काम गर्न बाध्य हुन्छन् । कतिपय स्कुल र व्यक्तिले आफूखुशी गार्ड राखेका हुन्छन् । उनीहरुले महिनाभर काम गर्दा १० देखि १२ हजार रुपैयाँ पाउँछन् ।
गरिबीको चरम फाइदा उठाउने काम भइरहेको छ । थोरै पैसा दिएर बिहानदेखि रातिसम्म दलाउने क्रम जारी छ । कार्यालयमा केही अप्रिय घटना भयो भने पहिलो निशानामा गार्ड नै पर्छन् । कार्यालयमा हातापाई भयो वा झगडा भयो भने कानुनले सर्वप्रथम गार्डलाई नै समात्छ ।उहीबाट अनुसन्धानको प्रक्रिया शुरु हुन्छ । यता, कार्यालयमा चोरी, लुटपाथ भयो भनेपनि त्यसको जिम्मेवारी गार्डले नै लिनुपर्छ । हाकिमहरुले उनीहरुकै कठालो समात्छन् । १० देखि १२ हजारमा महिनाभर सलाम ठोक्न लगाइन्छ, तर ऊ भोको छ कि खाको ? कसैले सोध्दैन । उनीहरुले तलब पाएका छन् कि छैनन् ? त्योपनि सोधिँदैन ।
एउटाले सलाम ठोक्छ, अर्कोको सलाम पाउँछ तर बीचमा बसेर दलाली खान्छ । गार्डमा बस्ने नेपाली नै छन् । उनीहरुको बैंक खाता छ । सिँधै नियुक्ति गरेर तलब दिए भइहाल्यो । बीचमा दलालीलाई किन खुवाइरहनुपर्यो ? भोलि केही भएछ भने जिम्मा लिने गार्डले हो, कम्पनीले होइन ।दलालीहरु बीचमा बसेर हातखुट्टा नचलाईकन मोटाइरहेका छन् । यता, गार्ड भने न्यून तलबमा काम गर्न बाध्य छन् । त्यो तलब पनि समयमा नपाउँदा उनीहरुलाई घरपरिवार पाल्न समस्या छ । संघसंस्था वा व्यक्तिले सिँधै गार्ड भर्ती गर्ने हो भने दलालीलाई दिने पैसा जोगिन्छ । यता, गार्डले पनि राम्रै तलब पाउँछन् ।
राम्रो तलब पाएपछि उनीहरुले पनि इमान्दारितापूर्वक काम गर्छन् । उनीहरुको तलब रोकिँदैन, महिनैपिच्छे पाउँछन् । कम्पनीहरुले पछिल्लो समय महिनौंदेखिको तलब हालेका छन् । बैंकका गार्डहरु भन्छन्,‘आर्थिक मन्दी भएर तलब हालेको छैन भनेर कम्पनीले भनेको छ । तलब नआउँदा साह्रै समस्या भएको छ ।’बैंक साँच्चिकै डुबेको हो कि कम्पनीले तलब नदेको ? गम्भीर प्रश्न उठेको छ । यदि बैंकहरुले तलब दिन नसक्ने हो भने उनीहरुलाई किन राख्नु ? देको हो भने कम्पनीले किन रोकिराको ? पैसा नपाउँदा श्रमिकको घरपरिवारलाई कति समस्या हुन्छ ? उनीहरुले बुझ्नुपर्छ कि पर्दैन ?
