अग्नि-पुत्र
वि.सं.२०८२ पुस २४ बिहीवार
shares
“च्याँ… च्याँ…!”
घाटको शून्यतालाई चिर्दै एउटा मसिनो तर तीखो आवाज गुञ्जियो। मलामीहरू झसङ्ग भए। कसैले सातो गएको शैलीमा भन्यो, “यो के सुनिएको? मसान थर्कियो कि क्या हो?”
आठ महिनाकी गर्भवती सुमित्राको मृत शरीर चितामा थियो। सुत्केरी व्यथाले च्यापेको केही घण्टामै उनको श्वास रोकिएको थियो। डाक्टरहरूले “आमा र बच्चा दुवैलाई बचाउन सकिएन” भनेपछि गाउँ शोकमा डुबेको थियो। दागबत्ती दिएको केही बेरमै दन्किँदै गरेको आगोको लप्काबीचबाट त्यो आवाज आएको थियो।
मेरो बच्चा रोइरहेछ! सुमित्राका श्रीमान् विवश चिच्याउँदै चितातिर झम्टिए। अरूले उनलाई आगोले पोल्ने डरले रोक्न खोजे, तर विवशले केही नसुनी तातो दाउराहरू पन्छाउन थाले।
आगोको रापले सुमित्राको शरीरलाई छोइसकेको भए पनि उनको गर्भभित्र एउटा प्राण बाँकी नै रहेछ। आगोको तापले सायद त्यो सानो शरीरलाई बाहिर आउन उत्तेजित गरायो। प्रकृतिले एउटा असम्भव देखिने चमत्कार देखायो।
“हे भगवान्, बच्चा त जिउँदै छ!” एक वृद्ध मलामीले काँप्दै भने।
विवशले काँप्दो हातले आफ्नै धोतीमा बेरेर रातो रगत लत्पत्तिएको, तर सकुशल रोइरहेको छोरालाई बाहिर निकाले। सुमित्राको निर्जीव अनुहारमा आगोको उज्यालोले एउटा विचित्रको शान्ति देखिन्थ्यो। उनले आफ्नो रगतलाई धर्तीमा छोड्न मृत्युसँग पनि एउटा अन्तिम युद्ध जितेकी थिइन्।
“सुमित्रा! तैँले मलाई छोडेर गइस्, तर आफ्नो अंश दिएर गइस्,” विवशले आँसुको धारा बगाउँदै बच्चालाई छातीमा टाँसे र चिताको खरानीको टीका लगाइदिए।
घाटमा रुवाबासी चलिरहेको थियो। एउटी आमा जलेर खरानी हुँदै थिइन्, तर त्यही आगोको रापबाट एउटा नयाँ जीवनको मुस्कान पलाएको थियो। यो एउटी आमाको ममताको यस्तो पराकाष्ठा थियो, जसले मृत्युलाई पनि केही बेरका लागि स्तब्ध पारिदियो।
नारायण नाथ योगी
इटहरी सुनसरी

































