सेतो हिमालको कालो स्ट्याटस

13.8K
shares
Nabil bank

 

 

हिमाल आज पनि सेतो छ

तर फोटोका लागि मात्र

भित्रभित्रै

उसले कार्बनको खोकी खोकेको छ

र हामी

बहस गरिरहेका छौँ।

हिमाल अब

देवता होइन

डेटा हो

पीपीटी स्लाइडमा पग्लिने

सम्मेलनमा रोकिने

र फाइलमा जम्ने।

हिउँ पग्लँदा

हामीले भन्यौँ

“यो त प्राकृतिक चक्र हो।”

ठीकै हो

जसरी

भ्रष्टाचारलाई

“संस्थागत संस्कृति” भनिन्छ।

हिमनदी रोइरहेछ

तर आँसु पानी हो

त्यसैले

हामीले बुझेका छैनौँ

यदि रगत बग्थ्यो भने

सायद

एक-दुई विज्ञ समिति बन्थ्यो।

हिमाल सोधिरहेछ

“तिमीहरूले विकास भन्नाले

मलाई नै किन काट्यौ?”

हामी मुस्कुरायौँ

भन्यौँ

“तिमी त संसाधन हौ।”

देवता भएर जन्मिनु

यस युगमा

सबैभन्दा ठूलो दुर्भाग्य रहेछ।

हिमताल फुट्छ

गाउँ बग्छ

खेत बग्छ

मानिस बग्छ

तर भाषण

अडिग रहन्छ।

नेताले भने

“हामी चिन्तित छौँ।”

चिन्ता यति गहिरो थियो कि

नीति छुँदै

छुँदैन।

हरित ऊर्जाको कुरा

डिजेलको गाडीबाट हुन्छ

वन संरक्षणको भाषण

एसी कोठाबाट

हिमाल टाढै छ

त्यसैले

सजिलै पग्लन्छ।

हामीले हिमाललाई

मन्दिर बनाएनौँ

म्युजियम बनायौँ

जहाँ भविष्यले

भन्यो

“यहाँ कहिल्यै हिउँ पर्थ्यो।”

हिमाल अब विद्रोही छ

ऊ चुपचाप पग्लेर

हामीमाथि

बाढी बनिरहेको छ

यो हिंसा होइन

यो

प्रकृतिको व्यङ्ग्य हो।

सेतो हिमाल

कालो भविष्यसँग

हास्दै भन्छ

“अब तिमीहरू

मलाई बचाउने होइन,

आफूलाई बचाउने प्रयास गर।”

र हामी

अझै सोधिरहेछौँ

“जलवायु परिवर्तन

साँ

च्चै हो त ?”

हिमालले जवाफ दिएन।

ऊ पग्लियो।

त्यही नै

सबैभन्दा ठूलो उत्तर भयो।

 

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x