रवि–बालेन सातबुँदे सहमतिपछि सञ्चारमन्त्री खरेलको प्रतिक्रिया: ‘नयाँ दिन, नयाँ सुरुवात’

2.1K
shares

काठमाडौं । रास्वपा सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहबीच सात बुँदे सम्झौता भएपछि अन्तरिम चुनावी सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदिश खरेलले यसलाई सकारात्मक राजनीतिक संकेतका रूपमा व्याख्या गरेका छन् ।

खरेलले सामाजिक सञ्जाल फेसबुकमार्फत् प्रतिक्रिया दिँदै लेखेका छन्, ‘नयाँ दिन, नयाँ सुरुवात । सुन्दर र समृद्ध नेपालको सपना ! गन्तव्य तय हुँदैछ…।’ उनको यो टिप्पणीलाई वर्तमान राजनीतिक परिस्थितिमा सहकार्य र सहमतितर्फको संकेतका रूपमा हेरिएको छ ।

रवि लामिछाने र बालेन शाहबीच लामो समयदेखि देखिँदै आएको दूरी अन्त्य गर्दै भएको सात बुँदे सम्झौताले राजधानीको राजनीति मात्र नभई राष्ट्रिय राजनीतिक वृत्तमा समेत तरंग पैदा गरेको छ । सहमतिपछि सरकारतर्फबाट आएको यो प्रतिक्रिया पहिलो औपचारिक सार्वजनिक धारणा मानिएको छ ।

लामो समय पत्रकारितामा सक्रिय रहेका खरेल जेनजी आन्दोलनपछि गठन भएको अन्तरिम चुनावी सरकारमा सञ्चार तथा सूचना प्रविधि मन्त्रीका रूपमा नियुक्त भएका थिए । उनी सरकारका प्रवक्तासमेत हुन् । खरेल अब सक्रिय राजनीतिमा प्रवेश गर्ने तयारीमा रहेको उनी निकट स्रोतले जनाएको छ ।

रवि–बालेन सहमतिले आगामी निर्वाचन र राजनीतिक सहकार्यको सम्भावनालाई थप बल पुर्‍याएको विश्लेषकहरूको भनाइ छ ।

civil hospital
Hams Hospitals