लघुकथा : स्वस्थानी
वि.सं.२०८२ पुस २२ मंगलवार
shares
नदीमा नुहाउन जाने होइन ।
सखारै सुष्माले प्रतिक्रिया जनाई, ” जाने नि, किन नजानु ?” दुबै सङ्गै लाग्छन् ।
झिसमिसेमै नुहाई जल लिएर आउँछन् अनि पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिनाको व्रतको तयारीमा लाग्छन् ।
उषाले फूलमालाले मन्दिर सजाई । दुबैले कठोर तपका साथ भगवानको आराधना गर्न थाले । छिमेकमा खबर गरे । बेलुका- बेलुका कथा सुन्न आउँन आग्रह गरे । उनीहरूको आस्था मन छुने थियो ।
शर्मिला नास्तिक स्वभावकी थिई उसले भनी, “के यो जरूरी थियो ? ढुङ्गा पुजेर फलको आशा राख्नु उपयुक्त हुन्छ ।” उसलाई केवल नाटक लागेको थियो, उसले कर्कश पोखी ।
उषाले धार्मिक मान्यता जोडेर सम्झाउन खोजी, ” हेर, माता पार्वतीले कठोर तप गरेर महादेव स्वामी पाऊ भनी व्रत गर्नु भएको थियो । गोमा व्राह्मणीले पनि आफ्नो छोरा नवराजलाई लावन्य देशको राजा बनोस् भनी व्रत गरेको र सो इच्छा पूरा भएको कथामा उल्लेख छ ।” उनले सरलताले बुझाउँन खोजिन ।
शर्मिला केही सुन्नै चाहिन र भनी, ” कहीँ नभएको जात्रा हाडी गाउँमा, भन्थे हो रहेछ ।” उसले अनुहार खुम्च्याउँदै निन्दा गरी
फेरि, उषाले इङ्गित गर्दै, “स्वस्थानीको व्रत कथामा चन्द्रावतीले देवीको निन्दा गर्दा कठोर सजाय पाएकी थिइन् ।” उसले सत्यको बोध गराई
दुवैका कुरा सुनिरहेकी सुष्मा बोली, ” माने देव नमाने पथ्थर भन्थे, सबै आफ्नो आस्था र विश्वासको कुरा तिम्लाई किन टाउको दुख्यो हँ ?” उसले चर्को स्वर गरी ।
भूमिका गैरे तिमिल्सिना
गैंडाकोट ४ नवलपुर
































