लघुकथा : अफवाह
वि.सं.२०८२ माघ १५ बिहीवार
shares
“अन्याय भयो, अन्याय भयो ।” कुकुरहरूको चर्को आवाज सुनियो ।
बिरालाहरूले पनि ङ्यारङ्यार गर्दै आफ्नो राय राखे, “हाम्लाई पनि चाहिन्छ, चाहिन्छ ।” उनीहरूले पनि कान ठाडा पार्दै सतर्कता देखाए ।
स्यालहरूले पनि समर्थन जनाए, ” होहो, नियम मिच्न पाइदैन, पाइदैन । गलत भो, गलत भो ।” एकैचोटि सबै कराए ।
बाँदरहरूको हुल पनि के कम मिसियो एउटा रूखको हाँगाबाट अर्को हाँगामा मच्चिदै भन्न थाले, “खबरदार ! खबरदार !! हाम्रो माग पूरा गर, पूरा गर ।”
सुतिरहेको बाघलाई अशान्ति महसुस भयो, ऊ गर्जियो, ” केको हल्लाखल्ला हो, कसलाई के पुगेन, केको नाराबाजी हो ?” उसले मौनता तोड्दै सोध्यो ।
बाटो जाम भयो, सडक तातियो । प्रहरी खटिए, उनीहरूलाई हम्मेहम्मे पर्यो । सबैका आआफ्नै मत थिए । कोही डेग चलेनन् । लाठी चार्ज गर्ने अनुमति थिएन । उनीहरू हैरान भए ।
बाघले सुल्झाउँन सकेन, सिँहासनमा खबर पुर्यायो र सिंहलाई सबै वृतान्त बतायो, “कोही सहमतिमा नआउने भए, म के गरूँ ?” भन्दै ऊ मध्यस्थकर्ता बन्न लालायित देखियो ।
सिंहले नाइकेहरूलाई ल्याउने आदेश दियो । सबैले तोकिएकै समयमा उपस्थिति जनाए ।
सिंह, सबैले कुकुरतिरै पुलुपुलु हेरेको दखेर अचम्मित मुद्रामा सोध्यो, “तथ्य कुरा नबुझी अफवाहको पछाडि लागेर हुन्छ, जिम्मेवार बनेको खोई ?” एकाएक बैठकमा सन्नाटा छायो र सबैले एकअर्कालाई हेर्दै मौनता साँधे ।
भूमिका गैरे तिमिल्सिना
गैंडाकोट ४ नवलपुर

