श्रमिकको दुनियाँ खर्च हुन्छ । कोठाभाडा तिर्नुपर्यो, बिहान बेलुका खान पर्यो, छोराछोरी पढाउनपर्यो, बिरामी भए उपचार गर्नुपर्यो । एकातिर थोरै तलबमा काम लगाइरहँदा अर्कोतिर त्योपनि समयमा दिँदैनन् । अनि उनीहरुले खानेचाँहि के ? छोराछोरीको स्कुल फिस कहाँबाट ल्याएर तिर्ने ?मुलुकको कानुनले अनिवार्य न्यूनतम १९ हजार पाँच सय रुपैयाँ तलब दिनुपर्ने व्यवस्था गरेको छ । त्योभन्दा कम तलबमा काम लगाउन पाइँदैन । ड्युटी अवधि आठ घण्टा तोकिएको छ । बिहान १० बजेदेखि बेलुका ५ बजेयता काम लगाउन पाइँदैन । लगाएमा ओभरटाइभ दिनुपर्छ ।
दशैं खर्च, उपचार खर्च उपलब्ध गराउनैपर्छ । सार्वजनिक बिदाको दिन बिदा दिनुपर्छ । शनिबार एकदिन त बिदा नै भइहाल्यो । विडम्बना, गार्डहरुले यीमध्ये कुनैपनि सुविधा पाएका छैनन् । शनिबार अरुको बिदा हुन्छ, उनीहरु ड्युटीमै हुन्छ । उनीहरुलाई के सार्वजनिक बिदा ?दैनिक १२ घण्टासम्म काम गर्न उनीहरु बाध्य छन् । तलब त पाउँदैन अब ओभरटाइमको के कुरा गर्नु ? अरु सबैले चाडपर्व बिदा पाउँदा उनीहरुले वञ्चित छन् । जसका कारण सरकारको कानुन कागजमै सीमित भएको छ । पहुँच भएकाले कानुन नटेर्दापनि यहाँ केही हुँदैन ।
सुरक्षागार्ड मात्र होइन, घरायसी काम गर्नेहरुको पीडा पनि उस्तै छ । उनीहरुलाई त झन् महिनाभर दुईदेखि तीन हजार रुपैयाँमा काममा लगाइन्छ । उनीहरुले न उपचार खर्च पाउँछन् न दशैं पेश्की । उनीहरुको पनि कहिल्यै छुट्टी हुँदैन । झन् चाडपर्वको बेलामा त बढी काम लगाइन्छ ।अरुले पनि चाडपर्व मनाउनुपर्छ, अरुको पनि परिवार छ भनेर यहाँ कसैले सोच्दैन । जसरी हुन्छ, आफूलाई सुविधा चाहिएको छ । मँहगी बढेको बढ्यै छ । तर, तलब उही छ । वर्षौंदेखि तलब नबढेको अवस्था छ । कोठाभाडा धनीले जति तिर्छन्, गरिबले पनि त्यति नै तिर्नुपर्छ ।
सार्वजनिक यातायातले तेरो तलब कम छ भने कम गर्दैन । सबैले समान तिर्नुपर्छ । उपचार खर्च पनि धनीले जति तिर्छन्, गरिबले पनि उति नै तिर्दै आएका छन् । खाद्यान्नको भाउ पनि उही छ । पैसा तिर्ने ठाउँमा समान रेट तिर्नुपर्दा तलबमा विभेद किन ? यसमा प्रमुख कसुरवार राज्य हो ।राज्यले न्यूनतम तलब तोकिदियो, तर कार्यान्वयन भए–नभएको अनुगमन गरेन । यता, गरिबलाई कुनै कुरामा राज्यले सहुलियत दिएन । भारतमा गरिबलाई राशन कार्ड दिइएको छ । सो कार्ड भएकाहरुले सहुलियतमा खाद्यान्न पाउँछन् । यहाँ त केही छैन । खाने सामानको भाउ सबैलाई बराबर छ ।
अनि कम तलब भएकाले कसरी बिहान बेलुका चुल्हो बाल्ने ? उनीहरु भोकभोकै हिँड्न बाध्य छन् । मुलुकमा लोकतन्त्र गणतन्त्रको सरकार छ । तर, शोषक, सामान्तीहरुले गरिब, बेरोजगार, अशिक्षितहरुको फाइदा कम तलब दिएर उठाइरहेका छन् । उनीहरुले गरिबको रगतपसिनामा मोजमस्ती गरिरहेका छन् ।देशमा लोकतन्त्र कसलाई आएछ ? अहिले आएर प्रमाणित हुँदैछ । नेताहरुलाई लोकतन्त्र गणतन्त्र आयो, जनतालाई कहिल्यै आएन । देशमा लोकतन्त्र छ भनेर जनताले कहिल्यै महसुश गर्न पाएनन् । पञ्चायत कालमा भन्दा बढी शोषकी अहिले जन्मिएका छन् । गरिबहरु पाइलैपिच्छे शोषित भएका छन् ।


























