लघुकथा : सोचाइ
वि.सं.२०८२ मंसिर २८ आइतवार
shares
विहेमा जाने होइन ।
जाने नि किन नजानु, समूहकी सचिवले ग्रुपमा खबर छोडिन् । सबैजना निर्धारित समयमै समूहको पोसाकमा उपस्थिति जनाए ।
समूहकी सदस्य सीताको छोराको विवाह छ । रत्यौलीमा कसरी रमाइलो गर्ने अनि बरबधुलाई राम्रोसँग स्वागत गरी आशीर्वाद दिनुपर्छ भनी सल्लाह हुन्छ । कामको बाँडफाँड हुन्छ । सबैले आ-आफ्नो कामको अभिभारासहितको तारतम्य मिलाउँछन् ।
सबैजना विहेघरतिर लाग्छन् । रमाइलो गर्नमा तल्लिन देखिन्छन् । कोही पुरुषको पोसाकमा सजिएका छन् तर परिचय खुलेको छैन । रमिता बेग्लै छ ।
यसै बिचमा पहिलीले गीत रन्काई, “बल्ल छोरो भको थ्यो कमाउँनी, भोलि आउँछे एटीएम समाउँनि ।” उसको प्रस्तुति दमदार थियो ।
अर्कीले फर्काई, ” कमाउँन त बुहारी नि कमाउँली, एटीएम किन लालपुर्जै समाउँली ।” उसको जवाफमा दम थियो
दुबैले गीतमै सवाल जवाफ गरेका थिए । माहोल रोचक बनेको थियो । सबैको अनुहार कुतुहलताले भरिएको थियो ।
पहिलीले, “फेसनवाली बुहारी आउँली, भोलि हेला हुँदा पो चाल पाउँली ।” यस्तै- यस्तै एकपछि अर्को टुक्काले उपस्थित सबैको ध्यान खिँचेको छ, सबै पुलकित देखिन्थे।
सबै गम्भीरतापूर्वक नियाल्दै थिए, मेरो मनमा हुट्हुटी चल्यो र बोले, “रमाइलोको लागि त ठिक नत्र किन डराएका,अर्काको घरमा जाने जात भनेर बुबाआमाले खुट्टामा उभ्याउँदाको लगानी के अर्थहीन भोत ?”
भूमिका गैरे तिमिल्सिना
गैंडाकोट ४ नवलपुर

































